शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाउँपालिकाको कृषि कार्यक्रममा लाखौं अनियमितता !

बिहीबार, १५ असोज २०७७, १३ : ०४
बिहीबार, १५ असोज २०७७

गुल्मी । स्थानीय तहमा कसरी सरकारी रकम दुरुपयोग हुन्छ भन्ने बुझ्नका लागि गुल्मीको ईस्मा गाउँपालिकामा किसानका लागि सञ्चालित केही कार्यक्रम गतिलो उदाहरण बनेका छन् । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण विदेशबाट रोजगारी गुमाई फर्किएका युवा र स्थानीय कृषकहरुलाई विशेष राहत दिलाउने उद्देश्यका साथ प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहलाई प्रदेश सरकारले कोभिड–१९ विशेष कार्यक्रम ल्याएको थियो ।

सोही अनु्रुप ईस्मा गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत प्रदेश सरकार, भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट ४६ लाख  ५० हजार रुपैयाँ प्राप्त गरेको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतका अनुसार विनियोजित बजेटबाट समूहलाई बिउबिजन उत्पादन कार्यक्रममा ६ लाख ५० हजार रुपैयाँ छुट्याइएको थियो । गाउँपालिकाले आवेदन माग गरे पनि आवेदन नपरेका कारण उक्त रकम फ्रिज हुने भयो । बाँकी ४० लाखमध्ये २० लाख रुपैयाँ कुखरा, बाख्रा र मौरीपालनका लागि र २० लाख रुपैयाँ तरकारी खेतीका लागि छुट्याईयो ।

तरकारी खेतीका लागि सय जना कृषकलाई प्रतिकृषक २० हजार रुपैयाँ बराबरको कार्यक्रम दिनुपर्नेमा सो गाउँपालिकाका कृषि शाखा प्रमुख यज्ञश्वर भारतीले तरकारी खेतीका लागि टनेल लगायतका सामग्री खरिदमा मोटो रकम कमिशन खाएको चर्चापछि अहिले गाउँपालिकाले छानविन समिति गठन गरेको छ । वडा नम्वर ५ का वडाध्यक्ष कलानिधी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरि स्थलगत अध्ययन एवं आवश्यक छानविन थालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत महतले जानकारी दिए ।

कृषि शाखा प्रमुख भारतीले कोभिड १९ विशेष कृषि कार्यक्रममा भ्रष्टाचार गरेको पाईएको ईस्मा गाउँपालिका वडा नम्वर ३ दर्लामचौरका वडाध्यक्ष तोयनाथ शर्मा बताउँछन् । वडा नम्बर ४ दोहलीका वडाध्यक्ष गनुप्रसाद अधिकारीले भारती आफैले सबै रकम कुम्ल्याउन खोजेको हो वा सेटिङमा परिचालित भएका हुन् भन्नेबारे छानविन समितिको प्रतिवेदन आएपछि प्रष्ट हुने बताए ।

१४ हजारमै टार्न खोजेपछि ..
सबै वडामा गरि सय जना कृषकहरुलाई प्रति कृषक दु्ई–दुई थान प्लास्टिक टनेल, दुई–दुई थान थोपा सिंचाई सेट, औषधि छर्ने हजारी, बन्दा काउली र फूल काउलीको बिउ, स्प्रे, गोलभेडाको बिउ, विषादी लगायतका कृषि सामग्री खरिद गरेर भारतीले वितरण गरेका थिए ।

भारतीले देखाएकै खरिद मूल्य जोड्दा पनि ढुवानी ५ सय, करकट्टी ३ सयसहित सम्पूर्ण कृषि सामग्रीको प्रति कृषक मूल्य १६ हजार २ सय ७० रुपैयाँ पर्दछ । त्यसमा पनि उनले हरेक कृषकबाट ५ सय रुपैयाँ ढुवानी खर्च लिएका छन्, जसको आधारमा सय जना कृषकबाट उनले ५० हजार रुपैयाँ असुलेका छन् । जबकि ढुवानीमा ५० हजार रकम खर्च हुनै नसक्ने जानकारहरु बताउँछन् ।

कृषि शाखा प्रमुख भारतीको टिम कोभिड–१९ विशेष कृषि कार्यक्रमको सामग्री वितरण गर्न ईस्मा गाउँपालिका वडा नम्वर १ मा पुग्यो । उक्त कार्यक्रममा छनौट भएका हस्तीचौरका देवीराम घिमिरेसहित वडाका १६ जनालाई तरकारी खेती विशेष कृषि सामग्री वितरण गरियो । पहिल्यैदेखि तरकारी खेती गरेकाले घिमिरेलाई ती सामग्री के कतिमा पाइन्छ भन्ने राम्रो जानकारी थियो ।

त्यसका अलावा भारतीले सामान खरिद गरेको तम्घास, पुतलीबजारस्थित गाउँले किसान भेट सञ्चालक महेन्द्र पोख्रेललाई फोन गरेर घिमिरेले सोधपुछ गरे । त्यसपछि मात्र भारतीले कृषि सामग्री खरिदमा अनियमितता गरेको तथ्य प्रकाशमा आएको हो ।

अनियमितताको रहस्योद्घाटन भएपछि भारतीले टोल–टोल र घर–घरमा पुगेर रकम फिर्ता गर्न थाले । प्रति कृषक ३ हजार ७ सय ३० रुपैयाँका दरले भदौ २७ गते भारतीले वडा नम्वर १ का कृषकहरुलाई रकम फिर्ता गरेको कृषक देवीराम घिमिरे बताउँछन् ।

एक थान सामान मै ६ सय रुपैयाँ कमिशन
भारतीले खरिद गरेर कृषकलाई वितरण गरेका कृषि सामग्रीमध्ये ९० जिएसएमको ६ बाई १० वर्ग मिटरको प्लाष्टिक टनेलको मूल्य प्रतिगोटा ३४ सय रुपैयाँ पर्ने एग्रोभेट ब्यवसायी यज्ञराज पन्थी बताउँछन् । तर भारतीले उक्त टनेलको प्रतिगोटा मूल्य ३६ सय रुपैयाँ उल्लेख गरेका छन् ।

उनले ५० लिटर क्षमताको प्लाष्टिक थोपा सिंचाई सेट २४ सय रुपैयाँमा पाईन्छ । जबकि भारतीले त्यो सेटको खरिदमूल्य प्रतिगोटा ३ हजार रुपैयाँ उल्लेख गरेका छन् । जसअनुसार उनले एउटै थोपा सिंचाई सेटमा ६ सय रुपैयाँ कमिशन खाने चाँजो मिलाएका छन् ।

अनुदान रकमबाट कृषकले आफ्नो आवश्यकताअनुसारका कृषि सामग्री खरिद गर्न पाउने भए पनि भारतीले आफ्नै स्वार्थ अनुसार सबैलाई एकै प्रकारको सामग्री वितरण गरेका छन्, जसका कारण कतिपय कृषकले आफूसँग यसअघि नै उपलब्ध सामग्रीसमेत अनावश्यक रुपमा लिनु परेको छ भने कतिपय आवश्यक सामग्रीको अभाव झेल्नु परेको छ ।

सोही कार्यक्रम अन्तर्गत ईस्मा गाउँपालिकाको पशु सेवाले वितरण गरेको कुखरा, बाख्रा र मौरीपालन कार्यक्रममा भने यस प्रकारको अनियमितता नभएको ईस्मा–१, उजुङ्ग गाउँका कृषक भुपाल ज्ञवाली बताउँछन् । 
ईस्मा गाउँपालिका वडा नम्बर २ का किसानलाई सो वडाले गाउँपालिका कृषि शाखाद्वारा खरिद गरिएको सामग्री लिन नलगाई किसान स्वयंलाई नै बजेटको परिधिभित्र रहेर आवश्यकता अनुसारका सामान खरिद गर्न लगाईएको वडाध्यक्ष टिका रेश्मी बताउँछन् ।

तर गाउँपालिकाको कृषि शाखा प्रमुख भारतीले खरिद गर्दा ९० जिसिएम १० बाई ६ वर्ग मिटरको टनेलको मूल्य ३६ सय रुपैयाँ परेको छ भने सोही प्लाष्टिक टनेल वडा नम्वर २ का कृषकहरुलाई बिक्री गर्दा ४७ सय रुपैयाँको बिल बनाइएको छ ।

कृषकलाई बजेटको सिलिङभित्र रहेर आवश्यकताअनुसारका सामान खरिदमा छुट दिइए पनि विक्रेतासँगको मिलेमतोमा हरेक सामानको मूल्य बढाएर बिल बनाउन लगाइ अनियमितता भएको पाइएको छ ।
तम्घास मिलनचोकका मिलन एग्रेभेट सेन्टरका सञ्चालक यज्ञप्रसाद पन्थीले एउटै सामानमा कृषि शाखा प्रमुख भारतीलाई बनाएको बिल र वडा नम्बर २ का किसानलाई बनाएको बिलमा निकै ठूलो भिन्नता पाइएको हो ।
कमल कुँवरको नाममा मिलन एग्रोभेटले प्लास्टिक टनेलको मूल्य ४ हजार ५ सय रुपैयाँ राखेर बिल बनाएको छ भने गाउँले किसान भेट सेन्टरले ३ हजार ६ सयमा बेच्ने गरेको थोपा सिंचाईलाई मिलन एग्रोभेटले ४ हजार रुपैयाँ मूल्य तोकेको छ । 

मिलन एग्रोभेट सञ्चालक पन्थीलाई मूल्यमा देखिएको भिन्नताबारे प्रश्न गर्दा आफूले बिलमात्र बनाइदिएको बताउँछन् । ‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा किसानहरु मसँग जोडिएको हुँदा गाउँपालिाकाबाट पाउने कार्यक्रमबाट लाभ उठाउन् भन्नका लागि बिल मात्रै बनाईदिएको हो, त्यो सामान मैले बेचेको होइन,’ उनले भने ।
तर ईस्मा गाउँपालिका वडा नम्वर २ छल्दीटारकी गिता घिमिरेले मिलन एग्रेभेटबाटै ४७ सय रुपैयाँमा प्लाष्टिक टनेल खरिद गरि ल्याएको बताएकी छन् । त्यस वडाबाट कोभिड १९ कृषि विशेष कार्यक्रममा परेका अधिकांश किसानहरुले वडा कार्यालयबाटै कृषि सामग्री बुझेको बताएका छन् ।

अनियमितताको सञ्जाल ठूलै
कृषि शाखा प्रमुख भारतीले कृषि सामग्री खरिदमा कमिशन असुलेको तथ्य प्रकाशमा आए पनि अनियमितताको सञ्जाल यतिमा मात्र सीमित छैन । 
आर्थिक वर्षको अन्त्यमा अर्थात् असार मसान्तको मुखमा त्यस कार्यक्रमको सामग्री खरिद नै नगरी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले के आधारमा भारतीको खातामा २० लाख रुपैयाँ राखिदिए भन्ने प्रश्न उठेको छ । भारतीले कागजी प्रकृया पुरा गरेपछि उनको ब्यक्तिगत खातामा २० लाख रकम राखिएको थियो । भारतीले बैंक अफ काठमाडौंमा रहेको आफ्नो खाताबाट रकम निकालेर भदौ महिनामा गाउँले किशान भेट सेन्टरका सञ्चालकलाई ८ लाख रुपैयाँको चेक दिएको पाईएको छ । असोज महिनामा थप रकमसहित जम्मा १२ लाख १० हजार १ सय रुपैयाँ गाउँले किसान भेट सेन्टरलाई बुझाएको भारतीले बताएका छन् ।

कागती खेतीमा पनि चरम् अनियमितता
गत आर्थिक वर्षमा कागती खेती प्रवर्द्धन कार्यक्रममा पनि अनियमितता भएको पाईएको छ । २२ लाख  ५० हजार बजेटको उक्त कार्यक्रम अन्तर्गत कृषि शाखा प्रमुख यज्ञश्वर भारतीले नै सल्यान जिल्लाबाट कागतीका बिरुवा खरिद गरेर ल्याएका थिए ।

विभिन्न वडामा कागतीको बिरुवा लगाईयो । अनुगमन गर्नेहरुले दिनको ५२ सय रुपैयाँसम्म भत्ता लिए । तर मापदण्ड अनुसार काम नभएको आशंकामा अहिले त्यस कार्यक्रमको पनि छानविन हुँदैछ ।
छानविन समितिका संयोजक तथा ईस्मा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कलानिधी भण्डारीका अनुसार कागती खेती प्रवर्द्धन कार्यक्रममा पनि छानविन समितिले अनियमितता पाएको छ ।

कृषि क्षेत्रमा यसरी हुन गएको अनियमितताका बारेमा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको प्रतिक्रिया माग्दा उनले छानविन समितिको प्रतिवेदन पेश नभएसम्म आफूले केही भन्न नमिल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप