शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अफगान सरकार र तालिबानीबीचको वार्ता सजिलो काम होइन: तालिबानी प्रवक्ता

बिहीबार, १५ असोज २०७७, १९ : ५१
बिहीबार, १५ असोज २०७७

एजेन्सी । अफगानिस्तानका तालिबानी संगठनका प्रवक्ता मोहम्मद नइम वार्दाकले अफगानिस्तानको सरकार र तालिबानीहरुका बीचको शान्ति वार्ता त्यति सजिलो प्रक्रिया नभएको प्रतिक्रिया दिएका छन् । उनले बिहीबार भनेका छन्– ‘अफगान सरकार र तालिबानबीचको वार्ता त्यति सजिलो प्रक्रिया होइन यसका लागि दुवै तर्फबाट धैर्यता र योगदानको आवश्यकता पर्छ ।’ उनले शान्तिवार्ताका माध्यमबाट अफगानिस्तानमा शान्ति स्थापनाका लागि दुवै पक्षबाट ठूलो योगदानको खाँचो रहेको बताउनुभएको काबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रवक्ता वार्दाकले सम्वाददाताहरुसँग सो बताएको ती समाचारहरुमा जानकारी दिइएको छ ।  उनले वार्ता दोहामा जारी नै रहेको, वार्तामा निकै नै जटिल विषयहरुमा कुराकानी भइरहेको र अहिलेसम्म वार्ता सकारात्मक रहेको पनि बताएका छन् । तर सो वार्ता सकारात्मक रहेको र यसले अफगानिस्तानका लागि राम्रो गर्ने धारणा पनि उनले राख्नुभएको समाचारमा जनाइएको छ ।

सो वार्ता शुरु भएपछि पनि गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेको तालिबानहरुले बताएका थिए । अफगान सरकारले तालिबान–अमेरिकाबीचको सहमतिलाई अघि बढाउने प्रयास गरेको बताएको छ । 

तालिबान–अमेरिकाबीचको विगतको सो सम्झौताले नै वार्ताका लागि ढोका खोलेको थियो । सम्झौता बमोजिम एकअर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरुलाई मुक्त गरिएपछि वार्ता शुरु भएको हो । अफगान सरकार र तालिबानबीच शान्ति वार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर दुबै पक्षबीच वार्ता शुरु भएपनि अफगानिस्तानमा हिंसात्मक घटना भने जारी नै रहेका छन् । उता अफगान शान्तिवार्ताबारे पाकिस्तानी उच्च पदाधिकारीसँग छलफल गर्न अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह पनि केही दिनअघि पाकिस्तान गएका थिए ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार अब्दुल्लाहका साथ उच्चस्तरीय अफगान प्रतिनिधिमण्डल पनि त्यहाँ पुगेको थियो । अब्दुल्लाहले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए । अफगान सरकारका प्रतिधिनिहरुले पनि वार्ता प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराएका थिए । यस वार्ताको मध्यस्थता अमेरिकाले गरिरहेको बताइएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप