केन्द्रीय संस्करण

काँग्रेस साँच्चै जागा बन्न आँटेकै हो ?

person explore access_timeअसोज १६, २०७७ chat_bubble_outline0

नेपालको लोकतान्त्रिक इतिहासको जिउँदो दल नेपाली काँग्रेस विगतको चुनावी पराजयपछि केही सुस्ताएको, पार्टीभित्र आन्तरिक कलहले मजैसित खुट्टा घुमाएको, सत्ताधारी दलसित संवैधानिक पदहरूको भागबन्डामा बार्गेनिङ गर्न रुचाएको, ठूल्ठूला भ्रष्टाचारको विरोध गर्न मुर्झाएको जस्ता आरोप र लाञ्छनाले सिँगारिएको छ । चौधौँ महाधिवेशनको तयारीको क्रममा सतहमा आएका गृहकलह, पारस्परिक दोषारोपण तथा वर्तमान केन्द्रीय सभापतिप्रति संस्थापन इतरका तागतमा संस्थापन पक्षका केही नेता मोर्चाबन्दी गर्न लागेको देखिनुले आम जनता, दलका शुभेच्छुक र काँग्रेसका मतदातामा पार्टीप्रति घोर वितृष्णा जागिरहेको छ ।

बालुवाटार जग्गाकाण्ड, सुनकाण्ड, ओम्नीको ओखती किनमेल पर्व र यति समूहको जग्गा प्रकरणलगायत, सत्ताधारीका भ्रष्ट ज्यादती, हिंसा हत्या र बलात्कार नियन्त्रण गर्न नसकेको मसला पाउँदा पनि सशक्त प्रतिवादमा नउत्रनु काँग्रेसको दुर्बलता हो । अझ कोभिडको महाव्याधिको बेला सत्ताधारी दल पदको भागबन्डामा पार्टीभित्र झगडा मच्चाएर आफ्नो दायित्वबोधबाट मज्जाले चिप्लिँदा पनि प्रमुख प्रतिपक्षी दल ब्युँझिएर ताजा र जागा हुननसक्नु  पक्कै शुभ सङ्केत होइन । 

 अराजक बन्दै गएको देशको अवस्था जहाँ लैङ्गिक हिंसा, सामाजिक द्वन्द्व, न्यायपालिका लगायत संवैधानिक अङ्गहरूको सत्ताधारी दलद्वारा एकलौटी नियन्त्रण र नाङ्गो हस्तक्षेप, भ्रष्टाचारको घनत्व, मिथ्याङ्कहरूको बिगबिगी हुँदा पनि   सुशासन स्थापनाप्रति नेकपालाई साइजमा ल्याउन नसक्नु काँग्रेस कमजोर भएको कुरा नेपाली जनताले महसुस गरिरहेका छन् । वास्तवमा विरोधी वा प्रतिपक्षी दल भनेकै लोकतन्त्रको सार हो । चिन्तक डिजरायलीको शब्दमा—

‘प्रबल विरोधको अभावमा कुनै पनि सरकार टिकाउ हुँदैन ।’ निश्चय नै सरकारलाई पूर्ण समय टिकाउन विरोधी तागत चनाखो, जाँगरिलो, सादा जीवन उच्च विचारमा जनताका इच्छा मुखर वा गुञ्जन गराउने हुती हुनुपर्छ । किनकि यतिखेर भावी सत्ता सञ्चालनको प्रतीक्षा सूचीमा रहेको वैटिङ गभर्मेन्ट हो नेपाली काँग्रेस । हो, नेपाली काँग्रेसले कोरोना सङ्क्रमणको खतरा परिवेशमा सरकारलाई कस्तो दबाब दिनुपर्छ भन्ने सोच धेरैअघि नै विमर्श हुनुपथ्र्यो । जे होस् ढिलै भए पनि गत बुधबार नेपाली काँग्रसले आउँदो असोज १९ गते हुने केन्द्रीय समितिको बैठकमा नेकपा सरकारको अक्षमता, भ्रष्टाचार र एकाधिकारवादी कुशासनविरुध्द सडक तथा सदनबाट देशव्यापी आन्दोलनको सङ्घर्षमा होमिने  अनि संसद् अधिवेशन बोलाउन समावेदन दर्ता गराउने  तयारीमा गृहकार्य सुरु गरेको कुरा प्रकाशमा आएको छ ।   

    आफ्नो क्रान्तिकारी स्वर्णिम इतिहास, सिद्धान्त र पर्याप्त जनसामीप्यता पाउँदै आएको यो दल नेपालमा विभिन्न कालखण्डमा निष्पन्न भएका चुनावहरू २०१५ को निर्वाचनमा ३७.२, ०४८ मा ३७.७५, ०५६ मा ३७.२९,  ०७० मा २९.८० प्रतिशत जनमत पाएर नेपालको प्रथम दल बनेको थियो भने ०५१ मा ३३.३८, ०६४ मा २२.७९, ०७४ मा ३२.७८ प्रतिशत जनताको भोट पाएर दोस्रो दर्जामा रहन पुग्यो । दोस्रो दर्जाको नतिजा पाउन यो दलले विभिन्न समयमा गरेका कमजोरी यी थिए– ०५१ मा काँग्रेस कलह र गिरिजाको मध्यावधिको हठ, ०६४ मा काँग्र्रेस माओवादीको मुद्दामा घिसारिनु, ०७४ मा ठूला दुई वामको गठजोड र नेपाली काँग्रेसको साङ्गठनिक सबलतामा केही ह्रास आउनु । यसरी सात सालअघिको समय क्रान्ति पृष्ठभूमि काल थियो भने २००७ को क्रान्ति काल र अहिलेसम्मको अवस्थामा जनताले काँग्र्रेस छोडेका छैनन् । बरु सत्तासीन हुँदा काँग्र्रेसले  बीपी चिन्तन बिर्सिएर जनताको न्यानो मायालाई नजरअन्दाज पक्कै गरेकै हो ।

यसैले यतिखेर काँग्र्रेस जागा हुने हो भने सबभन्दा पहिला जनतासित जोडिन सक्नुपर्छ । बीपी चिन्तन, सहिदहरूको बलिदान, सङ्घर्षशील पुराना कार्यकर्ताहरूलाई गुटीय गञ्जकमा नथुन्ने, नवप्रवेशीहरूमा प्रशिक्षण,  उनीहरूमा आत्मविश्वास जगाउने र हरेकलाई पार्टीको जिम्मेदारी प्रदान गरी नयाँ शिराबाट योजना,कार्यक्रम तथा गतिलो रणनीति ल्याउन  विलम्ब गर्न हुँदैन ।  दलमा अनुशासन, हरेक कार्यकर्ताको अभिलेखीकरण, पार्टी साहित्य र सिद्धान्तको पूर्ण अध्ययनको लत बसाल्ने, सादगीपनलाई अनिवार्य गर्ने, तृणमूल जनसङ्गठनमा नेपाली काँग्रेस पुगेर भुइँ जनताका सुखदुःखमा आत्मीय साथ दिने, सीमान्तकृत र पिछडावर्गको आत्मालाई जित्ने काम नगरे काँग्रेस जाग्दैन । जागा र सचेत सङ्गठन नभई आन्दोलनले काया र प्राण पाउनै मुस्किल हुन्छ ।  आन्दोलन, क्रान्ति र सङ्घर्ष गफजस्तो सजिलो विषय हैन । 

केही त्याग गरेर परिवर्तनमा भूमिका निर्वाह गरेका पुराना पात्रहरू विगतमा सत्तासीन हुँदा त्यसको चास्नीमा लुटुपुिटए । नयाँ युवा पुस्ताकाहरू पुरानालाई  बोल्ड इज गोल्ड नभनेर कोल्ड वा डेट स्पायर थोत्रा शक्ति हुन् भन्ने गर्जनामा धम्क्याइरहेका छन् । केही आफ्ना पुर्खाको विरासत सम्झिएर राजकुमार बन्ने धुनमा र अभिनव पुस्ता तथा नव प्रवेशीहरू मेलोमेसो नपाएर त्यत्तिकै रुमल्लिइरहेका छन् । यस्तो विसम परिस्थितिमा देशव्यापी आन्दोलन सबल बनाउन दलभित्र दर्बिलो  एकता हुनु अपरिहार्य छ । यो अवधिमा नेपालका दलहरूको चर्तिकला देखेर जनता वितृष्णाले दिक्क छन् । सत्ताधारी कम्युनिस्टहरू मात्र भ्रष्टाचार, आन्तरिक झैझगडामा  लिप्त र देशको भूमि सुरक्षामा संवेदनशील नभएको जटिल थिति छ । त्यसैले काँग्रेसले यो चुनौतीलाई पार लगाउने अवसर पाएको छ । सबैले दम्भ, दर्प, पाखण्ड, तामसी अभिमान त्यागेर एक सूत्रमा सङ्गठनलाई आबद्ध गराई मास्न लागेको लोकतन्त्रको रक्षार्थ फेरि तेस्रो जर्जर सत्ताविरुद्ध आन्दोलन छेड्न जरुरी छ । 

विनम्रता आत्मीयता, साख्यभाव, सहयोगी चरित्र, साहस, ठालु नपल्टिने, खुराफातको लुतो नकन्याउने, जनसरोकार, जनजीविका सम्बन्धी मुद्दाहरूको उठान गर्ने, गैरराजनीतिक कार्यक्रममा अब्बल भूमिकाको स्थान स्थापना गर्ने खालका व्यवहार, आचरण लगाब काँग्र्रेसमा अनिकाल छ । यी सबै कुरा अब जागा हुने काँग्रेसमा रूपायित हुन अनिवार्य छ । अब पनि काँग्र्रेसले आफ्नो भोटबैङ्कको त्यत्रो सम्पत्तिको रक्षा गर्न जानेन भने यो चिनियाँ कोमिन्ताङ दल बन्छ ।  वडा तहदेखि पालिका, प्रदेश हुँदै सङ्घीय तहमा निर्वाचित कङ्ग्रेस प्रतिनिधिहरूले आपूmले खाइपाइ आएको सुविधाको ४० प्रतिशत कोभिड व्याधिबाट पीडितहरूको उद्धारमा कटौती गर्ने घोषणा गर्नसक्नु पर्छ यतिखेर ।  अनि सत्ताधारीहरूलाई पनि यही ट्रयाकमा ल्याउने काम आफ्नो नायकत्वमा नेपाली काँग्रेसले गर्नसक्नुपर्छ । मन, वचन र कर्ममा एकरूपता नभई शब्दमा मात्र काँग्र्रेस जागा भएको ढोलक पिट्नु व्यर्थ छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.