शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

केरुङबाट भित्रिने कन्टेनरमा ‘कोटा’ हटाउन चीन सहमत

बिहीबार, १५ असोज २०७७, २० : १८
बिहीबार, १५ असोज २०७७

काठमाडौं । केरुङबाट नेपाल आउने कन्टेनरमा दैनिक ५ वटाको कोटा हटाउन चिनियाँ पक्ष सहमत भएको छ । बुधबार चिनियाँ र नेपाली भन्सार अधिकारी र स्थानीय प्रशासन समेत भएको वार्तापछि आइतबार (अक्टोबर ४) देखि त्यस्तो कोटा हटाउन चिनियाँ पक्ष सहमत देखिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । 

अहिले चिनियाँ पक्षले केरुङमा रहेका सामानहरु अहिले दैनिक ५ वटाका दरले मितेरी पुलमा ल्याएर छाड्ने गरेको छ । एउटा कन्टेनर पुलमा ल्याएर छाडेपछि त्यो कन्टेनर अनलोड भएर त्यो ठाउँलाई संक्रमणरहीत बनाएपछि मात्रै अर्को कन्टेनर पठाउने गरेको छ । यो सबै प्रक्रिया पूरा गर्दा केरुङबाट दैनिक ५ वटा भन्दा बढी कन्टेनर भित्रिन सक्ने अवस्था थिएन । 

अब भने चिनियाँ पक्षले पुलभन्दा वारीसम्म बन्टेनर ल्याइदिन सहमत भएको छ । अहिले नेपाली पक्षले पुलभन्दा वारी तारबार गरेर ५ वटासम्म कन्टेनर राख्नसक्ने व्यवस्था मिलाएको छ । अब पारिबाट एकैपटक ५ वटा कन्टेनर ल्याएर त्यहाँ छाडिनेछ । नेपाली पक्षले त्यसलाई लोडअनलोड गरेर सक्नेबित्तिकै पारिबाट अर्को ५ वटा कन्टेनर पठाइनेछ । त्यसो हुँदा अहिलेको भन्दा ५ गुणा बढी कन्टेनर भित्रिन सक्छ । आइतबारदेखि दैनिक २५÷३० वटा कन्टेनर नेपाल भित्रिनसक्ने प्रमुख भन्सार अधिकृत खड्काको भनाई छ । 

‘हामीसँग अहिले ५० जना श्रमिक हुनुहुन्छ । उहाँहरु अहिले क्वारेन्टिनमा हुनुहुन्छ । शनिबार उहाँहरुको पीसीआर परीक्षण हुन्छ । रिपोर्ट नेगेटिभ आयो भने उहाँहरु आइतबारदेखि लोडअनलोडमा खटिन सक्नुहुन्छ । त्यसो भयो भने सहज रुपमा सामान ल्याउन सकिन्छ’ खड्काले भने । तर, उनीहरुमध्ये कसैकोे रिपोर्ट पोजेटिभ आएको अवस्थामा के गर्ने भन्नेबारे अहिलेसम्म केही छलफल भएको छैन । 

अहिले केरुङमा करिब ८ सय कन्टेनर नेपाल आउने प्रतिक्षामा रोकिएर बसेका छन् । चीनले तातोपानी नाका समेत आइतबारदेखि खोल्न सहमति जनाएको छ । त्यसो हुँदा केरुङमा रोकिएका सामान तातोपानी नाकाबाट भित्रिनसक्ने अवस्था पनि रहन्छ । तर, त्यसरी रुट परिवर्तन गर्दा एउटा कन्टेनरलाई थप डेढ लाख रुपैंया जति खर्च लाग्ने प्रमुख भन्सार अधिकृत खड्काको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप