केन्द्रीय संस्करण
विचार

ग्राउन्ड ह्यान्डलिङ सेवाको विवाद

person explore access_timeअसोज १७, २०७७ chat_bubble_outline0

हालै नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई आफ्नो वायुयानको ग्राउन्ड ह्यान्डलिङ आफै गर्ने (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति प्रदान गरिएको विषयलाई लिएर सञ्चार जगत तथा सामाजिक सञ्जालमा व्यापक चर्चा परिचर्चा हुनुको साथै नेवानिका कर्मचारीहरूको विरोधका समाचार समेत सुन्नमा आएका छन् । यस विषयलाई लिएर संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा समेत सत्ता पक्ष र विपक्षी सांसदहरूबाट समेत गम्भीर चासो व्यक्त भए । राष्ट्रिय ध्वजाबाहकको पक्षमा यसरी चासो उठ्नु पक्कै पनि सकारात्मक कुरा हो । किनकि अहिले विश्वमा कोभिडको मारमा थला परेका कयौँ राष्ट्रका ध्वजाबाहकलाई सम्बन्धित देशका सरकारले अर्बौं डलरको राहत प्याकेज घोषणा भइरहँदा नेपाल वायुसेवा निगमको पक्षमा बोलिदिने कोही थिएन । तर अहिलेको चासो भनेको नेपालमा दर्ता भई विधिवत रूपमा सञ्चालनमा रहेको एउटा वायु सेवालाई  सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिइएको विषय यति धेरै चर्चा, परिचर्चा र विवादमा आउनुपर्ने विषय हो कि होइन ?  यही कुरा केलाउने क्रममा  ग्राउन्ड ह्यान्डलिङ के हो ? यस सम्बन्धमा देशमा विद्यमान नीति नियम तथा प्रावधान केकस्ता छन्, छिमेकी देश लगायत अन्तर्राष्ट्रिय परिपाटी के छ भन्ने विषयमा प्रकाश पार्ने प्रयास गरिएको  छ । 

ग्राउन्ड ह्यान्डलिङ सेवा भन्नाले कुनै पनि विमानस्थलमा वायुयान अवतरण गरेदेखि प्रस्थान नहुन्जेलसम्म उपलब्ध गराइने सेवालाई बुझिन्छ । त्यस कार्यभित्र उडानबाट आएका यात्रु र उनीहरूको मालसामानलाई विमानस्थल टर्मिनलसम्म ल्याउने तथा प्रस्थान गर्ने यात्रुलाई विमानस्थलको यात्रु चेक इनदेखि लिएर वायुयानसम्म पु¥याउन आवश्यक सबै किसिमका कार्य र सेवालाई बुझिन्छ । यस कार्यका लागि आवश्यक पर्ने सबै किसिमका उपकरण तथा जनशक्तिको व्यवस्था पनि ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदायककै जिम्मेवारीमा रहन्छ ।  विश्वमा यस्तो सेवा अधिकांशतः ग्राउन्ड ह्यान्डलिङ व्यवसाय गर्न स्थापित कम्पनी वा वायुसेवा कम्पनी स्वयंले प्रदान गर्ने गर्छन् । 

अन्तर्राष्ट्रिय परिपाटी

अन्तर्राष्ट्रिय जगतमा विमानस्थललाई एक स्वाभाविक एकाधिकार क्षेत्रका रूपमा लिने गरिइन्छ । एकाधिकारकै कारण विगतमा कुनै कुनै देशमा ग्राउन्ड ह्यान्डलिङ सेवामा विकृति उत्पन्न भई बजार क्षयीकरण सम्भावना देखिएपछि नियामक निकायले कुनै न कुनै रूपमा अंकुश याने कि नियमन गर्ने प्रयासको थालनी गरेको पाइन्छ । किनभने कुनै पनि देशमा उपलब्ध ग्राउन्ड ह्यान्डलिङ सेवाले त्यस देशको समस्त उड्डयन क्षेत्रको स्तर र सेवालाई नै प्रतिविम्बित गर्ने भएको हुँदा यसलाई एक अति संवेदनशील विषयको रूपमा लिने गरिन्छ । फलस्वरूप विगतमा एकाधिकारमा केन्द्रित युरोपियन विमानस्थलहरूको ग्राउन्ड ह्यान्डलिङ सेवालाई सन् १९९६ पश्चात युरोपियन युनियनले उदार नीति अवलबम्न गर्दै प्रतिस्पर्धालाई प्रवद्र्धन गर्दै लगेको पाइन्छ । प्रतिस्पर्धाकै कारण त्यहाँ सेवा शुल्कमा उल्लेखनीय कमी र सेवाको स्तरमा उल्लेखनीय वृद्धि भएको पाइएको छ ।  
 
छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा गुणस्तरीय एवं प्रतिस्पर्धी सेवा उपलब्ध होस् भन्नाका लागि व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ गर्न कम्तीमा ३ वटा ग्राउन्ड ह्यान्डलिङ कम्पनी हुनुपर्ने बाध्यकारी व्यवस्था छ । अहिले भारतभरीमा  व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ सेवा उपलव्ध गराउनेमा एयर इन्डिया लगायत अन्य लगभग ७ वटा कम्पनी सञ्चालनमा छन् । पाकिस्तानमा पाकिस्तान एयरलाइन्सको अलावा अन्य ३ वटा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ कम्पनी सञ्चालनमा छन् । अस्ट्रेलियामा झण्डै डेढ दर्जन व्यावसायिक ग्राउन्ड ह्याडलिङ कम्पनी सञ्चालनमा छन् । यसबाहके हङ्कङ, जापान, सिङ्गापुर, थाइल्यान्ड, फिलिपिन्स, ताइवान, दक्षिण कोरिया लगायत देशमा पनि एकभन्दा बढी ग्राउन्ड ह्यान्डलिङ कम्पनी स्थापना भई सेवालाई प्रतिस्पर्धी बनाइएको छ । यसको अतिरिक्त धेरैजसो मुलुकले आफ्नो देशमा स्थापित (होम बेस) वायुसेवालाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने सुविधा दिने गरेको पाइन्छ । 

अन्यत्र जस्तो व्यवस्था छ । नेपालमा पनि त्यस्तै व्यवस्था अपनाउनुपर्छ भन्ने  छैन । यी विषय सरकारले अवलम्बन गर्ने  नीतिमा भर पर्ने विषय हुन् । जस्तै विगतमा नेपालको हवाई सेवामा नेपाल वायुसेवा निगमको एकाधिकार थियो । वि.सं. २०५० मा सरकारले अवलम्बन गरेको उदार नीतिको कारण  नागरिक उड्डयन क्षेत्रमा निजी क्षेत्रको प्रवेश भई व्यापक परिवर्तन आयो । त्योबेला निगमको एकाधिकारमै अलमलिएको भए यस किसिमको सकारात्मक परिवर्तन सम्भव हुने थिएन । 

नेपालमा विद्यमान व्यवस्था 
नेपालमा हवाई नीति २०६३ ले ग्राउन्ड ह्यान्डलिङ सेवालाई गुणस्तरीय एवं प्रतिस्पर्धी बनाइने उल्लेख गरेको छ तर पनि अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो नीति कार्यान्वयनमा आउन सकेको छैन । ग्राउन्ड ह्यान्डलिङ सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्ड तथा अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घले निर्दिष्ट गरेको मार्गदर्शन अनुरूप व्यवस्थित रूपमा कार्यान्वयन गर्न गराउने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ निर्देशिका, २०७२ जारी गरेको हो । निर्देशिकाको दफा ५ ले व्यावसायिक ( कमर्सियल) ग्राउन्ड ह्यान्डलिङका लागि आवश्यकताअनुसार नेवानि बाहेक थप २ वटासम्म संस्थालाई अनुमति दिन सकिने व्यवस्था गरेको छ । तर हालसम्म व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ गर्न नेपाल वायुसेवालाई मात्र अनुमति दिइएको छ । नेपाल वायुसेवाले आफ्नो सेल्फ ग्राउन्ड ह्यान्डलिङको अलावा नेपालमा सञ्चालित अन्य २६ वटा अन्तर्राष्ट्रिय वायुसेवालाई ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

निर्देशिकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा कम्तीमा ३५  पटक उडान गर्ने अनुमति पाएका वायुसेवालाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको  सुविधा दिने व्यवस्था छ । हिमालय एयरलाइन्सलाई निर्देशिकाको सो प्रावधानकै आधारमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा प्रदान गरिएको देखिन्छ । यसअघि २००७ मा स्थापना भई केही समय सेवा सञ्चालन गरेको  एयर अरेवियासँग ज्वाइन्ट भेन्चरमा स्थापित यति एयरलाइन्स इन्टरनेसनलले पनि आफ्नो ग्राउन्ड ह्यान्डलिङ कार्य  आफैँ नै गर्थे । विमानस्थलमा स्थानाभावको कारण हप्तामा ३५ उडान गर्ने सबै वायुसेवालाई यो सुविधा दिन सम्भव नहुन पनि सक्छ । त्यस्तो अवस्थामा प्राधिकरणले सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति प्रदान नगर्ने निर्णय गर्न सक्ने प्रावधान पनि निर्देशिकामा छ । नेपालमा अहिले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका कम्पनीहरूमा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवाहरू बुद्ध एयर र श्री एयरलाइन्स तथा विदेशी वायुसेवा कम्पनीहरू एयर इन्डिया र थाई एयरवेज छन् । हवाई यात्रुलाई खाना पु¥याउने क्याटरिङ सेवा पनि ग्राउन्ड ह्यन्डलिङअन्तर्गत पर्न आउँछ र यस कार्यका लागि स्काइसेफलाई अनुमति प्रदान गरिएको छ । 

निर्देशिकामै भएको अर्को व्यवस्थाअनुसार सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति प्राप्त कम्पनीले  अनुमति प्राप्त गरेको बढीमा १ (एक) वर्षभित्र आफूले प्रदान गर्ने सेवाका लागि चाहिने उपयुक्त उपकरण तथा दक्ष जनशक्तिको व्यवस्था गरी स्तरीय सञ्चालन कार्यविधि तथा ग्राउन्ड ह्यान्डलिङ म्यानुअल स्वीकृति गराएर आफ्नो योग्यता प्रमाणित गरेपछि मात्रै त्यो कम्पनीले विधिवत आफ्नो काम सुरु गर्न पाउने व्यवस्था छ । यस अर्थमा हिमालय एयरलाइन्सले पाएको अनुमतिलाई अन्यथा भन्न मिल्दैन । तर पनि अन्तर्राष्ट्रिय उडानको ग्राउन्ड ह्यान्डलिङ सहज कार्य भने होइन । यो सुविधाको उपभोग गर्न कम्पनी आफै पनि हरेक दृष्टिले सक्षम हुनु आवश्यक छ । यो सेवाका लागि आवश्यक पर्ने महँगा उपकरण,  तालिम प्राप्त उच्च स्तरका छुट्टै प्राविधिक एवं अन्य कर्मचारीको व्यवस्था गर्नुपर्ने हुन्छ । यसबाहेक करोडौँको तेस्रो पक्षीय दायित्व बीमासमेत गर्नुपर्ने भएकाले थोरै वायुयान र उडान सङ्ख्या न्यून रहेका वायुसेवाका लागि यो लाभप्रद हुँदैन । आफै गर्ने वा अरूलाई गर्न दिने यो वायुसेवाको व्यापारिक निर्णयमा भर पर्दछ । 

ग्राउन्ड ह्यान्डलिङ सेवाको भूमिका
अब प्रश्न उठ्न सक्छ यति हुँदाहुँदै पनि वायुसेवा कम्पनीहरूले किन आफै ग्राउन्ड ह्यान्डलिङ गर्न चाहन्छ त ? प्रश्न आर्थिक भन्दा पनि वायुसेवा कम्पनीको सेवा स्तर अभिवृद्धि र छविमा सुधार ल्याउने प्रयाससँग सम्बन्धित हुन्छ । तोकिएको समयमा उडान गर्ने र आफ्ना यात्रुहरूको सेवा सुविधामा सजग  वायुसेवा कम्पनीहरूको छवी जहिले पनि उच्च रहन्छ । आफ्नो छवि सुधार्न र यात्रुहरूको विश्वास जित्नका लागि वायुसेवा कम्पनीले अनेक प्रयास गरिरहेका हुन्छन् । जहाँसम्म नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ सेवाको कुरा छ । विगतमा भन्दा अहिले आफ्नो कार्यशैलीमा धेरै सुधार र परिवर्तन ल्याइसकेको छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर बढ्दो हवाई ट्राफिककोे सन्दर्भमा यो कार्य चुनौतीपूर्ण समेत बन्दै गएको छ ।  विविध कारणवस एकै समयमा धेरै अन्तर्राष्ट्रिय उडानको समय जुध्न जाने बेलामा कर्मचारीहरूको अथक प्रयासको बाबजुद पनि  अपेक्षाअनुसार सेवा उपलब्ध गराउन असमर्थ हुन जान्छ । 

कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलको छविमा त्यहाँको ग्राउन्ड ह्यान्डलिङ सेवाले प्रमुख भूमिका खेल्ने कुरा नकार्न मिल्दैन । यात्रु ओसार्ने बसको समस्यादेखि, ब्यागेज समयमा आइनपुग्ने, ब्यागेज टुटफुट हुने, चोरी हुने आदि आम हवाई यात्रुले देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा प्रायः भोग्दै  आएका समस्या हुन् । यसको मुख्य कारण ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धी नहुनु हो । विश्वमा अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो सेवाका लागि एकभन्दा बढी सेवा प्रदायक संस्था हुने भएकाले यो सेवा प्रतिस्पर्धी र गुणस्तरीय हुने गर्दछ । यस्ता समस्यालाई समय सापक्ष सुधार्दै लाने क्रममा विगतदेखि नै कम्तीमा एकवटा थप ग्राउन्ड ह्यान्डलिङ कम्पनीको आवश्यकता महसुस गर्दै आएको थियो । 

विदेशी वायुसेवाले नेपालमा ग्राउन्ड ह्यान्डलिङ र इन्धन अत्यन्तै महँगो भएकाले गर्दा हवाई भाडासमेत महँगो हुने गुनासो गर्दै आएका छन् । प्राधिकरण नेपालमा हवाई यातायात नियमन गर्ने र हवाई सेवाको प्रवद्र्धन गर्ने संस्था पनि हो । त्यसैले विमानस्थलमा सम्भव भएसम्मका सेवालाई प्रतिस्पर्धी तथा गुणस्तरीय बनाउनु उसको दायित्व पनि हो । नेपालको उड्डयन गतिविधि निरन्तर बढ्दो क्रममा छ । सन् २००० मा नेपालमा १५ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले ४०५४ उडान गरेको थियो भने सन् २०१९ मा ३० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले १६२२० उडान ग¥यो । अर्थात् यस अवधिमा वायुसेवा सङ्ख्या दुई गुणा पुगेको छ भने उडान सङ्ख्या ४ गुणाले वृद्धि भएको छ । यस्तो अवस्थामा एउटा नेपाली वायुसेवाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ आफै गर्छुभन्दा गुनासो गर्नु पर्ने जस्तो देखिँदैन । जहाँसम्म विदेशी साझेदारीको प्रश्न छ विदेशी लगानी भएको कम्पनीले यस्तो सुविधा पाउने छैन भनी कहीँ उल्लेख गरेको पाइएन । 

नेपाली वायुसेवाले ध्यान दिनुपर्ने कुरा
 नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध गराउँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवाबाट वार्षिक ४ अर्बभन्दा बढी आय आर्जन गर्दछ । यही सहज आयको कारण राष्ट्रिय ध्वजाबाहक उडान सञ्चालन अभिवृद्धिको आफ्नो प्राथमिक भूमिकाबाट विमुख हुँदै गएको र प्रशस्त सम्भावनाका बाबजुद पनि अरूको दाँजोमा पछि पर्दै गएको भन्ने भनाइलाई  पनि नकार्न मिल्दैन । उदाहरणका लागि नेपालको ४० मुलुकसँग हवाई सेवा सम्झौता छ । यसबाट हामीलाई एकतर्फी करिब ८० लाख  हवाई सिट उपलब्ध छ । अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवाले हाल जम्मा ९ प्रतिशत सिट मात्र उपलब्ध गराउन सकेका छन् । देशको दुई तिहाइ बजार हिस्सा २६ वटा विदेशी वायुसेवाको कब्जामा छ । हाम्रा वायुसेवाले पनि आफ्नो क्षमता विस्तार गर्दै उडान सङ्ख्या थप्दै बजार हिस्सा बढाउनुपर्छ । यो लक्ष्य प्राप्तिका लागि  नेपाल वायुसेवा निगमले पनि आफ्नो क्षमता क्रमिक रूपमा बढाउँदै बजार विस्तार गरिरहेको छ ।  हिमालयले पनि वायुयान थप गरी उडान विस्तार गरिरहेको छ । यो राम्रो पक्ष हो । निगम र हिमालय प्रतिस्पर्धी होइनन् । प्रतिस्पर्धा त यी दुई वायुसेवाको २६ वटा विदेशी वायुसेवासँग छ भन्ने बुझाइ हुनुपर्ने हो । दुई नेपाली अन्तर्राष्ट्रिय वायुसेवा बीच अनावश्यक प्रतिस्पर्धा नहोस् भनी सुनिश्चित गर्न प्राधिकरणले उडान तालिका स्वीकृत गर्ने समयदेखि नै विशेष ध्यान पु¥याउन जरुरी छ । 


निष्कर्ष
नेपाल वायुसेवा निगमले अरूले नियमसङ्गत पाएको यस्ता सानातिना विषयतिर चासो राख्नु भन्दा पनि अब सञ्चालनमा आउने गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो क्षमता विस्तार गरी ग्राउन्ड ह्यान्डलिङ सेवा विस्तार गर्नेतिर सोच राख्नुको साथै निगमको अन्तर्राष्ट्रिय उडान सञ्जाल निरन्तर अभिवृद्धि गर्दै संस्थाको सबल भविष्य सुनिश्चित गर्नेतिर ध्यान केन्द्रित गर्नु मनासिब हुनेछ । सरकारले पनि अरूको नियमसङ्गत अधिकारलाई सुनिश्चित गर्दै राष्ट्रिय ध्वजाबाहकलाई के कसरी सरंक्षण, संवद्र्धन र सक्षम बनाउँदै लाने भन्नेतिर ध्यान केन्द्रित गर्नु मनासिब हुनेछ । विगतका भोगाइहरूको आधारमा महत्त्वपूर्ण कुरा भनेको ध्वजाबाहकलाई कुनै पनि किसिमको राजनीतिक दबाब र हस्तक्षेपबाट मुक्त राखी स्वतण्त्र रूपले आफ्नै स्वविवेकमा काम गर्न पाउने वातावरण सिर्जना भएमा  स्थितिमा सुधार आउन समय नलाग्ने कुरा निश्चित छ  । 
 
लेखक नागरिक उड्डयन विज्ञ हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.