शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अटो बजारमा लाग्यो दसैँ : स्किम फाल्दै, ग्राहक तान्दै

बुधबार, १४ असोज २०७७, १२ : ००
बुधबार, १४ असोज २०७७

काठमाडौं । कोरोनाको कहरले केही महिना सुस्ताएको नेपाली अटोबजार हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ–तिहार नजिकिएसँगै तात्न थालेको छ ।

कोरोना संक्रमणको सन्त्रास कायमै रहेको अवस्थामा पनि दसैँ–तिहारलाई लक्षित गर्दै अटोमोबाइल ब्राण्डहरुले धमाधम उपहार योजना (स्किमहरु) सार्वजनिक गर्न थालेका छन् । योसँगै अटो बजारमा उपभोक्ताहरुको चहलपहल समेत शुरु हुन थालेको छ ।

केही दिन यता शोरुममा ग्राहकहरुको चाप बढ्न थालेको सुजुकी मोटर्सको सेल्स इन्चार्ज अनुजा श्रेष्ठ बताउँछिन् । ‘गत आइतबारमात्र हामीले दसैँ–तिहार विषेश स्किम सार्वजनिक गरेका हौं । एक÷दुई दिनमै शोरुममा ग्राहकहरुको फ्लो ह्वात्तै बढेको छ,’ उनले भनिन्, ‘यसले दसैँ–तिहारमा व्यापार राम्रै हुने संकेत गरेको छ । यसबाट हामी उत्साहित छौं ।’

विगतका वर्षमा जस्तो राम्रो बिजनेश नभए पनि गत वर्षको तुलनामा कम्तिमा ५० प्रतिशत बिजनेश हुनेमा आफुहरु आशावादी रहेको श्रेष्ठको भनाइ छ ।

सुजुकी शोरुममा मात्र होइन, अन्य ब्राण्डहरुमा पनि ग्राहको भिड उत्तिकै छ । विशेषतः नेपाली अटो बजारका मुख्य ब्राण्डहरु हुण्डाई, सुजुकी, टाटा, टोयोटा, निसान, किया, फोर्ड, ड्याट्सन, फक्सवागन लगायत दर्जन हाराहारीका अटो शोरुमहरुमा भिडभाड देखिन थालेको छ ।

दसैँ–तिहार विशेष अफरले ग्राहक आकर्षित

अटो बजारका लागि दसैँ–तिहार भनेको व्यापार हुने मुख्य सिजन हो । कोरोना महामारीका कारण लामो समय सुनसान रहेको बजार विस्तारै खुल्दै गएको र दसैँ–तिहार लक्षित विषेश छुटको अफरसमेत सार्वजनिक हुँदै गर्दा अटो बजारमा ग्राहकहरुको चहलपहल शुरु हुन थालेको नेपालका लागि निसान र ड्याट्सन ब्राण्डको आधिकारिक विक्रेता पायोनियर्स मोटो कर्पका बजार प्रवन्धक ज्ञानेन्द्र चन्द बताउँछन् ।

‘दुई–तीन दिन यता बजारमा मान्छेहरुको चहलपहल बढेको छ । शोरुमहरुमा भिजिटरहरु बढेका छन्,’ उनले भने, ‘यसले अबचाहिँ व्यापार बढ्छ कि भन्ने छ । तर यस वर्ष के कति व्यापार गर्न सकिन्छ, त्यो भने बजारले नै निर्धारण गर्नेछ ।’

चन्दका अनुसार कोभिड–१९ अर्थात् कोरोनाका कारण यस वर्ष नाडा अटो शो नहुँदा विजनेशमा समस्या परेको छ । ‘यस पटक अटोमोबाइल विजनेश खस्कने निश्चित छ । गत वर्षको तुलनामा यस वर्ष करिब ६० देखि ७० प्रतिशतसम्म व्यापार खस्कन सक्ने हाम्रो अनुमान छ,’ चन्दले भने ।

यता, किया, रेनल्ट, हुण्डाई, टाटा लगायत केही चिनियाँ तथा कोरियन ब्राण्डहरुले समेत ग्राहकलाई आकर्षित गर्न उपहार तथा बम्पर छुटको योजना अघि सारेका छन् ।

‘केहीदिन अघिसम्म शोरुमहरु सुनसान थियो । एक–दुई जना भिजिटर पाउन पनि ठूलै युद्ध जिते बराबर हुन्थ्यो,’ रेनल्टका सेल्स म्यानेन्जर किरण डंगोलले रातोपाटीसँग भने, ‘तर आजभोलि शोरुमहरुमा भिजिटरहरुको चाप बढ्न थालेको छ ।’

उनका अनुसार भिजिट गर्नेमात्र होइन पछिल्लो समय गाडी किन्ने र बुकिङ्ग गर्नेको संख्या समेत बढेको छ । आजभोलि थापाथली शोरुमबाट मात्र दैनिकजसो ४÷५ वटासम्म गाडी बिक्री भइरहेको उनले सुनाए ।

यसरी ग्राहक बढ्नुको पछाडि विशेष स्किम नै मुख्य कारण रहेको डंगोलको भनाइ छ । रेनल्टले दसैँ–तिहार शुभ अफर योजनामा ग्राहकलाई गाडी खरिदमा न्यूनतम ७५ हजारदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म नगद छुट अफर ल्याएको डंगोलले रातोपाटीलाई बताए ।

कुन ब्राण्डको कस्तो अफर ?

सुजुकीः २० प्रतिशत डाउन पेमेन्ट, ३ लाख ५० हजार नगद छुट

दसैँ–तिहार विशेष पर्वोत्सव योजना अन्तर्गत सुजुकीले गाडी खरिद–विक्रीमा २० प्रतिशत डाउन पेमेन्टदेखि अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म नगद छुटको योजना अघि सारेको छ ।

यो योजना अन्तर्गत सुजुकीको गाडी खरिद गर्ने ग्राहकले अधिकतम २० प्रतिशत डाउन पेमेन्ट (क्यास)मै गाडी खरिद गर्न सक्नेछन् भने अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म छुट पाउने छन् ।

साथै सोही उपहार योजना अनुसार कुनै ग्राहकले पुरानो गाडीसँग नयाँ गाडी साट्न चाहेमा २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनससमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

निसानः शुन्य प्रतिशत डाउन पेमेन्ट, ९ महिनासम्म किस्ता फ्रि

नेपालका लागि निसान र ड्याट्सन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले ‘निसान धमाकेदार दसैं तिहार तथा छठ अफर’ ल्याएको छ । उक्त अफर अनुसार कम्पनीले शुन्य प्रतिशत डाउन पेमेन्टमै निसान गाडी उपलब्ध गराउने जनाएको छ ।

सोही अफरमा थप ९ महिनासम्म लाग्ने मासिक किस्ता (इएमआई) बापतको रकमसमेत छुट दिने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत गाडी किन्न चाहने ग्राहक वर्गले अब शून्य प्रतिशत डाउन पेमेन्टमै निसान गाडी किन्न सक्नेछन् भने मासिक किस्ता बापत ९ महिनासम्म किस्ता छुट पाउने छन् ।

यसको अलबा निसान गाडी किन्ने ग्राहकले ५० हजार रुपैयाँसम्मको एसेसरिज प्राप्त गर्नुका साथै एक वर्षसम्मको बिमा फ्रि तथा एमआई नोट ९ प्रो म्याक्सका साथै बोसको हाई प्रेसर वासरसमेत पाउने छन् । 

त्यस्तै, गाडीको मूल्य अनुसार २० लाखसम्म नगद छुट पनि प्राप्त गर्न सक्नेछन् ।

कियाः बिगेस्ट सरप्राइज अफ द इयर, ४ लाख नगद छुट

किया मोटर्सले ‘बिगेस्ट सरप्राइज अफ द इयर’ स्किम योजना ल्याएको छ । किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले दसैँ–तिहार विषेश अफर अन्तर्गत बिगेस्ट क्यास डिस्काउन्ट अफर ल्याएको हो ।

सो योजना अन्तर्गत किया स्पोर्टेज र सेल्टोस एसयुभी खरिद गर्ने ग्राहकले गाडी खरिदमा अधिकतम ४ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । यसको अतिरिक्त एक वर्षको बिमा बापतको रकम र सडक करसमेत आफैले तिरिदिने कम्पनीले जनाएको छ ।

टाटाः नयाँमा ४ लाख छुट, एक्सचेन्जमा ५० हजार बोनस

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ–तिहार विषेश उपहार योजना अन्तर्गत ४ लाख रुपैयाँ नगद छुटको स्किम ल्याएको छ ।

यस योजना अन्तर्गत टाटाका विभिन्न मोडलका कारमा ४ लाख रुपैयाँसम्म नगद छुट प्रदान गरिने कम्पनीले जनाएको छ । साथै एक्सचेन्ज अफरमा पुरानो कारको मूल्यांकन सहित थप ५० हजार एक्सचेन्ज बोनससमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसको अलबा टाटा मोटर्सले प्रत्येक कारमा एक वर्षको सडक कर निःशुल्कका गर्नुका साथै प्रत्येक पुरानो कारको मूल्यांकनमा सरप्राइज गिफ्ट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

हुण्डाईः १ लाख नगद छुट, ‘बम्पर लकी ड्र’मा औरा र आई १० नियोस जित्ने अवसर

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकहरु माझ ‘यसपालीको दसैं तिहार वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत हुण्डाईका ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् भने बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई अउरा एउटा र हुन्डाई ग्रान्ड आई १० नियोस एउटा जित्न सक्नेछन् ।

त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बिमासमेत पाउने कम्पनीले जनाएको छ । यो योजना असोज ५ देखि प्रारम्भ भएर आगामी मंसिर ५ गतेसम्म लागु हुने कम्पनीले बताएको छ ।

स्याङयोङः तीन लाख नगद छुट

कोरियन ब्राण्ड स्याङयोङले दसैँ–तिहार विषेश अफरमा ग्राहकहरुलाई नगद छुटको अफर ल्याएको छ । यस अफर अन्तर्गत ‘कोरियन लक्जरी एसयूभी एक्सएलभी’ को जुनकुनै गाडी खरिदमा ग्राहकलाई तीन लाख रुपैयाँ नगद छुट प्रदान गरिने स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आईएमएस मोटर्सले जनाएको छ ।

साथै कम्पनीले पुराना गाडी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्जमा दुई लाख रुपैयाँ एक्सचेन्ज बोनससमेत प्राप्त गर्ने जनाएको छ ।

यी बाहेक स्याङयोङका ग्राहकले एक वर्ष निःशुल्क बिमा, २५ हजार रुपैयाँ बराबरको निःशुल्क एसेसरिज र सात वर्ष सजिलो फाइनान्स पनि प्राप्त गर्न सक्ने सुविधा छ । साथै, तीन वर्ष वारेन्टी, निःशुल्क सर्भिसिङ (४ पटक वा रिफरल ग्राहकको लागि १ वर्षसम्म) छ ।

कोभिड–१९ विषेश डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी तथा प्रहरी लगायत फ्रन्टलाइनमा रहेर सेवा प्रदान गर्नेहरुका लागि कम्पनीले तोेकेको नगद छुटमा थप एक लाख छुट दिइनेसमेत कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप