बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धुम्रपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुन्छ: चिकित्सक

मङ्गलबार, १३ असोज २०७७, १८ : २२
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । धुम्रपान त्यागेको १२ महिनामा हृदयघात हुने सम्भावना आधा कम हुने चिकित्सकहरुको भनाई छ । विश्वको तथ्याङ्क अनुसार प्रति १० जनामा १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको भन्दै चिकित्सकहरुले धुम्रपान त्यागेको एक वर्षमा हृदयघातको सम्भावना आधाले कम हुने बताएका हुन् ।

विश्व मुटु दिवसका अवशरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा.मुरारी ढुंगानाले ३० देखि ७० वर्ष उमेर समूहमा प्रति १० जनामध्ये १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको बताए । मुत्युको प्रमुख कारणमध्ये मुटुरोग पनि एक भएकाले जनचेतना बढाउन आवश्यक रहेको उनले बताए । उनले धुम्रपान त्यागेको १२ महिनामा हृदयरोग हुने सम्भावना आधा कम हुने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव प्रदीप ज्ञवालीले गंगालाल हृदयरोग केन्द्रले अनुसन्धानका काम अगाडी बढाउनुपर्ने बताए । छुट्टै विभाग बनाएर रिसर्चका काम अघि बढाए परिषदले सहयोग गर्ने उनले बताए । केन्द्रले लकडाउन सुरुभएदेखि असोज १० गतेसम्म करिब साढे ६ हजार विरामीलाई आकस्मिक सेवा प्रदान गरेको छ ।

कोभिड १९ संक्रमण जोखिमका बीच गत चैत १२ गतेबाट असोज १० गतेसम्म केन्द्रले ६ हजार ४ सय ६१ जनालाई आकस्मिक सेवा प्रदान गरेको हो । केन्द्रको अन्तरंग विभागमा १ हजार ८ स ५१ जना विरामी भर्ना भएको अस्पतालले जनाएको छ । यसैगरी प्राइमरी एन्जियोप्लाष्टि १ सय ७६, परमानेन्ट पेशमेकर ९, कोरोनरी एन्जियोग्राफी ५ सय ८७ र कोरोनरी एन्जियोप्लाष्टि २ सय ५३ जना गरी क्याथ ल्याब प्रोसिड्युर सेवा १ हजार २ सय २९ जनाले लिएको केन्द्रका कार्डियोलोजी विभागका रजिष्टार कुन्जन शेर्पाले बताए ।

कोभिडका कारण विगत वर्षहरुमा जस्तो कार्यक्रम गर्न नपाइएपनि दिवसका अवशरमा आज जनचेतना जगाउन उद्देश्यले नेपाल हार्ट नेटको सहकार्यमा विहान ७ः३० बजे माइतिघरबाट कोटेशवरसम्म सचेतनामुलक कार र्याली गरेको छ । कोरोना संक्रमणकाबीच विरामीको उपचारमा संलग्न कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई अस्पतालले सम्मान गरेको छ ।

आज सेप्टेम्बर २९, विश्व मुटु दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । नेपालको कूल जनसंख्या मध्ये करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको अनुमानित तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप