शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डलर साट्ने नाममा लुटपाट, लुटेरै काठमाडौँमा २ रोपनी जग्गा !

१३ वर्षदेखि लुटपाटमा संलग्न खेलबहादुर समूहको कथा
बुधबार, १४ असोज २०७७, १२ : ३१
बुधबार, १४ असोज २०७७

काठमाडौँ । सिन्धुपाल्चोक बाह्रबिसे–३ का हुन् खेलबहादुर तामाङ । उनी अहिले महानगरीय प्रहरी परिसर भक्तपुरको कस्टडीमा छन् । ३६ वर्षीय खेलबहादुर डलर साट्ने नाममा ‘लुटपाट’ गर्ने समूहका नाइके हुन् ।

खेलबहादुरको ‘लुट्ने खेल’को कथा ०६४ बाट सुरु हुन्छ । पहिलो संविधान सभाको चुनाव हुँदै गर्दा खेलबहादुर काठमाडौँमा पक्राउ परे । डलर साट्ने नाममा लुटेको फेला परेपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई पक्रेर डकैत मुद्दा चलायो । १ वर्ष जेल बसेपछि १२ लाख धरौटी तिरेर छुटे । त्यसपछि उनी एक पटक पनि पक्राउ परेनन् । तर सस्तोमा डलर साट्ने लोभ देखाएर लुट्न भने छाडेनन् ।

करिब १३ वर्ष लुटे, मस्तीको जिन्दगी बिताए । काठमाडौँको जर्सिङ पौवामा उनले २ रोपनी जग्गा किनेका छन् । लुटेर जग्गा खरिद गरेको कुरा अनुसन्धानबाट खुलेको बताउँछन् महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर सुवास बुढाथोकी ।

‘अवैध आर्जन गरेर जग्गा खरिद र प्लटिङमा लगानी गरेको भेटियो,’ महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी इन्सपेक्टर बुढाथोकीले भने– ‘जेल बसेर निस्केपछि उनले फेरि लुटलाई निरन्तरता दिएको देखिन्छ ।’   

जग्गा प्लटिङ गरेर बिक्रीका लागि उनले युट्युबमा भिडियो विज्ञापन पनि राखेका छन् । विज्ञापनमा खेलबहादुरको नम्बर खुलेपछि प्रहरीले सो कुरा पत्ता लगाएको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर–३ र ६ घर भएका ‘डलर लुटेरा’को सो समूहले साउन र भदौमा भक्तपुरमा ६ ठाउँमा लुटे । दुई महिना ‘लुट आतङ्क’ मच्चाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले सो समूहका सात जनालाई पक्रेको छ ।

समूहका अर्का सदस्य हुन् ५६ वर्षका श्यामबहादुर तामाङ उर्फ धनजित । पाको उमेरका श्यामबहादुर दौरा सुरुवाल लगाउँछन्, झट्ट हेर्दा नपत्याउँदा छन् । तर उनी ०६० सालदेखि डलर लुटपाटमा छन् । डलर लुट्ने समूहले अमेरिकाबाट घुम्न आएका पर्यकटले झोला बिर्सेर गएको, सगरमाथा बेसक्याम्पमा मृत्यु भएको र ०७२ को भूकम्पमा माटो मुनि डलर भेटिएको कथा बनाउँछन् ।

‘डलर सिन्धुपाल्चोकका बुढो उमेरका ट्रेकिङ गाइडसँग रहेको, तिनलाई डलरबारे थाहै नभएको हुनाले सस्तोमा साटेर लाखौँ कमाउन सकिन्छ’ भनेर उनीहरुले पैसा भएका व्यक्तिलाई लोभ्याउँछन् । अनि डलर भन्दै ‘कागजको बिटो’ झोलामा बोकेर देखापर्छन्– ‘५६ वर्षीय श्यामबहादुर ।’

श्यामबहादुरलाई ०६० साउनमा महानगरीय प्रहरी परिसर काठमाडौँले पक्रेर ‘ठगी मुद्दा’ चलाएको थियो । एक वर्ष जेल बसेर निस्केका उनले फेरि ‘लुट धन्दा’ छाडेनन् ।

‘श्यामबहादुर ०६० देखि नै लुटपाटमा संलग्न रहेको खुलेको छ,’ इन्सपेक्टर बुढाथोकीले भने– ‘४ वर्षअघि श्यामबहादुरले धादिङको नौबिसेमा ३ लाख लुटेको पीडित सम्पर्कमा आएका छन् ।’

श्यामबहादुर तामाङ

७० लाख लुटपाट

०६० पछि श्याम पक्राउ परेका थिएनन् । तर उनले डलर साट्ने नाममा लुट्न भने छाडेका थिएनन् ।

सिन्धुपाल्चोक बाह्रबिसेका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ एकै ठाउँका हुन् । खेलबहादुर र रेलबहादुर बाह्रबिसे नगरपालिका–३ का हुन् । अन्य तीन जना बाह्रबिसे–६ का हुन् । शुक्रबारदेखि उनीहरु भक्तपुर प्रहरी हिरासतमा छन् । प्रहरीका अनुसार उनीहरु ‘व्यावसायिक लुटेरा’ हुन् ।

पोखरा, धादिङ र गोरखामा पनि उनीहरुले लुटेको थाहा भएको छ । सो समूहले नेपाली सेनामा कार्यरत एकजना बहालवाला सैनिकलाई टोखाबाट १६ लाख लुटेका थिए । एक वर्षअघि काभ्रेको बनेपाबाट ११ लाख लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘पाँच वर्षअघि काभे्रको पाँचखालबाट ८ लाख लुटेको थाहा भएको छ,’ प्रहरी निरीक्षक बुढाथोकीले रातोपाटीसँग भने– ‘अहिलेसम्म सो समूहले ७० लाख लुटेको पीडित हाम्रो सम्पर्कमा आएका छन् ।’

क्यारम र तास खेलेर रेकी !

मङ्गलबार भक्तपुर प्रहरीको कन्ट्रोल रुममा खबर आयो– ‘कमलविनायक बसपार्कमा सस्तोमा डलर साट्ने लोभ देखाएर ५ लाख लुटपाट भयो ।’ चार दिनअघि पाँच जना लुटेरा पक्रेर हिरासतमा राखिएको थियो । तर लुटपाट रोकिएन ।

‘तत्काल एम्बुसिङ गरेर ताथली हुँदै भाग्दै गरेका दुई जनालाई नियन्त्रणमा लियौँ,’ महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्– ‘लुटेका दुई घण्टामा पक्राउ परेका ती दुई जनाको पनि पुरानो समूहसँग कनेक्सन देखिएको छ ।

ताथलीबाट प्रहरीले पक्राउ गरेको २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी सिन्धुपाल्चोक बाह्रबीसे–३ का हुन् । खेलबहादुर, विमल र निर्मलको घर एउटै गाउँमा छ ।

विलम र निर्मल भक्तपुरस्थित चारदोबाटोमा बस्थे । सूर्यविनायकको आदर्शमा उनीरुको रक्सी र खाना खाने होटल थियो । होटल भएको घर रमेश बराइलीको हो ।

चार महिनादेखि होटलमा खाना खान थालेका उनीहरु दिनभर क्यारमबोर्ड खेलेर बस्थे । त्यहीँ बस्दा घरधनी बराइलीसँग चिनजान गरे । सामीप्यता बढेपछि सँगै तास पनि खेल्न थाले ।  क्यारमबोर्ड र तास खेल्दा उनीहरुले थाहा पाए–‘रमेशसँग पैसा छ ।’

विदेशबाट फर्केपछि भक्तपुरमा घर बनाएका रमेश घरजग्गाको काम गर्थे । दुई–पाँच लाख निकाल्न उनलाई समस्या थिएन् । चार दिनअघि उनीहरुले रमेशलाई फोन गरेर भने– ‘दाइ, हामी दोलखा आएका छौँ, एकजना साथीसँग १८ हजार डलर रहेछ साटिदिनुप-यो, अलिअलि पैसा हुन्छ ।’

साटेपछि दुवैलाई फाइदा हुने, त्यो पैसाले रमेशको पुरानो स्कुटर किन्ने लोभ देखाए । अनि रमेश लोभिए । उनले डलर हेर्न खोजे । बनेपामा बोलाएर ५० डलर देखाए । त्यो डलर ओरिजिनल थियो ।

५ लाखमा डलर साट्न राजी भएपछि रमेशलाई उनीहरुले कमलविनायक बसपार्क बोलाए । बिहानै भेटे, चिया र ब्रेकफास्ट सँगै खाए । रमेशले पाँच लाख दिए । उनीहरुले डलर भनेर रुमालको पोके दिए, खोलेर हेर्दा त्यहाँ डलर थिएन् कागज मात्रै भेटिएपछि उनी छाँगाबाट खसेजस्ता भए ।

लुटेको रकम उनीहरुले तत्काल बाँडे । पक्राउ गरिएका विमल र निर्मलको साथबाट ३ लाख ३१ हजार नेपाली रुपैयाँ र ८ थान डलर प्रहरीले बरामद गरेको छ । लुटेपछि भाग्न अधिकांश घटनामा उनीहरुले ‘टु–ट्वान्टी’ पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।  

बाँकी २ लख लिएर लुटेरा समूहका अर्का एकजना भागेको भक्तपुरकी एसपी थापाले बताइन् । एसपी तारादेवी थापाले भनिन्– ‘फरार एक जनाको खोजी हुँदै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप