मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश २ का मुख्यमन्त्रीलाई हटाउन नेपालमा भारतीय संगठन ‘आरएसएस’को अभियान

शनिबार, १७ असोज २०७७, ०९ : ४९
शनिबार, १७ असोज २०७७

काठमाडौं । नेपाली राष्ट्रिय राजनीतिमा आफ्नो पकड कमजोर हुँदै गएपछि भारतले पछिल्ला वर्षहरुमा ‘मधेश कार्ड’को प्रयोग गरेको आरोप लाग्दै आएको छ । तर अहिले आएर भारतका लागि ‘मधेश कार्ड’ पनि प्रतिकूल बन्दै गइरहेकोले उसको ध्यान ‘प्रदेश नम्बर २ मा मधेशी दलहरुको प्रभुत्व रहेको एक मात्र सरकारका विरुद्ध लक्षित हुन थालेको’ देखिएको छ । 

सो कार्यका लागि अहिले भारतको ‘राष्ट्रिय स्वयंसेवक संघ’ (आरएसएस) ले नेपालमा पनि आफ्नो सक्रियता बढाएको बुझिएको छ । (आरएसएस)  भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको समेत मार्गदर्शकका रुपमा रहेको कट्टर राष्ट्रवादी हिन्दु संगठन हो । भनिन्छ, भारतमा भाजपाका सरकार सञ्चालनदेखि पार्टी सञ्चालनसम्ममा आरएसएसकै मुख्य भूमिका रहने गरेको छ । 

प्राप्त जानकारीअनुसार, अहिले नेपालमा आरएसएसको मुख्य एजेण्डा नै प्रदेश २ का मुख्यमन्त्री राउतलाई हटाउने बनेको छ । सोही प्रयोजनका लागि भाजपाको नेपाल सेलमा काम गरिसकेका विनय यादवको अध्यक्षतामा राष्ट्रिय एकता अभियान थगठन भएको र सोही अभियानमार्फत् गतिविधिहरु अघि बढाइएका छन् ।

आरएसएसले सुरुदेखि नै प्रदेश २ मा मुस्लिम समुदायका राउत मुख्यमन्त्री भएको हेर्न चाहेको थिएन । परिस्थितिवस् राउत मुख्यमन्त्री भएपछि उनको विकल्पका बारेमा पहल गर्दै आएको आरएसएसले राजनीतिक सम्बन्धका आधारमा आफ्नो उद्देश्य पूरा गर्न नसकेपछि नेपालमा आफ्नो संगठन नै खडा गर्न लगाएर आफ्नो प्रभाव बढाउन खोजेको हो ।

यतिखेर राष्ट्रिय एकता अभियानले प्रदेश २ सरकारको खुलेर विरोध गर्ने गरेको छन् । त्यसो त उसले प्रकट रुपमा चीनको पनि विरोध गरिरहेको छ । तर राष्ट्रियता, गणतन्त्र र हिन्दु राष्ट्रका लागि भन्दै खोलिएको अभियानले मूलतः आफ्नो गतिविधि र विरोध अभियानहरुको तारो मुख्यमन्त्री राउतको राजीनामाको मागमा केन्द्रीत गर्दै आएको छ ।

गत केही समयअघि रौतहटमा एकजना पुजारीको हत्यालाई लिएर सो अभियानले मुख्यमन्त्री राउतको राजीनामा माग गरिसकेको छ । केहीदिन अघि  मात्रै सोही अभियानले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको पुतला पनि दहन गरेको थियो ।

अहिले प्रदेश २ सरकारको विरुद्धमा प्रदेशका ८ वटै जिल्लामा सो अभियानले गतिविधि शुरु गरेको छ । प्रदेश २ का मुख्यमन्त्री राउतका विरुद्धमा रहेका सांसद तथा नेताहरुलाई पनि अभियानका अध्यक्ष यादवले आफ्ना पक्षमा पारिसकेका छन् । अहिले केही सांसद तथा नेताहरुको मुख्यमन्त्री विरोधी अभिव्यक्ति पनि त्यसैको कडीको रुपमा जोडिएको पाइन्छ । 

अभियानका संयोजक विनय यादवले प्रदेश २ सरकारका मुख्यमन्त्री राउत हिन्दुधर्म र गणतन्त्र विरोधी रहेको आरोप लगाउँदै मधेशी जनताको हकमा काम गर्नुभन्दा पनि मदरसा–मस्जिदको विकासमा मुख्यमन्त्रीको सरोकार रहेको आरोप लगाए । कतिसम्म भने, भारत तथा नेपालमा हुने आतंककारी गतिविधिमा राउतको पनि कतै न कतै संलग्नता देखिने गरिएको सूचना आफूहरुले पाएको बताउँदै उनले मधेशमा आतंकारीहरुलाई संगठित गर्नका लागि नै मदरसा विधेयक ल्याइएको गम्भीर आरोप समेत लगाउँदछन् । त्यसो त मुख्यमन्त्री राउतमात्र होइन, त्यहाँका अन्य मन्त्रीहरु पनि हिन्दु धर्म र गणतन्त्रका विरुद्धमा गतिविधि गरिरहेको बताउँदै उनी मुख्यमन्त्री राउतलाई आरएसएसले नरुचाउनु स्वाभाविक रहेको ठाडै बताउँछन् ।

त्यसो त ‘आफ्नो अभियान आरएसएसको भ्रातृ संगठन नभएको’ दावी गर्ने यादव ‘आफूहरुसँग आरएसएसको विचार र मिसन मिल्ने’ कुरा चाहिँ स्वीकार्छन् । कतिसम्म भने, ‘आफूले बाल्यकालदेखि आरएसएसमा काम गरेको हुनाले त्योसँग जोडिने कुरालाई आफूले अन्यथा नलिएको’ कुरा सोझै स्वीकार्छन् । 

अहिले राउतलाई मुख्यमन्त्रीबाट हटाउने अभियान आफूहरुले नै सञ्चालन गरेको दावीसमेत गरे । उनले मुख्यमन्त्रीका विरुद्ध प्रदेश २ मा आन्दोलन शुरु भएको उल्लेख गर्दै जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री राउतलाई नहटाए प्रदेश २ मा सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

स्मरण रहोस्, अभियानले हिन्दूवादी मुद्दा र चीनको इस्यूलाई विशेष जोड दिएर उठाउने गरेका छन् । केहीअघि पाकिस्तानमा हिन्दू मन्दिर भत्काएको भन्दै सो अभियानले पाकिस्तानी दूतावासको आगाडि प्रदर्शनसमेत गरेको थियो । त्यस्तै हुम्लामा चीनले नेपालको सीमाना मिचेको भन्दै अहिले अभियानले चिनियाँ दूतावासका अगाडि प्रदर्शन गर्नुको साथै देशका विभिन्न भागहरुमा विरोधका कार्यक्रम पनि गरेको थियो ।

नेपालमा आरएसएसको शाखा छैन तर आफ्ना सबै गतिविधि हिन्दु स्वयंसेवक संघमार्फत गरिरहेको छ । हिन्दु स्वयंसेवक संघ नेपालमा दर्ता भएको एक स्वतन्त्र संगठन हो । हिन्दु स्वयंसेवक संघजस्तै आरएसएसले राष्ट्रिय एकता अभियानलाई पनि अगाडि बढाएको छ । स्रोत भन्छ, ‘नेपालमा सो अभियानमार्फत जे जति कार्यक्रम हुन्छ, त्यो आरएसएसकै आधिकारिक कार्यक्रम हो भनेर बुझ्दा हुन्छ ।’

अपडेट

तर, हिन्दू स्वयंसेवक संघ नेपालले भने आफ्नो कार्यविधि अन्तर्गत कुनै पनि संगठन आङ्गीक तथा मातहतमा रहेर कार्य गर्ने पद्धति नरहेको बताएको छ । संघले कुनै पनि व्यक्ति विशेषलाई कुनै राजनीतिक मुद्दाबारे बोल्न अथवा कुनै प्रकारको गतिविधि गर्न अधिकार दिने कार्य–पद्धति नरहेको एक विज्ञप्तिमार्फत् बताएको हो । संघले राष्ट्रिय एकता अभियान नामको संस्थाबीच कुनै प्रकारको साङ्गठनिक सम्बन्ध नरहेको समेत स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप