मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षपछि यती एयरलाइन्सको सिमरा उडान सुचारु हुँदै, कति तोकियो भाडा ?

शुक्रबार, १६ असोज २०७७, १४ : ३२
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । यती एयरलाइन्सले १२ वर्षपछि फेरि सिमरा उडान सुरु गर्ने भएको छ । सुरुमा उडान सञ्चालनमा आएर पनि सन् २००८ देखि बन्द रहेको सो उडानलाई यतीले आगामी २१ गतेदेखि पुनः सुरु गर्न लागेको हो । आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा १२ वर्षदेखि रोकिएको उडानलाई पुनः सुरु गर्न लागेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहेका बर्तौलाले कोभिड–१९ को उच्च स्वास्थ्य सर्तकताका साथ आगामी बुधबारदेखि उडान सुरु गर्ने जानकारी दिए । ‘सम्बन्धित निकायसँग स्वीकृत लिएर अर्को सातादेखि दैनिक दुई उडान गर्ने तयारी गरेका छौं’ बर्तौला भन्छन्, ‘पहिले विविध कारणले उडान स्थगित भएको थियो, अब हाम्रो उडान नियमित उडान हुनेछन् । यात्रुको माग बढ्दै जाँदा उडानको संख्या पनि थपिँदै जानेछ ।’

यतीले प्रत्येक दिन बिहान ९.०० बजे र साँझ ४.४५ बजे सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत काठमाडांैबाट उड्नेछ । एयरलाइन्सका बिक्री तथा बजार निर्देशक सरल शम्सेर जबराकाअनुसार सो क्षेत्रका यात्रुको माग बमोजिम सेवा सुरु गर्न लागिएको हो । सेवा सुरु गरेको अवसरमा एयरलाइन्सले एकतर्फी भाडा २ हजार ८ सय रुपैंया तोकेको छ । एयरलाइन्सका सेल्स अफिस, मोबाइल एप्स, ट्राभल एजेन्सी तथा अनलाइनमार्फत् समेत यो उडानको टिकट लिनसक्ने व्यवस्था मिलाइएको जबराको भनाई छ । 

यतीले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार तथा काठमाडौं र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ भने तारा एयरले दुर्गम हिमाली तथा पहाडी क्षेत्र लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुराजस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ । हाल यतिसँग एटीआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच समेत गरी १० वटा र तारा एयरका ४ वटा ट्वीनवटर विमान सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप