शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८ फरार अभियुक्त पक्राउ

बिहीबार, १५ असोज २०७७, २० : २१
बिहीबार, १५ असोज २०७७

जिल्ला प्रहरी कार्यालय बागलुङले  आठ फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । जिल्ला अदालतले फैसला सुनाई कैद तथा जरिवाना भुक्तान गर्न  बाँकी रहेका विभिन्न मुद्दाका  फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको  प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

गोबध मुद्दामा पाँच महिना १७ दिन कैद सजाय भुक्तान गर्न बाँकी जैमिनी नगरपालिका–६ का गगन नेपाली र  २२ वर्षीय कृष्णबहादुर नेपालीलाई पक्राउ गरिएको छ । यस्तै सार्वजनिक मुद्दामा रु दुई हजार जरिवानाका जैमिनी–६ का ३० वर्षीय रामबहादुर नेपालीलाई पक्राउ गरिएको छ । 

यसैगरी आगलागी मुद्दामा जैमिनी–८ छिस्तीका ७४ वर्षीय बलबहादुर सुनार विकलाई पाँच महिना ६ दिन कैद भुक्तान गर्नलाई पक्राउ गरिएको हो ।  यस्तै जबर्जस्ती करणीमा नौ महिना २१ दिन कैद भुक्तान गर्न बाँकी रहेका जैमिनी–९ का ३३ वर्षीय भुवन अधिकारी पक्राउ गरिएको हो । 

यसैगरी लुटपिट मुद्दामा ढोरपाटन नगरपालिका–१ का ४५ वर्षीय अर्जुन गौचनलाई रु पाँच हजार जरिवाना,  कुटपिट मुद्दामा चार महिना २८ दिन कैद र रु एक हजार ५०० जरिवाना तोकिएका  बडिगाड गाउँपालिका, दर्लिङका २९ वर्षीय डोरबहादुर घर्ती र दीपेन्द्र बुढालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो । 

तीस हजार गाँजाको बोट नष्ट

 जिल्ला प्रहरी कार्यालयले निसीखोला गाउँपालिका–६ सिपमा ठूलो मात्रामा गाँजा खेती नष्ट गरेको  छ । इलाका प्रहरी कार्यालय बुर्तिवाङ र विपद् व्यवस्थापन गुल्म बागलुङबाट खटाइएको प्रहरीले आज करिब ६० रोपनी जग्गामा लगाइएको ३० हजार गाँजाका बोट काटेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो । 

बागलुङ प्रहरीले केही दिनदेखि अवैध रुपमा रहेको गाँजा र घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ । सोअन्तर्गत निसीखोलामा ठूलो मात्रामा गाँजा खेती गरिँदै आएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरी नष्ट गरिएको रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप