केन्द्रीय संस्करण

२३ सयभन्दा बढी आर्मेनियाली सेना मारिएको अजरबैजानको दाबी

person explore access_timeअसोज १४, २०७७ chat_bubble_outline0

बाकु । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा २ हजार ३०० भन्दा बढी सैनिकहरु हताहत भएको अजरबैजानको रक्षा मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख छ । साथै १३० वटा ट्याँक र अन्य बख्तरबन्द गाडी, २०० भन्दा बढी आर्टिलरी, क्षेप्यास्त्र र मोर्टार लन्चर, झण्डै २५ वटा हवाई प्रतिरक्षा प्रणाली, छ वटा कमान्ड पोस्ट, पाँच वटा हातहतियार भण्डार समेतका सैनिक बन्तोबस्तीका सामानमा क्षति पुगेको रक्षा मन्त्रालयले जनाएको छ । 

आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको सङ्घर्षमा आफ्ना ३९ जनाभन्दा बढी लडाकू मारिएको बताएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिनदेखि भीषण सैनिक कारबाही शुरु गरेको छ । 

विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् । यो सङ्घर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ । 

पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको शुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर सङ्घर्ष हुँदै आएको छ । यस वर्षको शुरुमा र सन् २०१६ मा पनि लडाइँ भएको थियो । अजरबैजानको रक्षा मन्त्रालयले भनेको छ, “अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकू विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।” 

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजान सेनाले भारी तोपको प्रयोग गरेर विद्रोहीका ठेगानाहरुमा आक्रमण गरिरहेको जनाएका छन्, जबकि अजरबैजानको रक्षा मन्त्रालयले टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ । 

गत साता आइतबारदेखि लडाइँ शुरु हुनुमा दुवै पक्षले एक अर्कामाथि दोष देखाएका छन् ।  मुस्लिम–बहुल अजरबैजान र ईसाई–बहुल आर्मेनियाबीचको लडाईले रुस र टर्कीबीच मतभेद निम्त्याउने सम्भावना पनि छ । आर्मेनियासँग रुसको सैन्य गठबन्धन रहँदै आएको छ भने मुस्लिम–बहुल अजरबैजानलाई टर्कीले समर्थन गरेको छ । 

आर्मेनियाले हिंसात्मक द्वन्द्व बढाउन टर्कीले भूमिका खेलिरहेको र सैन्य सल्लाहकार पठाएको आरोप लगाएको छ । 

फ्रान्स, जर्मनी, इटली, संयुक्तराज्य अमेरिका, युरोपियन युनियन र रसियाले दुबै पक्षलाई युद्धविरामका लागि आग्रह गरेका छन् । आर्मेनिया र काराबाखले आइतबार सैनिक कानून र सैनिक परिचालन घोषणा गरेका छन् भने अजरबैजानले ठूला शहरहरूमा सैन्य शासन र कफ्र्यू लगाइएको घोषणा गरेको छ ।

आर्मेनियाका जातीय अल्पसंख्यक पृथकतावादी समूहले सन् १९९० को दशकको शुरुमा अजरबैजानबाट नागोर्नी काराबाख क्षेत्रलाई स्वतन्त्र बनाएका थिए । यसक्रममा करिब ३० हजारको ज्यान समेत गएको थियो । 

दुबै पक्षबीच सन् १९९४ मा युद्धविराम भएको थियो । फ्रान्स, रसिया र संयुक्तराज्य अमेरिकाले “मिन्स्क समूह” बैठकबाट स्थायी शान्तिका लागि मध्यस्थता प्रयास गरेका थिए तर शान्ति सम्झौतामा सन् २०१० मा धक्का लाग्यो । नागोर्नी काराबाख क्षेत्रमा अजरबैजान र आर्मेनियाले आआफ्नो बर्चश्व कायम राख्न प्रयास गरिरहेका छन् । –एएफपी
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.