केन्द्रीय संस्करण

खाडीमा नेपाली संघसंस्थाको भरोषामा नेपाली कामदार !

person explore access_timeअसोज १३, २०७७ chat_bubble_outline0

यूएई । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थित अलकोज क्याम्पमा एक नेपालीको मृत्यु भयो । कोठामा सँगै बस्ने मृतकका साथीले यूएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का अध्यक्ष प्रकाश कोइरालालाई नेपालीको मृत्युको जानकारी दिए । उनले नेपालीको शवलाई नेपाल पठाउन सहयोग गरिदिन पनि एनआरएनसँग अनुरोध गरे ।

स्याङ्जा स्थायी घर भएका गणेश विकले नेपाल फर्किन सहयोग गरी पाऊँ भनी यूएईस्थित राजनीतिक भ्रातृसङ्गठन प्रवासी नेपाली मञ्चलाई गुहारे । साथै उनले त्यहाँस्थित नेपाली समाजलाई आफूहरू अलपत्र परेको भन्दै खाद्यन्न सहयोग गर्न पनि अनुरोध गरे । प्रवासी मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा र नेपाली समाजका अध्यक्ष गोविन्द ढकालले पीडितहरूलाई भेटी खाद्यान्नसहित आवश्यक सहयोग उपलब्ध गराए ।
पर्साका इस्तखार मिया ठकुराई विगत ५० दिनदेखि दुबईको रसिद अस्पतालको शय्यामा कोमामा बेवारिसे अवस्थामा उपचाररत छन् । निजकी छोरी गुलब्सा खातुनले यूएईमा कार्यरत नेपाली पत्रकारमार्फत् बाबुको उपचार र उद्धारको लागि हारगुहार गरिरहेकी छिन् ।    

दुबईमै रहेकी गङ्गा कँडेल अर्का एक नेपालीद्वारा नै ठगिइन् । उनले पनि एनआरएन यूएईसँग गुहार मागिन् । काम खोजिदिन्छु भन्दै एक ठग नेपालीले गङ्गासँग ४ हजार दिराम (१ लाख २५ हजार रुपैयाँ) लिए । परदेशमा एउटा नेपालीले अर्काे नेपालीलाई यसरी ठग्छ भन्ने गङ्गाको सोच कहिल्यै आएन । भिसा खर्च लाग्ने भनेर नै उनले उक्त रुपैयाँ तिरेकी थिइन् । न त उनले काम पाइन् न त पैसा नै फिर्ता । पटक पटक पैसा फिर्ता माग्दा ठगले उल्टै धम्की दिन थालेपछि मात्र उनी ठगिएकी थाहा पाइन् ।

धरानकी विनिता सुनार (नाम परिवर्तन) सानी छोरीसहित ६ महिनादेखि दुबईस्थित अल अबिर जेलमा नेपाल जाने पर्खाइमा छिन् । अन्तत उनले पनि सहयोगको लागि एक मात्र भरोसा योग्य संस्था नेपाली समाज भेटिन् । नेपाली समाजका महासचिव वेदप्रसाद अर्यालको पहलमा छिट्टै नै उनी नेपाल फर्कंदै छिन् ।
 
यूएईमा आएर अलपत्र पर्ने प्रायः नेपालीहरू यहाँ रहेका नेपाली सङ्घ संस्थाहरूसँग सम्पर्कमा आइपुग्छन् । अलपत्र परेर खाद्यायन्न सहयोग चाहिएर होस् या बस्ने कोठा चाहिएर होस् वा एजेन्टले ठगेर अलपत्र परेर होस् यी सबै ठोकिने भनेको यूएईमा कार्यरत नेपालीका विभिन्न सङ्घसंस्था नै हुन् । सङ्घसंस्थाले सहयोग गर्न नसक्ने किसिमका केस मात्र दूतावास पुग्ने गरेका छन् । दूतावास पुगेका अधिकांश केस प्रायः तिनै सङ्घसंस्थाले ‘रेफर’ गरेका केस नै हुने गर्छन् । कतिपय अवस्थामा कानुनी जटिलता हुने र स्थानीय निकायसँग बुझ्नुपर्ने हुँदा नेपाली दूतावासको सहयोगको जरुरी पर्दछ । यस्तो अवस्थामा मात्र नेपाली दूतावासको ढोका ढकढक्याउने गर्दछन् । नत्र धेरै केस नेपाली सङ्घसंस्थाले नै समाधान गरिदिन्छन् ।
 
 कोही बिरामी पर्याे कि ? कसैको मृत्यु भयो कि ? कसैले लुट्यो कि ? कसैले ठग्यो कि ? नेपालमा आफन्त साह्रै बिरामी छन्, हवाई टिकट व्यवस्था गर्नु पर्याे कि ? यूएई ल्याएर एजेन्टले अलपत्र पर्याे कि ? यी सबै समस्या समाधान गर्न सहयोगी कोही छन् भने यूएईमा खोलिएका नेपाली सङ्घसंस्था नै हुन् । तिनका प्रतिनिधि नै हुन् । कोभिड–१९ ले विदेशमा अहिलेसम्म कति नेपालीको मृत्यु भयो र कति नेपाली सङ्क्रमित भए भन्ने तथ्याङ्क पाउन पनि विदेशमा रहेका नेपालीहरूको संस्था एनआरएनएकै भर पर्नुपरेको छ ।
 
विश्व महामारी कोभिड–१९ को यो अवधिमा यूएईमा रहेको एनआरएनले अलपत्र परेका ८ हजार नेपालीलाई झण्डै ३५ लाख रुपैयाँ बराबरको खाद्यायन्न सहयोग गर्याे । नेपाली समाज, विभिन्न जिल्लागत, राजनीतिक भ्रातृसङ्गठन र अन्य सङ्घसंस्थाको सहयोगमा गठित कोभिड–१९ सूचना सङ्कलन तथा सहयोग समितिले झण्डै २५ लाख रुपैयाँ बराबरको खाद्यायन्न सहयोग गर्याे । नेपाल सरकारले दूतावासहरूमा पठाएको रकमले किनिएको खाद्यान्न पनि यिनै सङ्घसंस्थाले वितरण गरिदिए ।

कोभिड–१९ को त्रासले अत्यास भएको अवस्थामा एकजना कामदारले नेपाली दूतावास अबुधाबीमा फोन गरे । दूतावासका प्रतिनिधिले यिनै नेपाली समाजसेवीलाई सम्पर्क गर्न सुझाव दिए । एक मात्र हैन यस्ता कयौँ कामदारहरू नेपाली दूतावास पुगेर अन्तत यहाँ कार्यरत नेपाली सङ्घसंस्थासँग ठोकिन आइपुग्छन् । दूतावासका कर्मचारी नै दूतावास पुगेका पीडित नेपालीहरूलाई सङ्घसंस्थाका प्रतिनिधिलाई भन्नु भनेर नाम र फोन नम्बरसहित फिर्ता पठाउँछन् । हालसम्म यूएईका नेपाली सङ्घसंस्थाहरूले हजारौँ नेपालीलाई विभिन्न खाले सहयोग गरिसकेका छन् ।

एनआरएन यूएईले उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा ‘क्विक रेस्पोन्स फोर्स’ नै गठन गर्याे । उसले लगातार १ सय दिनभन्दा बढी मैदानमा खटिएर नेपालीहरूलाई सहयोग गर्याे । कयौँ नेपालीहरूलाई अस्पताल पुर्यायो । त्यस्तै कोभिड–१९ सूचना सङ्कलन तथा सहयोग समितिले पनि सुरुदेखि हालसम्म पनि आफ्नो सेवा निरन्तर प्रवाह गरिरहेको छ ।            
 
खाडीमा रहेका अधिकांश नेपाली कामदारको दूतावाससम्मको पहुँच नै हुन्न । भए पनि दूतावास धेरै टाढा हुन्छन् ।  यूएईको लागि नेपाली दूतावास अबुधाबी राज्यमा छ, जुन दुबईबाट झण्डै २ सय किमि टाढा र उत्तरी राज्यहरू फुजेरा र रस अल खैमहबाट ३ सय किमि टाढा रहेका छन् । यति टाढा जान नेपाली कामदारसँग यातायातको साधन पनि हुन्न । फोनमा केही जानकारी पाए पनि त्यसले समाधान निस्किँदैन् । अन्तत उसले खोज्ने र पहुँच पुग्ने भनेको नेपाली सङ्घ संस्था र तिनका प्रतिनिधि नै हुन् । साउदी अरबमा त नेपालीहरू दूतावास धाएर जान असम्भव नै हुनेगर्छ ।

यूएईमा मात्र नेपालीहरूका ७० भन्दा बढी सङ्घसंस्थाहरू होलान् । प्रायः हरेक जिल्लाका जिल्ला समाज छन् । राजनीतिक पार्टीका सम्पर्क समिति छन् । प्रदेश समितिहरू बनेका छन् । विश्व महामारीको बेला यी संस्थाहरूले गच्छे अनुसार आर्थिक सङ्कलन गरे । संस्थामा सङ्गठित सदस्यहरूले छाक कटाएर सहयोग गरे । यसरी यी संस्थाले संस्था हुनुको कर्तव्य पूरा गरेका छन् । यूएईमा कार्यरत कतिपय व्यक्तिहरूले स्वस्फूर्त रूपमा पनि आर्थिक सहयोग गरेका छन् ।

यसरी नै खाडीका अन्य देशहरू कतार, साउदी, कुबेत लगायत देशहरूमा नेपालीका सङ्घसंस्थाहरू सक्रिय छन् । उनीहरू नेपालीका अभिभावक भएर उभिएका छन् । पीडित अलपत्र नेपालीहरूका लागि भगवान पनि उनीहरू नै हुन् । अलपत्र नेपालीहरूले हात फैलाएर माग्ने पनि उनीहरूसँगै हो । दिने पनि तिनै सङ्घसंस्थाले नै हो । नेपाल सरकारका निकायसँग त उक्त शीर्षकमा बजेट नै हुन्न । मान्छे अस्पतालको शय्यामा किन नहोस् नेपाली दूतावासलाई बिरामीलाई हेरविचार गर्न, औषधि, फलफूल किनेर दिन नेपाल सरकारको कानुनले छेक्छ । मानव तस्करको चङ्गुलमा परेर कयौँ महिनादेखि यूएईको अलऐनमा अलपत्र परेका ४ जना नेपाली महिलालाई नेपाल फर्किन निःशुल्क ट्राभल्स डकुमेन्ट बनाउन समेत नेपाल सरकारलाई कानुनले रोक्छ । जान अन्जानमा खाडीका जेलमा परेका आफ्न नागरिकलाई निःशुल्क उद्धार गर्न पनि कानुनले दिँदैन । यी सबैको जिम्मा खाडीका नेपाली सङ्घसंस्थाहरूले लिइदिनुपर्छ । नेपाल सरकारको कानुन नै यस्तो छ कि जिउँदो हुन्जेल केही पनि सहयोग गर्न सक्दैन ।   
 
कस्तो लाग्छ भने नेपालीहरूको सहयोगी मन र सामाजिक स्वभाव नभइदिएको भए विदेशस्थित नेपाली दूतावास कसरी काम गर्थे होलान् ? धन्न विदेशमा पनि नेपालीहरूका सङ्घसंस्था छन् र नेपाली बाँचेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.