शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोसाफमा ७ वटा नेपाली फिल्म प्रदर्शन हुने

बिहीबार, १५ असोज २०७७, १७ : २३
बिहीबार, १५ असोज २०७७

काठमाडौं । कोएलिसन अफ साउथ एशियन फिल्म फेस्टिभल्स (कोसाफ) शनिबारबाट सुरु हुने भएको छ । १७ कार्तिकसम्म चल्ने यस महोत्सवमा ७ वटा नेपाली फिल्म प्रदर्शन हुदैंछन् । कोरोना भाइरस महामारीका कारण भर्चुअल रुपमा फेस्टिभल आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । भर्चुअल रुपमा फेस्टिभलमा सहभागी हुनका लागि कोसाफको आधिकारिक वेबसाइटमा रजिष्टर गर्नुपर्ने छ ।

कोभिड–१९ महामारीका कारण आफ्ना नियमित फेस्टिभल स्थगित गर्नु परेपछि ७ वटा फिल्म फेस्टिभलहरुले सहकार्य गरेर ‘कोसाफ’ आयोजना गर्न लागेको नेपाल–अमेरिका फिल्म फेस्टिभलका फेस्टिभल निर्देशक पूर्णसिंह बराईलीले जानकारी दिए । ‘हामीले विगत वर्षहरुमा आयोजना गर्दै आएको नेपाल–अमेरिका फिल्म फेस्टिभललाई यस वर्ष कोरोना महामारीका कारण निरन्तरता दिन सकेनौं । त्यसैले, यहाँ अन्य प्रतिष्ठित फिल्म फेस्टिभल आयोजकहरुसँग मिलेर  यो फेस्टिभल आयोजना गर्दैछौं ।

यसले हाम्रो दायरालाई फराकिलो बनाएको छ र फरक समुदायबीचको सांस्कृतिक एकतालाई सशक्त बनाउन सहयोग गर्नेछ,’ उनले भने, ‘कोरोना महामारी समाप्त भएलगत्तै हामी आगामी वर्षहरुमा हामी फेरि नेपाल–अमेरिका फिल्म फेस्टिभललाई निरन्तरता दिनेछौं ।’ प्रतिष्ठित फिल्म फेस्टिभलमा ७ वटा नेपाली चलचित्रले प्रदर्शनको मौका पाउनु सुखद् रहेको उनले बताए । ‘यी ७ फिल्ममार्फत हाम्रो उपस्थित दरिलो हुनेछ भन्ने आशा छ । यसपटक नेपाली समुदायमात्रै नभएर अन्य समुदायका व्यक्तिले पनि हाम्रा सिनेमालाई नियाल्ने भएकाले नेपाली चलचित्रको बजारीकरण पनि यो महत्वपूर्ण साबित हुनेछ,’ उनले भने ।

नेपालबाट आमा खाण्डो, बाटो र लाटोकोसेरोेगरी तीनवटा फिचर फिल्म तथा बेयर ट्रीज इन द मिस्ट, जुनुको जुत्ता र सङ अफ क्लाउड्सजस्ता सर्ट फिल्म र मण्डला नामक एनिमेटेड फिल्म प्रदर्शन हुनेछ । तस्विर साउथ एसियन फिल्म, डीसी साउथ एसियन फिल्म फेस्टिभल, सिकागो साउथ एसियन फिल्म फेस्टिभल,माजाइक इन्टरनेशनल साउथ एसियन फिल्म फेस्टिभल, नेपाल अमेरिका फिल्म फेस्टिभल, साउथ एसियन फिल्म फेस्टिभल अफ मोन्टेरियल र भ्यानकोभर इन्टरनेशनल फिल्म फेस्टिभलबीचको सहकार्यबाट ‘कोसाफ’ आयोजना हुन लागेको हो । कोसाफमा कुल ६४ वटा फिल्महरु आयोजना हुने नेपाल अमेरिका फिल्म सोसाइटीका युवाकर राजकर्णिकारले भर्चअुल पत्रकार सम्मेलनमा जानकारी दिए । चर्चित भारतीय अभिनेत्री सबाना आजमीद्धारा निर्मित ‘मी रक्सम’ ओपनिङ नाइट फिल्ममार्फत यस फेस्टिभलको सुरुवात हुनेछ । 

निर्माण टोलीसँग प्रश्नोत्तर, प्यानल डिस्कसन, भारतीय अभिनेत्री तथा निर्देशक नन्दिता दासको मास्टरक्लास लगायत विभिन्न कार्यक्रमहरु पनि फेस्टिभलमा समावेश रहेको नेपाल अमेरिका फिल्म फेस्टिभलकी प्रोग्राम डाइरेक्टर किर्तना बाँस्कोटाले जानकारी दिइन् । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव किरण मरहट्ठाले अन्तर्राष्ट्रिय स्तरका फिल्म फेस्टिभलहरुसँगको सहकार्यमार्फत हुने यस कार्यक्रम नेपालको संस्कृति प्रवद्र्धनका लागि महत्वपूर्ण हुने टिप्पणी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप