बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अबको अर्थमन्त्री को : गौतम, पौडेल कि पाण्डे ?

बिहीबार, १५ असोज २०७७, १६ : ३३
बिहीबार, १५ असोज २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मन्त्रिपरिषद पुनगर्ठनको गृहकार्य जारी छ । नेताहरुबीच मापदण्डका विषयमा सहमति नजुट्दा भदौको अन्तिम साता नै गर्ने भनिएको मन्त्रिपरिषद पुनर्गठनले पार पाउन सकेको छैन ।  बिहीबारमात्रै सरकारले तत्कालिन अर्थमन्त्री समेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेसँगै मुलकको सम्पूर्ण अर्थतन्त्रको हिसाबकिताब राख्ने अर्थमन्त्रालयको नेतृत्व गर्ने अवसर अब कसले पाउला ? भन्ने चासो बढ्न पुगेको छ । 

राष्ट्यिसभा सदस्यको पदावधि सकिएसँगै गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई त्यसको केही दिनमै प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । त्यसपछि धेरैले अर्थमन्त्रालयको जिम्मेवारी कि प्रधानमन्त्री आफैले राख्ने त कि अरौटो राज्यमन्त्री राखेर खतिवडाकै निर्देशनमा अर्थमन्त्रालय चल्छ कि भन्ने अड्कलवाजी गरेका थिए । त्यसैले उनलाई कतिपयले छाया अर्थमन्त्रीका रुपमा बुझ्न थालिसकेका थिए ।

तर, बिहीबारबाट त्यो सम्भावना टरेको छ । किनभने खतिवडा राजदूत हुने लगभग पक्का भैसकेकाले ओली नेतृत्वको सरकारले अर्थमन्त्रालयको जिम्मेवारी कुनै न कुनै नेतालाई दिनुपर्ने भएको छ । त्यतिमात्रै होइन खतिवडाप्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको एक महिना नवित्दै राजदूत नियुक्तिका लागि सरकारको सिफारिसमा पर्ने भाग्यमानी बन्न सफल भएका छन् । खतिवडा अमेरिकी राजदूतका लागि सिफारिस भएसँगै उनीबारे बिभिन्न टिकाटिप्पणी समेत हुन थालेका छन् । कतिपयले उनको नियुक्तिको विषयलाई लिएर लगातार अवसर पाउने व्यक्तिका रुपमा व्याख्या गरिहेका छन् । हुन पनि खतिवडा २०६२–०६३ को परिवर्तन पश्चात लगातार लाभको पद पाउने कमै भाग्यमानी मध्येमा पर्छन् । खतिवडाको नियुक्तिकोे श्रृंखला हेर्दा उनलाई साँच्चै पछिल्लो राजनीतिक परिवर्तन फलिफाप नै भएको पुष्टि हुन्छ । 

तत्कालिन शाही कालमा योजना आयोगको सदस्य बनेका खतिवडा त्यसयता कुनै पनि समय खाली बसेका छैनन् । कुनै न कुनै महत्वपूर्ण नियुक्ति पाएका उनी गणतन्त्रपछि राष्ट्र बैंकको गभर्नर, योजना आयोगको उपाध्यक्ष, राष्ट्रिय सभाको सदस्य, अर्थमन्त्री, राष्ट्रियसभाको कार्यकाल सकिएपछि पनि अर्थमन्त्रीमा पुनर्नियुक्ति, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदै राजदूतमा नियुक्तिका लागि सिफारिस भैसकेका छन् । 

अब को हुन्छ अर्थमन्त्री ?
२०७४ को निर्वाचनमा नेकपाले झण्डै दुईतिहाई बहुमत ल्याएसँगै नेकपाभित्र अर्थमन्त्रीका लागि रस्साकस्सी चलेको थियो । जव २०७५ फागुन ३ गते केपीओली प्रधानमन्त्री बने त्यसपछि त लामो समय राजनीति गरेका धेरै नेताले अर्थमन्त्रीमा मुख मिठ्याउनु स्वभाविक पनि थियो । त्यबेला हालका रक्षामन्त्री ईश्वर पोखरेल रक्षामन्त्री बन्नेमा ढुक्क थिए । तर, सपथ खाने बेलामा उनको मन्त्रालय परिर्वर्तन हुन पुग्यो । त्यसपछि २ बर्षसम्म अर्थमन्त्रीको चर्चा लगभग सेलायो । सरकार बनेको २ बर्ष ६ महिना युवराज खतिवडाले चलाएको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने नेताको खोजी हुँदा खासगरी अहिले नेकपाभित्र तीन जनाको चर्चा छ । 

अर्थमन्त्रालयको जिम्मेवारी पाउने चर्चा भएकाहरुमा नेकपाका उपाध्यक्ष वामदेव गौतमदेखि महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसम्म रहेका छन् ।  गौतम अर्थमन्त्रालयको जिम्मेवारीसहित सरकारमा जाने सोचसहित राष्ट्रियसभाको सदस्य बनेका हुन् । तर उनी राष्ट्रियसभाको सदस्य बनेलगत्तै सर्वोच्मा मुद्दा परेको छ । जसको छिनोफानो भैसकेको छैन । भलै उनले मन्त्री बन्न पाउने सर्वोच्चले फैसला गरेपनि प्रधानमन्त्री ओलीले गौतमप्रति दयाभाव देखाउलान् नै भन्न सक्ने अवस्था छैन । त्यस्तै चर्चामा रहेका अर्का पात्र हुन सुरेन्द्र पाण्डे । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डे नेकपाभित्र अर्थतन्त्रबारे जानकार मानिन्छन् ।

यति हुँदाहुँदै पनि पाण्डेप्रति प्रधानमन्त्री ओली त्यति सकारात्मक छैनन् । खतिवडाको २ बर्षे कार्यकाल सकिएका बेलामा नै पाण्डे अर्थमन्त्री बन्ने चर्चा चलेपनि उनीप्रति प्रधानमन्त्री ओली दाहिना नहुँदा त्यसबेला उनको चर्चा त्यतिकै सेलाएको थियो । पाण्डे नेकपाको आन्तरिक राजनीतिक समिकरणमा बरिष्ठ नेता माधवकुमार नेपाल नजिक मानिन्छन् । सोही आधारमा ओलीले पाण्डेलाई नरुचाएको बालुवाटारमा पहिलादेखि नै गाइगुई नचलेको होइन । 

अब गौतम र पाण्डे दुवै ओलीको रुचाईमा नपरेको खण्डमा महासचिव समेत रहेका विष्णु पौडेलले अर्थमन्त्रलयको चावी बुझ्ने र्निविकल्प पात्रका रुपमा रहेको कतिपयको बुझाई छ ।  तर पौडेल भने आफु सरकारमा जाने नजाने विषयमा मौन जस्तै बसिरहेका छन् । पार्टी विवाद उत्कर्षमा पुग्दा मिलाउने भूमिका खेलेका पौडेल ओलीका विश्वासपात्र नै मानिन्छन् ।

प्रधानमन्त्री ओली पहिलादेखि नै अर्थमन्त्रालयको जिम्मा आफ्ना अत्यन्त विश्वासपात्रलाई मात्रै दिनुपर्छ भन्ने मान्यतामा अडिग छन् । अहिलेको परिस्थितिमा पनि ओलीका लागि गौतम र पाण्डेको तुलनामा पौडेल नै ओलीको विश्वास जित्न सक्ने नेतामा पर्छन् । उता, अर्का अध्यक्ष प्रचण्ड समेत पौडेलको हकमा नरम रहेकाले केही दिनमै पौडेल अर्थमन्त्रीको हैसियतमा सिंहदरवार छिरे आश्चर्य नहुने नेकपाका एक स्थायी समिति सदस्य टिप्पणी गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप