मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको भ्याक्सिन आएपछि के सबैकुरा सामान्य होला ?

शुक्रबार, १६ असोज २०७७, १३ : ५०
शुक्रबार, १६ असोज २०७७

यदि तपाईंले कोरोनाको भ्याक्सिन आएपछि सबैकुरा एकदम सामान्य होला भनेर सोचिरहनुभएको छ भने तपाईंको सोच गलत हुनसक्छ । प्रमुख वैज्ञानिकले यसका लागि चेतावनी जारी गरेको छ ।

भ्याक्सिनलाई एउटा यस्तो उपायको रुपमा हेरिएको छ, जुन आउनेबित्तिकै महामारी समाप्त हुने आँकलन गरिएको छ । तर रोयल सोसाइटीका अनुसन्धानकर्ताले आफ्नो एक रिपोर्टमा भ्याक्सिनले के होला र के हुनसक्ला भनेर हामीले तार्किक र व्यावहारिक हुन आवश्यक भएको बताएका छन् ।

वैज्ञानिकका अनुसार भ्याक्सिन जतिबेला आएपनि त्यसलाई मानिसहरुमाझ पुर्याउन कम्तीमा एक वर्षको समय लाग्न सक्छ । यस्तोमा कोरोना भाइरसका कारण जुन प्रतिबन्ध लागू गरिएको हो, त्यो क्रमशः हटाउन आवश्यक छ ।

भ्याक्सिनको विषयमा चलिरहेको प्रयोगको कुरा गर्ने हो भने संसारभरी करिब दुई सय भ्याक्सिन प्रोजेक्ट चलिरहेको छ । कुनै प्रारम्भिक चरणमा छन् भने कुनै क्लिनिकल ट्रायलका लागि तयार छन् ।

इन्पेरियल कलेज लण्डनका नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्यूटका डा. फियोना कुली भन्छन्, ‘भ्याक्सिनबारे थाहा पाउँदा हाम्रो मनमा महामारी समाप्त हुने आशा पैदा हुन्छ तर हामीले यो कुरा पनि बिर्सनु हुन्नँ कि भ्याक्सिनको विकासमा थुप्रै पटक विफलताको पनि सामना गर्नुपर्ने हुन्छ ।’

बेलायत सरकारका वैज्ञानिक सल्लाहकारसमेत विभिन्न मानिसहरुको आशा छ कि यो वर्षको अन्त्यसम्म भ्याक्सिन तयार हुनेछ र त्यसपछि ठूलो मात्रामा परीक्षण गर्न सकिनेछ ।

तर अर्कोतर्फ रोयल सोसाइटीले यो एक लामो प्रक्रिया हुने पनि चेतावनी जारी गरेको छ ।

इम्पेरियल कलेज लण्डनमा केमिकल इन्जिनियरिङका प्रमुख प्राध्यापक निलय शाह भन्छन्, ‘यदि भ्याक्सिन उपलब्ध भइहाले पनि यसको अर्थ यो होइन कि एक महिनाभित्र सबैले भ्याक्सिन लगाइसक्नेछन् । यसमा ६ महिना पनि लाग्न सक्छ, ९ महिना पनि र सायद एक वर्ष पनि ।’

‘मार्चसम्म जन–जीवन अचानक पहिले झैं सामान्य हुनेछ भन्ने कुराको त प्रश्न नै उठ्दैन ।’

उक्त रिपोर्टमा बताइए अनुसार यो दिशामा अहिले पनि थुप्रै चुनौती छन् ।

यद्यपि, केही प्रयोगात्मक तरिका भने अपनाइँदैछ । जस्तै कि ठूलो परिमाणमा आरएनए खोप बनाइँदैछ, जुन यसअघि कहिले पनि गरिएको थिएन ।

 तर चुनौती अरु पनि छन् ।

जस्तै भ्याक्सिन बनाउनका लागि कच्चा पदार्थको आवश्यकता पर्छ । भ्याक्सिनका लागि मात्रै होइन सीसाका बोतलका साथै रेफ्रिजरेटरको क्षमता पनि एउटा चुनौती हो । वास्तवमा केही भ्याक्सिनलाई माइनस ८० डिग्री सेल्सियसमा राख्ने आवश्यकता छ ।

प्राध्यापक शाहका अनुमान छ कि वार्षिक रुपमा सामान्य फ्लूसँग जुध्नका लागि हामी जस्तो प्रकारको कदम उठाउँदै आएका छौं, कोरोनासँग जुध्नका लागि त्योभन्दा १० गुणा तीब्र गतिमा काम गर्न आवश्यक हुनेछ । साथै यसका लागि करिब ३० हजार तालिम प्राप्त कर्मचारीको पनि आवश्यकता पर्नेछ ।

उनी भन्छन्, ‘मलाई यो कुराको चिन्ता छ कि के यी सबैबारे गम्भीरताका साथ विचार गरिँदैछ त ?’

थुप्रै भ्याक्सिनको प्रारम्भिक परीक्षणबाट थाहा हुन्छ कि यसको प्रयोगबाट रोग प्रतिरक्षा प्रतिक्रिया तीब्र भए तर कुनै अध्ययनबाट यी भ्याक्सिन पूर्ण रुपमा सुरक्षित छन् र यसले कोभिड–१९ को लक्षण कम हुन्छन् भनेर कुनै अध्ययनले भनेको छैन ।

थुप्रै प्रश्न अझैसम्म अनुत्तरितः

इन्पेरियल कलेज लण्डनमा इम्युनोलोजीका प्रमुख प्राध्यापक चार्ल्स बांगम भन्छन्, ‘हामीलाई साँच्चै नै थाहा छैन कि कुनै भ्याक्सिन कहिलेसम्म तयार हुनेछन्, यो पनि थाहा छैन कि कति प्रभावकारी हुनेछ र कहिलेसम्म सबैका लागि उपलब्ध हुन्छ भन्ने पनि अत्तोपत्तो छैन ।’

उनी थप्छन्, ‘यदि यो प्रभावकारी भए पनि पहिले जस्तो तुरुन्तै स्थिती सामान्य हुन्छ भन्ने सम्भावना पनि कम छ । ’

यस्तै, भ्याक्सिनसँग जोडिएका अन्य प्रश्न पनि अहिले पनि अनुत्तरित छन् ।

– के एउटा खोप पर्याप्त होला वा बुस्टर खोपको पनि आवश्यकता पर्ला ? के यो भ्याक्सिन हरेक साल वा दुई वर्षको अन्तरालमा लिनुपर्नेछ ?

– के कुनै भ्याक्सिन ज्येष्ठ नागरिकका लागि पनि त्यति नै प्रभावकारी होला ?

– भ्याक्सिन लगाएको कति दिनसम्म त्यसको असर रहिरहन्छ ?

अध्ययनमाथि टिप्पणी गर्दै बाथ युनिभर्सिटीका डा. एन्ड्रयू प्रेस्टन भन्छन्, ‘भ्याक्सिनलाई एउटा यस्तो अचुक उपायको रुपमा चित्रित गरिँदै छ, जुन आउने बित्तिकै महामारी नष्ट हुने अनुमान गरिएको छ । तर बुझ्नुपर्ने कुरा के हो भने यसको असर देखिन समय लाग्नेछ ।’

कुनै देशमा भ्याक्सिन आइहाल्यो भने पनि खोपको सुनिश्चितताका लागि भ्याक्सिन पासपोर्टको आवश्यकता छ कि छैन भन्ने कुरामाथि चर्चा गर्नुपर्ने आवश्यकता भएको उनको भनाई छ ।

थुप्रै मानिसहरुमा भ्याक्सिनको विषयमा हिच्किचाहट पनि बढिरहेको कुरामा उनले प्रकाश पार्न खोजेका छन् ।

उनी प्रश्न सोध्छन्, ‘के होला, यदि कोही व्यक्तिले आफ्नो पार्टनरलाई भ्याक्सिनका लागि अस्विकार गरिदिए ? के हामी उनीहरुलाई अरुका लागि खतरा बन्नका लागि छाडिदिने ? वा स्कूल जाने हरेक बच्चाका लागि यसलाई अनिवार्य गरिदिने ?’

उनका अनुसार यस्ता थुप्रै कठिन प्रश्न छन् जसको अहिलेसम्म कुनै जवाफ छैन ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप