केन्द्रीय संस्करण

स्वर्गीय कलाकार मनुजबाबु मिश्रको कृति ‘एकलानुभूति’ सार्वजनिक

person explore access_timeअसोज १३, २०७७ chat_bubble_outline0

काठमाडौं । झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ ।
उनका यसअघि प्रकाशित ६ वटा निबन्धसंग्रहबाट चर्चित साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा सङ्गृहीत छन् । मिश्रका विभिन्न निबन्धसङ्ग्रहका फरकफरक अनुहारका रूपमा यो पुस्तक रहेको न्यौपानेले बताए । ‘एउटै मनुजबाबु मिश्रमा तारानाथ शर्माको जस्तो झर्रो शैली, लक्ष्मीप्रसाद देवकोटाको जस्तो स्वच्छन्दता र भैरव अर्यालको जस्तो हास्यव्यङ्ग्य पाइन्छ,’ न्यौपानेले भने, ‘उनको लेखनमा अद्भुत बौद्धिकता, अनुभूतिको तीव्रता र स्मरणशक्तिको गहिराइ पाइन्छ । जुन विषयवस्तुमा उनी निबन्ध लेख्छन्, पाठकले नसोचेको तर सोच्नुपर्ने ठाउँमा पु¥याउँछन् ।’

मनुजबाबु मिश्र एक परिचित नेपाली निबन्धकार रहेको प्राध्यापक एवम् लेखक अभि सुवेदीले बताए । ‘उनका निबन्धमा निजत्व र विचारको प्रभावकारी संयोजन हुन्छ । एक कलाकार भएका कारणले मिश्र निबन्धलाई पनि तूलिकाघात गरेर बनाउने कलाका रूपमा लिन्छन्,’ सुवेदी भन्छन्, ‘त्यसैले उनका चित्रकलामा जस्तै निबन्धमा उपमा र उपमेयका सूक्ष्म रचना नभएर दृष्टिगोचर, सोझै प्रभाव सिर्जना गर्ने भाष्यको प्रयोग गरिएको हुन्छ ।’
मिश्रले ज्ञान, विज्ञान र निजत्व बुझाउने संस्मरणजन्य विषयलाई आफ्ना निबन्धमा प्रयोग गर्छन्, जुन उनको एक निबन्धकारका रूपमा मौलिक विशेषता रहेको सुवेदीको भनाइ छ । 

एक कलाकारका कृतिलाई पाठकसामु ल्याउन पाउनु आफूहरूका लागि सौभाग्यको विषय रहेको प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले बताए । मिश्रका कला अन्तर्राष्ट्रिय रूपमा प्रदर्शित एवम् प्रतिष्ठित छन् । निबन्ध, उपन्यास, बाल साहित्य र कलाका इतिहास गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । मिश्रको यो निबन्धसङ्ग्रहमा जीवनजगत्का विविध पक्षलाई सटीक ढङ्गले प्रस्तुत गरिएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.