शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक दरबारहरु उठ्ने तरखरमा

बुधबार, १४ असोज २०७७, १४ : ४६
बुधबार, १४ असोज २०७७

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरु यतिबेला उठने तरखरमा छन् । दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलिकरण विधिमार्फत पुननिर्माणको काम भइराखेको हो । 

२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवन सहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन । दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रबलिकरण विधिमार्फत पुननिर्माण गरिरहेको छ ।

प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिना भित्रमा सम्पन्न हुनेछ । यो भवनको पुनर्निर्माणको काम सम्पन्न भएपनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षा लागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ । त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुननिर्माणले पनि तिब्रता पाएको छ ।

यो भवन पनि प्रबलिकरण विधिमार्फत पुनर्निर्माण भइराखेको हो । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरि पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताए । यो भवनको कूल लागत भ्याटबाहेक ५० करोड रुपैयाँ छ भने हालसम्म ३५ प्रतिशत प्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गते भित्रमा सम्पन्न हुनेछ ।

त्यस्तै काठमाडौंको केशरमहल दरबारको पुनर्निर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ । भ्याट बाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुननिर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गते भित्रमा सम्पन्न हुनुपर्नेछ । बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले बताए । यो दरबारको कूल लागत भ्याटबाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुनर्निर्माण २०७८ असार मसान्त सम्ममा सम्पन्न भइसक्नुपर्नेछ । यस्तै बालमन्दिरको पुनर्निमाणमा पनि १५ प्रतिशत प्रगति भएको छ । भ्याट बाहेक कूल ५५ करोड रुपैयाँ लागतमा पुनर्निमाण भइरहेको यो दरबार २०७८ मंसीर मसान्त सम्ममा सम्पन्न हुनेछ ।

चारवटै दरबारको पुनर्निमाण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नविग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ । सुर्कि, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए । पुनर्निमाणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभूत हुने गरी प्रबलिकरणको काम भइरहेको पनि विश्वकर्माले बताए ।

पुरानै शैली, पुरानै निर्माण सामग्री, पुरानै पद्धति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’ भन्ने सिद्धान्तबाट पुनर्निमाणको काम भइरहेको उनले बताए । तर सिंहदरबारको पूर्वी मोहडाको पुनर्निमाणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ । यसअघि २०३० सालमा आगलागीबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग भई गरिएको थियो । त्यसैले अहिले पनि पर्खालको भित्र र बाहिर ज्याकेटिङ प्रविधिमार्फत बाँधेर प्रबलिकरण गरिएको उनले बताए ।

दरबारहरुको पूननिर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड–१९ का कारण चुनौति थपिएको छ । निर्माण सामग्रीको नियमति आपूर्ति श्रृङ्खलामा असर परेको र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विशवकर्माको भनाई छ । यसबाहेक कोभिड कै कारण दक्ष कालिगढहरुको समेत अभाव भएको छ । तर पनि कालिगढहरुलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भएपनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप