केन्द्रीय संस्करण

बाग्लुङमा बाढीपहिरोः १६ जना अझै बेपत्ता

person explore access_timeअसोज १३, २०७७ chat_bubble_outline0

बाग्लुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ ।  मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बाग्लुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् । 

महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए ।

सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भएकाका परिवारलाई पनि मृतक सरह राहत दिलाउन प्रक्रिया अगाडि बढाइएको बताए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा बेपत्ताको खोजबिन र स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ । “उपसमितिले बेपत्ताहरुको खोजीसँगै वस्तुगत अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्छ, त्यसपछि राहतको प्रक्रिया शुरु हुन्छ”, सूचना अधिकारी पन्तले भने । बेपत्ता नभेटिएको स्थितिमा मृतक सरहको राहत सम्बन्धित परिवारले पाउनेछन् ।

सरकारले मृतक परिवारलाई रु दुई लाख राहत प्रदान गर्दै आएको छ । यस्तै एउटै परिवारमा अन्य सदस्यको पनि मृत्यु भएमा थप रु एक लाखका दरले राहत उपलब्ध हुने गरेको छ । बेपत्ता भएका परिवारलाई पनि तत्कालीन राहतस्वरुप रु १५ हजार दिने गरिएको छ । यो वर्ष बाढीपहिरोका कारण ढोरपाटनसहित जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड, काठेखोला गाउँपालिकालगायत क्षेत्रमा जनधनको क्षति भएको छ । भूजीखोलाको बाढीमा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको थियो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.