बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा दुई स्थानीय तह सिल

बिहीबार, १५ असोज २०७७, १४ : ५६
बिहीबार, १५ असोज २०७७

बैतडी । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।   मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसँगै असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो ।

मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सिल गरिएको हो ।  यस्तै जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र आठ जना नयाँ सङ्क्रमित थपिएपछि  नगरक्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए ।

सिल भएको अवधिमा स्वास्थ्य बाहेक र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेको दुुवै स्थानीय तहले जनाएका छन् । नगर क्षेत्र सिल गरिएकाले सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहेका छन् ।  यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द रहेको जनाइएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाइएको छ । 

मेलौलीमा हालसम्म ३६ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।  पुर्चौडीमा हालसम्म २० जनामा कोरोना पुष्टि हुँदा आठ जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप