शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रसियाबाट २ करोड ५० लाख कोरोनाविरुद्धको खोप ल्याउनेबारे सरकार बेखबर !

बिहीबार, १५ असोज २०७७, १४ : २६
बिहीबार, १५ असोज २०७७

विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को माहामरी  फैलिरहँदा कोरोना विरुद्धको खोप निर्माण लागि विकसित राष्ट्रहरू बीच प्रतिष्प्रर्धा भइरहेको छ । अल्पविकसित तथा विकाशिल राष्ट्रहरूबीच भने तेस्रो चरण ट्रायल पास नभए पनि खोप भित्र्याउन होडबाजी चलिरहेको छ ।  

यसैबीच नेपालले तेस्रो चरणको ट्रायल सफल भएका कोरोनाभाइरस विरुद्धको खोपको चौथौं चरणको ट्रायलका लागि नेपाल ल्याउन आवश्यक सुझाव दिन स्वास्थ्य सेवा विभागका तत्कालिन बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर श्यामराज उप्रेतीको संयोजकत्व रहेको ५ सदस्यीय कार्यदलले अध्ययन गरिरहेको छ । 

रसियाको स्वायत्त निकाय ‘रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’ले नेपाललाई कोरोनाभाइरसविरुद्धको २ करोड ५० लाख वटा खोप उपलब्ध गराउने कुरा सार्वजनिक भएको छ । रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्डले नेपाललाई उपलब्ध गराउने ‘स्पुटनिक भी’ खोप ९० प्रतिशत नेपालीलाई लगाउन पुग्ने कुरा सार्वजनिक भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अनविज्ञता प्रकट गरेको छ । 

रसियाबाट नेपालमा कोरोना विरुद्धको खोप ल्याउनेबारे आफूलाई थाहा नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताए । नेपालका कुनै पनि खोप ल्याउनुभन्दा अगाडि अध्ययन अनुसन्धान गरेर मात्रै ल्याइने उनको भनाइ छ । 

कोरोनाभाइरस विरुद्धको खोप वा अन्य कुनै खोप नेपाल ल्याउनका लागि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् र औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने उनी बताउँछन् । रसियाको स्वायत्त निकाय ‘रसिया डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड’ले नेपाललाई दिने भनिएको खोपको औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले स्वीकृति दिनुपर्छ, जुन अहिलेसम्म स्वीकृत भएको छैन । 

नेपालमा कुनै पनि खोप तथा औषधि प्रयोगमा ल्याउनुभन्दा अगाडि  औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन तथा अनुसन्धान गर्नुपर्छ । ‘स्पुटनिक भी’को पहिलो र दोस्रो चरणमा क्लिनिकल परीक्षण सफल भएको  भनिए पनि  तेस्रो चरणको परीक्षण जारी छ । तेस्रो चरणको खोप परीक्षणमा प्रतिरोधात्मक क्षमता कमजोर भएका, वृद्धवृद्धा, रोगी व्यक्तिहरूलाई खोप दिइने कुरा सार्वजनिक भएको छ । 

रसियाको सरकारी अनुसन्धान संस्था गमालिया नेशनल रिसर्च इन्स्टीच्यूट अफ इपिडिमिओजी एण्ड माइक्रोबायोलोजिले विकास गरेको सो खोपको निकै चर्चा भएपछि  विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । 

 सो खोपको तेस्रो चरणको ट्रायलले सही नतिजा दिएमा खोपलाई चौथो चरणको ट्रायलका लागि मात्रै सरकारले प्रक्रिया अगाडि बढाउन सक्ने कोरोना विरुद्धको खोपको विश्वव्यापी अवस्थाका बारेमा सुझाव दिने समितिका एक सदस्यले बताए । 

सरकारको स्वीकृति बिना ट्रायल पास नभएका कुनै खोप पनि नेपाल ल्याउन पाइँदैन । अहिले कोरोनाविरुद्धको खोप कसरी प्राप्त गर्ने भन्ने बारेमा नै अध्ययन भइरहेको कार्यदलका ती सदस्यको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप