शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : धुवाँ

बुधबार, १४ असोज २०७७, १३ : ४३
बुधबार, १४ असोज २०७७

अनियन्त्रित साँझ... । मानिसको समूह एउटा बस्तीको कुनामा जम्मा भएका थिए । गोधुली साँझमा बस्तीका मानिस बास बस्न हतारिँदै थिए । अस्ताउन आँटेको घामका किरण धमिला हुँदै थिए । धर्तीले बिस्तारै जुनलाई स्वागत गर्न आतुर थियो । मानिस विचार सून्य थिए । बस्तीको एकान्तमा कुरूप नारीको ठूलो आवाजले एकाएक ती मान्छेको एकाग्रता भङ्ग भयो । “मारे मेरो लोग्नेलाई मारे । यो समाज, यो देश र यहाँका मान्छेले मारे । मलाई पनि मारे ।” भन्दै मान्छेको भिड हटाउँदै चिच्याउन थालिन् । मान्छेहरू मुखामुख गर्न थाले । बोली कसैको फुटेको थिएन । सबैजसो अलमल्लमा परेका थिए । अचानक पुलिसको गाडी साइरन बजाउँदै आयो । सबैको ध्यान पुलिसको गाडीतर्फ गयो । भिड हटाउँदै एक हूल पुलिस अघि बड्दै गर्दा ती नारीले रोक्न खोजिन, तर अहँ सकिनन् । एउटा मान्छेको आकृति भएतिर भिड पातलिँदै जाँदै थियो । माटाका घर, घरका पछाडि लत्ता कपडा झुण्डिएका थिए । गुम्बाका ध्वाजाझैँ हावामा फर्फराई रहेका थिए । खमारीको रूखमा झुण्डिएको मान्छेले वातावरणलाई सून्य त स्तब्ध बनाएको थियो । पुलिसहरू त्यही मान्छे नजिकै गएर नियाल्न थाले । साँझमा चिसो हावाले बिस्तरै छुँदै जाँदै थियो । सबैका मुटु ढक्क फुलेको थियो । कसैले चिनेजानेको कुरा गरेनन् । भिडबाट एक जाना बोले । ‘अस्ती भर्खर मात्रा मैले यो मान्छेलाई बस्तीमा देखेको । आज झुण्डिएछ । बिचरा ! दुःखै लुकायो । बौलाहझैँ लाग्थो । एक्लै बोल्थ्यो... । पुलिसको सोधपुछ सुरु भयो । कुरूप नारीको लोग्ने रहेछ । एकै छिनमा ती नारी पनि भिडबाट बिलिन भइन । लासलाई पोस्टमार्टमको लागि लगियो । 
लासको खोजीबाट कागजमा लेखिएको यो कहानी... यहाँहरू माझ बाँड्दै छु । यस्तो छ कहानी... ।

एउटा पातलो सिरक घुँडादेखि खुट्टासम्म लत्रेको थियो । तकियाको आड लागेर कोठाको भित्तामा टोलाइरहेका थिए । जीवनका रेखा अनुहारमा सलबलाइरहेका थिए । हातका नसा पातलो छालाबाट प्रष्टै देखिन्थे । गम्भीर प्रतिमा जस्तो मौन सालिकझैँ लाग्ने उनको आकृति भित्तामा धमिलो थियो । बत्तीको प्रकाश मधुरो थियो तर उनको अनुहारमा भने चमक पट्क्कै थिएन । म ढोकामै ठिङ्ग उभिएको थिए । म उभिएको देखेर भाइको छोरी ओठमा हासो बटुल्दै दगुरेरे मेरो छेउमा आइन् । मैले खोजीबाट दुईवटा केक पप निकालेर दिँदै बोले “यो तिम्रा लागि हो, अर्काे बहिनीलाई दिनु ।” उनको खुसीले भरिएको अनुहारमा सुन्दरताको लेप पोखियो । फनक्क फर्किन र ठूलो बा !! भनिन् । मेरो हल्लिरहेको दृष्टि एकाएक भङ्ग भयो । कौतूहलपूर्व हतारहतारमा नै मेरो परिचय दिए र गोडामा शिर राखेँ । म हडबडाउँदै भित्तामा अडेस लागेर उभिएँ । दसैँको बेला थियो । रमझम खासै थिएन । देशले शान्ति र सुव्यवस्थाको कायम गर्न सकिरहेको थिएन । देश के भन्नु संसार नै आतिएको थियो । वर्षाैंपछि बल्ल भेट हुँदा भक्कानिँदो रहेछ मन । हर्षले शरीर फुलेको थियो । गमपक्क परेर मैले मेरो धर्म निभाएँ । 

उहाँले मेरो परिचय पाएपछि भित्ताबाट आफ्नो शरीर तनक्क तन्काएर अनुहारलाई आपतिजनक भाव दिँदै बोल्न थाले– के कामले आइस ? उनको असाहय बोलीले मेरो कान चिर्रियो । लत्रेको सिरक कुममा राख्दै थपेँ– मेरो चेतना र धर्म भत्काउन फेरि किन आइस ? थर्थरिँदै गरेका ओठ कलँेटी परेका थिए । 

म बस्न खोज्दै थिए । तर बसेको भने थिइन । उनको तिखो प्रहारले मेरो सास रोकियो । बस्ने आँटै गरिन । बस् भनेर मर्जी पनि भएको थिएन । रवाफिलो स्वरमा फेरि थपेँ– यहाँबाट जा । गइहाल । म फिक्का हँुदै बिस्तारै सास भित्र बाहिर लिँदै थिए । मसँग  अतित र वर्तमानको अस्तित्वमा मौनताभन्दा अरू केही बाँकी थिएन । बाँकी थियो त, एउटा खाली सम्बन्ध, रित्तो सम्बन्ध, फुटेको सम्बन्ध अनि समाप्तिको तीतो सम्बन्ध । मौनताले सबै कुरा बोल्छ भन्छन् । म न्यानोपन खोज्दै थिएँ । अहं, स्नेह पट्क्कै थिएन । सम्बन्धले म छोरा अनि उहाँ मेरो बाउ । विगतको तीतो समय सँगै सकिँदै जानुपर्ने हो तर समय झन् बलियो भएर उभियो । सायद बाबु छोरा बीच समझदारी भएको थिएन होला । मैले बुझ्न सकिनँ । म यात्रा बदल्न सक्दिन थिएँ । यात्रा बदल्नु भनेको दुर्घटना थियो । फेरि मैले उहाँको मन नै भाँचिने गरी त्यस्तो केही काम गरेको पनि थिइन । म जुन कुरा सोचेर गएको थिएँ । परिस्थिति ठीक उल्टो भइदियो । मैले भेटिन सम्बन्धका चिनाहरू, छोराले बाऊ भेटेनन् । एकपछि अर्काे गर्दै झटारो थाप्लोमा असिनाझैँ बर्सिन थालो । गल्ती मेरो विवाह र नास्तिकवादी थियो । खानदान, कुलघराना मिलेन रे अझ ! जातको कुराले गर्दा घर निकाला गरिदिनु भएको थियो । हिन्दु संस्कार र परम्पराको गहिरो मर्यादामा हुनुहुन्थ्यो । म अलिक आधुनिक र भौतिकवादी थिएँ ।  हुन त म बिहे नगरे पनि यो घर छोड्न सक्थेँ । तर मेरा लागि यो घर मात्रा थिएन, मेरो हृदयको खुसी, बालपनका याद र ममतामयी आमा पनि हुनुहुन्थ्यो । मैले त्यसो गर्न चाहिनँ । विवाह बहाना बनेर आयो र म गलत्यिएँ । मेरो मुखले पानीको आशा गरिरहेको थियो । ओठ सुकेर फुस्रिएका थिए । शालीन र शान्त भावमा शब्दहरू बाहिर निस्के । जसरी बिहानीको घामको किरण न्यानो हुन्छ अनि क्रमशः दिउँसो हुँदै जाँदा त्यही घामले हामीलाई पोल्छ हैन र ? फेरि साँझ पर्दै जाँदा त्यही घाम फेरि हराउँछ । अनि आशाको नौलौ सपना बोकेर भोलिको प्रतीक्षामा बस्छौँ । थाहा छ बुबा...! भोलि हुन्छ कि हुँदैन कसैलाई थाहा छैन ।

यस्तै हो हाम्रो जीवन, हैन र ? फेरि यो घमण्ड केको लागि ? मैले त हजुरबाट थोरै मुस्कान र सामीप्य मागेको मात्रा त थिएँ । त्यति त मेरो हक बन्नुपर्ने होइन र ? बुबा ! म वर्षाैंदेखि एक दम गह्रुँगो भारी बोकेर हिँडिरहेको छु । छटपटी र निराशले सास फेर्न गार्हाे भइरेको छ । यसबाट पन्छिने कैयौँ कोसिस पनि नगरेको होइन तर विवस र लाचार भएर आफ्नै मुटुले अकल्पनीय रूपले निमोटन सुरु गर्दैछ बिस्तारै बिस्तरै । म के गरूँ...? मेरो आँखा आगाडि परिवार र हजुरको मात्रा तस्बिर फनफनी घुम्छ त म के गरूँ ? यसबाट बच्न एउटा भित्ताको कुनामा लुकेर, आफूले आफैलाई छलेर निष्कपटक अन्धकारमा घण्टौँसम्म बस्दा पनि स्वयंमा म कोही होइन जस्तो लाग्छ । दृष्टि वरिपरि घुम्छ तर म फगत एक्लो पाउँछु । के म हजुरको सन्तान होइन र ? सन्तान शब्दले उहाँलाई घोचेछ । बसेको ठाउँबाट उठ्न खोज्नुभयो । एउटा हातले भित्तामा अडेस लगाएर उठ्दै गर्दा फेरि थचक्क बस्नुभयो । मैले छेउमै गएर उठान खोजे । मेरा हातहरू अघि बड्न नपाउँदै ठूलो स्वरमा कराउनु भयो । नछो, नछो मलाई । कुजातमा लतपतिएको तेरो शरीर मेरो घरबाट बाहिर निकालिहाल । बाउको ठूलो आवाज आमाको कानसम्म पुगेछ । आमा किचनबाट दगुरेर आउनु भयो । भक्कानिएर आमालाई गल्याम्म अँगालँेछु ।

आमाले असहज महसुस गर्नु भयो । धमिलिएका आँखा कति बेला रसाए, पत्तै पाइन । ओठ बर्बराउन थाले । आमाले मायाको भाव देखाउनुभयो । आमा मलाई थाहा छ, गल्ती भयो तर पनि सन्तान त हो नि ? के मेरो माया लाग्दैन बाबालाई ? छटपटी र रन्थनिएको मुटु बोकेर कतिन्जेल बाचुँ ? म स्वतन्त्र छैन, पटक्कै छैन । किनकि मेरा जीवनका रेखा र बाटाहरू अलगअलग भएर छुट्टिँदैछन् । मेरो आनन्द र मेरो सुख यी मान्छेहरूले खोसी रहेछन् । यो समाज र यी मान्छेहरूले मलाई लुछिरहेका छन् । यो कमजोर र अस्तित्वविहीन परिचयले म किचिएको छु । मेरा सपना सुन्दर थिए तर थाहा छ आमा ? भविष्य र यथार्थदेखि एकदम डर लागिरहेछ । ठूलो भएर संसारलाई चिनाउँछु भन्थेँ । ठूलो हुनु भनेको त बोझ हुनु रहेछ । मेरो चेतना नै मेरा लागि बोझ भइरहेको छ यति बेला । म मर्न पनि सक्दिनँ । त्यसो गर्नु कायरता र हीनताबोधक पनि हो । यति कलिलो उमेरमा जिम्मेवार बिर्सेर बौलाउन पनि सक्दिनँ । म बग्न चाहन्छु खोला झैँ । सबै बिर्सिएर । मेरो अवस्था यस्तै हुँदै गयो भने म बौला हुन सक्छु आमा । भत्किन सक्छु ।

त्यस्तो भयो भने जीवनको बोझले आफूले आफैलाई समाप्ति गर्छु । त्यो परम शान्तिमा लिन हुन्छु । समाप्तिको कुरा सकिन नपाउँदै आमाले मुख थुिनदिनु भयो । एकोहोरो मलाई हेर्दै गर्दा अनुहरामा मलिन भावहरू प्रकट भए । जुरूक्क उठेरभित्र जानुभयो । मेरो आँखाहरू झ्याल बाहिरको सुन्दरतामा टोलाइरहे । म सँगै हुर्किएको कुकुरले मलाई टुलुटुलु हेर्दै थियो । मेरो अभावको महसुस गर्याे क्यारे । कति भाग्यमानी रहेछ मन मनै भने । कम्तीमा परिवारसँग त बसेको छेस् । म फगत पागल । यस्तै छ मेरो हाल । नसोध मेरो कहानी । सायद मेरो भाव बुझेछ क्यारे, पुच्छर हल्लाउँदै मेरो नजरबाट विलिन भयो । म पनि हराइदिएँ यो घरबाट । आकाशबाट बर्सेको पानीले बिदाइ गर्दै थियो । पानीसँगै मेरो आँसुको थोपा पनि मिसिएर बगे । मनमा अनेकथरि कुरा आइरहे । समाज, मान्छे र जातको कुराले बाउ र छोराको सम्बन्ध नै टुक्रियो । मेरो बुझाइ जात सृष्टिकर्ताले बनाएको होइन, समाजले बनाएको हो, यसको इतिश्री समाजबाटै हुनुपर्छ । हामी जस्ता वर्गले समाजमा क्रान्ति गर्नुपर्छ । मेरो बुबा आदर्श र चिन्तनवादी थिए । आदर्शका मालिकहरू व्यवहारका दास हुँदा रहेछन् । मेरो विश्वास डुब्यो । मेरो भरोसा टुट्यो । अब त घर सम्झिँदा पनि डर लाग्छ । त्यो घर मेरा लागि घर होइन । भौतिक सुविधाले कहाँ मानिस सम्पन्न छ र ? सत्यता र सुन्दरता खोज्दै दुनियाँमा घुमेँ तर आफूभित्र सत्यता चिन्ने क्षमता र सकारात्मक दृष्टिकोण कहीँ भेटिन । म मौसम र समयसँगै बग्न थाले । चाहेर पनि आफूले आफूलाई रोक्न सकिनँ  । 

समय र म आफ्नै गतिमा दौडिन थाल्यौँ । समयले जित्दै गयो, म हार्दै गए । अनन्त ड्ग्समा आएर जीवन रोकियो । सुरुसुरुमा सिग्रेट मात्रा तान्थे । बिस्तारै बिस्तारै इन्जेक्सन पनि हान्न थाले । एक्लोपनलाई बिर्सन, जीवनका रङ्गहरूलाई फर्काउन नसा मेरा लागि सबैभन्दा प्रिय चिज बन्दै गयो । पीडाहरू हिंस्रक जनवारझँै आएर चिथोर्थेर जान्थे । म मौन संवाद गर्थे । फगत एक्लै हुन्थे । दिनरात नसाको खोजीमा भौतारिँदै गर्दा अर्काे पनि दिन छ भनेर बिर्सेन्थे । विचरा मेरो जीवनका रहर अनि सपना । मैले थाह नै पाइन, श्रीमतीलाई पनि नसाको लत लागिसकेछ । एक दिन बिहानीको शीतको थोपसँगै हावाले मन्दमन्द छँुदै थियो । हामी भने एउटा नयाँ बस्तीमा आइपुगेका थियौँ । मुखबाट निस्केको धुवाँ घामका किरणमा बादलझैँ मडारिँदै थियो ।

हामी कैदीझैँ डराएर नसा सेवनमा मस्त थियौँ । अनुहारका रङ्ग उडेर फिक्का थिए । मेरा काला आँखाले वरिपरिका वस्तु आगोले जलिरहेको देख्न थाल्यो । दनदन दन्केको आगोमा सुन्दर बोटबिरूवा र घर जल्दै थिए । म एक्कासि चिच्याएँछु । आगो.. आगो... मेरो आवाजले एउटा मान्छे टक्क अडियो । आँखा वरिपरि डुलाउँदै पलाक्क पुलुक्क हेर्दै बोल्यो । मान्छे त भर्खरकै देखिन्छ, विचरा सानो उमेरमै बौलाएछ । फेरि म शून्य भएँ । एकान्त छ जस्तो लाग्न थाल्यो । मेरो नजर अन्जान एकान्तमा कतै अल्झिरहेको जस्तो भान हुन थाल्यो । झट्ट सम्झेँ मेरा बालाई । बालाई सम्झिन बित्तिक्कै आँशु खसिहाले । भावन बटुलेर भेट्न जान्छु भन्ने लाग्यो तर बारम्बार आइरह्यो त्यही शब्दहरू.. । तँ मेरा लागि मरिस... उफ ! हरेक प्रश्नबीच मन दोडिरहँदा बेलुका हुँदै थियो । मेरो प्रेम, परिवार र मान्छेमा अल्पविराम लाग्दै जान थाले । प्रकाश र अन्धकार छुट्याउन एकदम गाह्रो भयो । अस्ताउन लागेको यो साँझमा मेरो बादलको आकार खोज्दै आकाश माथि माथि जाने निर्णय गरे । जानुभन्दा पहिला आमा र बालाई मनभरि राखेँ । यसरी राखेँ, कहिले नमिटिने गरी राखेँ । साच्चै ! बा, भोगाइहरूको अभिव्यक्ति नै त रहेछ जीवन । हरेक मानिसहरूको अ(आफ्नै अनुभूति हुन्छन् र शृङ्खला बन्दै जान्छन् । यिनै शृङ्खलाको रूप हो कथा, जीवनको कथा, अनि बन्छ आफ्नै कथा.. । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा