आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको कारोबारमा यसरी लुटिन्छन् ग्राहक

एक पृष्ठ स्टेटमेण्ट प्रिन्ट गरेको शुल्क नै २ सय ५० रुपैयाँ, चेक लिन ढिला गए जरिवाना
शुक्रबार, १६ असोज २०७७, १२ : ०८
शुक्रबार, १६ असोज २०७७

विदेशी लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले सेवा शुल्कको नाममा आफ्नै ग्राहकमाथि लुट धन्दा चलाएको प्रमाण फेला परेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क अस्ट्रेलियाको स्ट्याण्डर्ड चाटर्ड ग्रिनलेज लिमिटेडको शाखाको रुपमा ७०.२१ प्रतिशत सेयर लगानी छ ।

ठूला र धेरै कमाउने बैङ्कहरुले सेवाग्राहीलाई सुविधा दिनुका साटो यो वा त्यो नाममा चर्को शुल्क लिएर लुट्ने गरेको देखिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क आँफैले जारी गरेको एसटिसी अर्थात् स्ट्याण्डर्ड ट्यारिफ एण्ड चार्जेजलाई हेर्दा बैङ्कले ग्राहकबाट महङ्गो शुुल्क लिने गरेको पाइएको हो ।

एउटा एटिएम कार्ड लिन २ हजार ५ सय तिर्नुपर्ने, चेक लिन ढिला गए जरिवाना लाग्ने,  एटिएम कार्ड बनाएको ६० दिनभित्र नगए अर्को जरिवाना तिर्नुपर्ने लगायत यो वा त्यो नाममा चर्को शुल्क असुलेर ग्राहक ठग्ने गरेको देखिन्छ ।

नेपालमा खुलेका सबै बैङ्कहरु नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष नीति र निर्देशनभित्र रहेर चल्छन् । तर खुल्ला बजार अर्थनीति भन्दै राष्ट्र बैङ्कले शुल्कमा कडाई नगर्दा बैङ्कहरुले आफूखुशी शुल्क लिने गरेका छन् । जसको प्रत्यक्ष मार आम ग्राहकलाई पर्ने गरेको छ ।

बैङ्कले कुन सेवाका लागि कति शुल्क लिन्छ ?

एटिएम कार्ड बनाउँदा २ हजार ५ सय रुपैयाँ

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको एटीएम बनाउँन नै एउटा ग्राहकले २ हजार ५ सय रुपैयाँ खर्च गर्नुपर्छ । यसले जारी गरेको एटिएममा अन्य बैङ्कको भन्दा अतिरिक्त फिचर भएर बढी रकम लागेको होइन, अन्य बैङ्कको जस्तै छ यसको कार्ड । यति मात्र होइन बार्षिक ५ सय रुपैयाँ नविकरण शुल्क समेत बैङ्कले ग्राहकको खाताबाट काट्छ ।

बैङ्कले ५ वर्षका लागि भन्दै एकैपटक २ हजार ५ सय रुपैयाँ लिने गरेको छ ।

जबकि नेपालमा सञ्चालनमा रहेका अन्य बैङ्कहरुको औसत नविकरण शुल्क भनेको वार्षिक २५० रुपैयाँ देखि  ३ सय रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले केही समय अगाडि जारी गरेको निर्देशिकामा कुनै पनि सेवा वार्षिक नवीकरण गर्नुपर्ने हो भने सकिने मिति (एक्सपायर डेट) भन्दा १५ दिन अगाडि नै ग्राहकलाई जानकारी दिएर सेवा सुचारु गर्ने कि नगर्ने जानकारी गराउनुपर्ने भनेको छ । तर स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले भने अहिले पनि ५ वर्षका लागि भन्दै एकै पटक २ हजार ५ सय शुल्क लिइरहेको छ । जुन राष्ट्र बैङ्कको निर्देशिका विपरीत छ ।बैङ्कले यति धेरै शुल्क लिएको भएपनि एउटा भिसा कार्ड छपाई गर्नका लागि ३८ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ मात्रै खर्च हुने गरेको छ ।

समयमै कार्ड लिन नगए  खाताबाट अर्को ५ सय जान्छ

कहिलेकाहीँ एटिएम कार्ड बनाउन दिएर लिन जान नभ्याएको पनि हुनसक्छ । तर स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले कार्ड बनाए वापत पहिले नै तपाइँको खाताबाट २ हजार ५ सय कटिसकेको भएपनि कार्ड बनेको ६० दिनभित्र लिन नगएमा तपाइँको खाताबाट अर्को ५ सय रुपैयाँ काटेर उक्त कार्ड नष्ट गर्ने गरेको छ ।

त्यस्तै यदि तपाइको कार्ड हराएमा, बिग्रिएमा वा भाँचिएमा पनि तपाइँले अर्को कार्ड लिनका लागि ५ सय रुपैयाँ तिर्नुपर्छ । कार्ड हराएर ब्लक गर्नुपरेमा पनि बैङ्कले ५ सय रुपैयाँ लिन्छ भने तपाइँलाई यस बैङ्कको एटीएम कार्ड चलाउन मन नलागेर सेवा बन्द गर्नु परेको अवस्थामा पनि ५ सय रुपैयाँ तिरे मात्रै सेवा बन्द गर्न पाइन्छ ।

क्रेडिट कार्ड लिन ३ हजार, वार्षिक शुुल्क १ हजार ५ सय

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको भिसा डेबिट कार्ड त महङ्गो छ नै क्रेडिक कार्ड अझै महङ्गो छ । यस बैङ्कले अधिकांशलाई जारी गर्ने गरेको प्लाटिनम क्रेडिट कार्ड लिन एकैपटक ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ भने यस कार्डको नवीकरणका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

स्टेटमेण्टको प्रतिपृष्ठ २ सय ५०, ब्यालेन्स सर्टिफिकेटको १ हजार ५ सय रुपैयाँ

अहिले एकपृष्ठ सादा कागजको मूल्य महङ्गोमा पनि ७० पैसा पर्ला । कागजको मूल्य धेरै परेमा १ रुपैयाँदेखि अधिकतम २ रुपैयाँ नै पर्ला । तर स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको स्टेटमेण्ट बैङ्ककै कागजमा प्रिन्ट गर्नु परेमा तपाइँले ज्यादै महङ्गो शुल्क तिर्नुपर्छ ।

यस बैङ्कमा खाता खोलेर तपाइँले ६ महिनाभन्दा लामो समयको स्टेटमेण्ट माग गर्नुभयो भने तपाइँले एक पृष्ठकै २ सय ५० रुपैयाँका दरले शुल्क तिर्नुपर्छ ।

स्टेटमेण्ट लिन मात्रै होइन ब्यालेन्स सर्टिफिकेट लिनका लागि पनि यस बैङ्कलाई ज्यादै महङ्गो शुल्क तिर्नुपर्छ । बैङ्कले जारी गरेको सेवा शुल्क सम्बन्धी विवरणमा उसले ब्यालेन्स सर्टिफिकेटकै लागि १ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको पाइएको छ ।

अध्ययनका लागि बाहिर जाने धेरै विद्यार्थीका अभिभावकले आफ्नो बैङ्क खातो स्ट्याण्डर्ड चार्टड बैङ्कमा खोल्छन्, कारण भिसा सजिलै पाइयोस् । तर आफ्नै खातामा कति रकम रहेको छ भनेर बैङ्कबाट ब्यालेन्स सर्टिफिकेट माग्दा पनि बैङ्कले ग्राहकसँग चर्को शुल्क लिने गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले एउटा ब्यालेन्स सर्टिफिकेट जारी गरेबापत अभिभावकसँग १ हजार ५ सय रुपैयाँ लिने गरेको छ । बैङ्कले जारी गरेको एसटिसीको बुँदा नम्बर १.४ मा उसले ब्यालेन्स सर्टिफिकेट जारी गर्दा लिने शुल्कबारे उल्लेख गरेको छ ।

६० दिनभित्र चेक लिन नगएको ७५० रुपैयाँ  जरिवाना

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको ग्राहकबाट पैसा असुल्ने शैली पनि स्ट्याण्डर्ड नै देखिएको छ । अन्य बैङ्कहरुले ६ महिनाभित्र चेकबुक नबुझेको खण्डमा केही शुल्क लिने गरेका छन् । तर यस बैङ्कले भने चेकबुक अर्डर दिएको २ महिना अर्थात् ६० दिनभित्र चेक बुझ्न नगएमा उसले ग्राहकको खाताबाट ७ सय ५० रुपैयाँ काट्ने गरेको छ ।

बैङ्कले जारी गरेको एसटिसी अर्थात् स्ट्याण्डर्ड ट्यारिफ एण्ड चार्जेजको ४ नम्बर बुँदामा २ महिनाभित्र चेक बुझ्न नआएमा चेक नष्ट गर्नका लागि

खाताबाट ५ सय रुपैयाँ कट्टा गर्ने उल्लेख गरेको छ ।

भुक्तानी रोक्न अनुरोध गरेमा ५ सय, चेक फिर्ता हुँदा पनि ५ सय जरिवाना

चेक बुझ्न नगए मात्रै होइन, कसैलाई जारी गरिएको चेकको भुक्तानी नगर्न बैङ्कलाई अनुरोध गरेको खण्डमा पनि बैङ्कले ग्राहकबाट शुल्क लिने गरेको छ । यदि तपाइँले कसैलाई चेक काट्नुभयो तर कुनै कारणबस उक्त चेकको भुक्तानी गर्नु परेन र भुक्तानी रोक्का गर्न बैङ्कलाई अनुरोध गर्नुपर्यो भने पनि बैङ्कले तपाइँसँग ५ सय रुपैयाँ असुल गर्छ ।

भुुक्तानी नगर्न अनुरोध गर्दा मात्रै होइन, जारी भएको चेक फिर्ता भएमा पनि तपाइँले बैङ्कलाई चर्को शुुल्क तिर्नुपर्छ । तपाइँले चेक त जारी गर्नुभयो, तर कुनै कारणबस तपाइँको खाता रोक्का भएको वा तपाइँको खातामा पैसा नभएको समय पर्यो भने त्यसवापत पनि तपाइँले ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्छ । र, बैङ्कले तपाइँको खातामा रहेको रकमबाट ५ सय रुपैयाँ आफ्नो आम्दानीमा सार्छ ।

खाता बन्द गर्न एक हजार शुल्क !

स्ट्याण्डर्ड चार्टड बैङ्कलाई अन्तर्राष्ट्रिय स्तरको बैङ्क भन्दै खाता खोल्नेहरुको जमात ठूलै छ । तर बैङ्कले दिने सेवा र सुविधा चित्त नबुझेमा वा महङ्गो लागेर खाता बन्द गर्न चाहेमा पनि बैङ्कले त्यस वापत शुल्क असुल गर्छ । खाता खोलेको ६ महिना पूरा भएको छैन, तर तपाइँलाई खाता बन्द गर्न मन लाग्यो भने तपाइँले आफ्नो खातामा रहेको रकमबाट १ हजार रुपैयाँ माया मार्नुपर्छ । खाता बन्द गर्दा तपाइँको खाताबाट १ हजार रुपैयाँ काटिनेछ ।

गुड फर पेमेण्टका लागि ५ सय रुपैयाँ

कहिल्यै पनि बाउन्स नहुने वा हुन नसक्ने र रकम भुक्तानी गर्नुपर्दा खातामा रकम नभए बैङ्ककै खाताबाट भुक्तानी हुनेगरी जारी हुने चेक नै गुड फर पेमेण्ट चेक हो ।

गुड फर पेमेण्ट चेक जारी गर्दा केही बैङ्कले बिना शुल्क अर्थात् सित्तैमा गर्ने गरेका छन् भने केही बैङ्कले १ सय वा दुई सयको न्युुनतम शुल्क लिने गरेका छन् । तर स्ट्याण्डर्ड चार्टर्ड बैङ्कका ग्राहकले भने गुड फर पेमेण्ट चेक लिनका लागि पनि ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

आस्बा कमिसन चार्ज नै १ सय रुपैयाँ !

पहिलेजस्तो अहिले शेयर बजारमा कुनै नयाँ आइपिओ वा एफपिओ जारी हुँदा लाइन बस्नेहरुको जमात हुँदैन । शेयर भर्नका लागि आइपिओ निष्काशन कम्पनीमा पुगेर रकम जम्मा गर्नु पनि पर्दैन । तपाइँको खाता रहेकै बैङ्कमा आस्बा अर्थात् ‘एप्लिेकेशन सपोर्टेड बाई ब्ल्कड अमाउण्ट’ मार्फत् बैङ्कमा रहेकोमध्ये शेयर भर्दा लाग्ने रकम रोक्का राखेर भर्न सकिन्छ । अधिकांश बैङ्कले आस्बा शुल्क निशुल्क गरेका छन् भने केही बैङ्कहरुले १ रुपयाँदेखि १०, २० वा २५ रुपैयाँसम्म लिने गरेका छन् ।  तर स्ट्याण्डर्ड चार्टर्ड बैङ्क यति स्ट्याण्डर्ड छ कि उसले शेयर भर्दा उसको खाता प्रयोग गरेवापत १ सय रुपैयाँ काट्ने गरेको छ ।

क्यास विथड्रयल स्लिपकै २५० रुपैयाँ

बैङ्क आउँदा कुनै कारणबस तपाइँले चेकबुक ल्याउन बिर्सनुभयो तर तपाइँलाई आफ्नो खातामा रहेको रकममध्ये २ लाख रुपैयाँसम्म झिक्नु छ भने बैङ्कमा पुगेर विथड्रयल स्लिपबाट पनि झिक्न सक्नुहुनेछ । यो सेवा सबै बैङ्कमा उपलब्ध छ ।

तर यदि तपाईँ स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको ग्राहक हुनुहुन्छ भने ख्याल गर्नुहोस्, तपाइँले यो बैङ्कमा अन्य बैङ्कमा भन्दा दोब्बर बढी शुल्क तिरेर विथड्रयल स्लिप पाउनुहुनेछ । अहिले विथड्रयल स्लिपको शुल्क अधिकांश बैङ्कमा १ सय रुपैयाँ मात्रै रहेको छ । कतिपय बैङ्कले यसअघि नै विथड्रयल स्लिपको शुल्क लिन छाडेका छन् ।

नेपाल राष्ट्र बैङ्कले केही समय अगाडि मात्रै जारी गरेको निर्देशिकामा विथड्रयल स्लिपबाट भुक्तानी गर्दा शुल्क नलिन भनेको छ । कोरोना भाइरसको त्रासका कारण बैंकिङ सेवालाई प्रभावकारी बनाउन र ग्राहकलाई थप आर्थिक भार पर्न नदिन भन्दै राष्ट्र बैङ्कले यस्तो निर्देशिका ल्याएको थियो । तर स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले अहिले पनि विथड्रयल स्लिपबाट भुक्तानी गर्दा एउटै स्लिपको २ सय ५० रुपैयाँ लिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप