शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ नाकामा नेपाली सामानमाथि झन्डै ‘नाकाबन्दी’ को स्थिति

समस्या सल्ट्याउने मामिलामा नेपालको परराष्ट्र मन्त्रालयको भूमिका कमजोर
सोमबार, १२ असोज २०७७, १५ : २१
सोमबार, १२ असोज २०७७

रसुवागढी नाकालाई असोज ७ गतेबाट आंशिक रुपमा खुला गरेको चीनले केरुङमा रहेको रसुवा भन्सार कार्यालय नियमित सुचारु गर्ने हो भने नेपालले स्वास्थ्य सुरक्षामा थप सतर्कता अपनाउनु पर्ने बताएको छ । नाका आंशिक रुपमा खोलेलगत्तै चीनले रसुवागढीमै कोरोनाको स्वाव परीक्षण गर्ने पीसीआर ल्याब राख्न रसुवागढी भन्सार कार्यालयलाई वीच्याटमार्फत पत्राचार गरेको छ । पीसीआर परीक्षणको नतिजा सात घण्टाभित्र दिन नाकामा खटेका चिनियाँ पक्षले आग्रह गरिरहेका रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्का बताउँछन् । 

तर, पीसीआर परीक्षण गर्ने व्यवस्था रसुवा जिल्लामै छैन । स्वाव काठमाडौं नै ल्याइपु¥याउनु पर्छ । ‘हामीले ७२ घण्टा लाग्छ भनेका छौं । उनीहरुले पीसीआर परीक्षण गरेको रिर्पोट बुझाऊ अनि सामान कति छाड्ने हामी हेर्छौं भनिरहेका छन् । चिनियाँहरु स्वास्थ्यप्रति एकदमै समेत छन् ।’ 

रसुवागढी नाकामा सामान ओसारपसारमा संलग्न एकजना नेपाली श्रमिकलाई कोरोना संक्रमण देखिएपछि गत भदौ १७ गतेदेखि चीनले नाका ठप्प बनाएको थियो । चिनियाँहरुले नाका बन्द गरेपछि सयौं व्यवसायीका अर्बौं मूल्यका सामान र १२ सय बढी कन्टेनर केरुङमा थन्किएका छन् । अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र रसुवा भन्सार कार्यालयको बारम्बारको आग्रहपछि असोज ७ गतेबाट चीनले नाका आंशिक रुपमा खुला गरेको छ । तर, भन्सारका अधिकारीहरु र व्यवसायीहरु नाका फेरि कुन बेला बन्द हुने हो भन्ने त्रासमा छन् ।

 काठमाडौंबाट केरुङ पुग्ने सडक समेत गुणस्तरीय छैन । त्यसैले नाका खुला भएर कन्टेनरहरु छुटे पनि बाटोकै कारण ती सामानहरु आइपुग्न केही दिन लाग्नेछ ।

चीनले पछिल्लो पटक भदौ १७ गतेबाट रसुवा नाकाबाट सामान ओसारपसार रोकेको हो । तर वास्तवमा, गत वर्षको पुसबाटै केरुङमा सामान अलपत्र पर्न थालेका थिए । गत  जेठबाट रसुवागढी नाका केही समय खोलिएको थियो । यद्यपि सोही नाका पनि विभिन्न बहानामा दुई पटक बन्द भइसकेको छ । जेठयताका सबै दिन जोडेर करिब एक महिनामात्रै रसुवा नाका राम्ररी सञ्चालन भएको व्यवसायीहरुको भनाइ छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका बच्चु पौडेलका अनुसार असोज ७ गतेपछि चीनले केरुङबाट छानिएका सामानहरु, विशेषतः विसीजी खोपलगायत ५–७ कन्टेनर सामान मात्र पठाउन थालेको छ ।
रसुवा नाका पूर्णसञ्चालन गर्नका लागि चीनले ‘उच्च स्वास्थ्य सावधानी अपनाउन’ भन्सार कार्यालयलाई पत्र पठाउँदै केरुङमा पीसीआर ल्याब राख्न र अन्य सुरक्षा उपायहरु कडाइपूर्वक लागू गर्न आग्रह गरेको रसुवाका प्रमुृख भन्सार अधिकृत खड्काले रातोपाटीलाई बताए ।  नाकामा कार्यरत व्यक्तिहरुको स्वाव परीक्षण गर्न तत्काल पीसीआर ल्यावको व्यवस्था गर्न र सामान ओसारपसारमा प्रयोग हुने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्न चिनियाँ पक्षले आग्रह गरेको भन्सार अधिकृत खड्काले बताए ।


कोरोनाको कारण सिर्जित स्वास्थ्य संवेदनशीलताको नाममा अहिले चिनियाँ नाकामा नेपाली सामानहरु रोकिएर झन्डै ‘नाकाबन्दी’को स्थिति पैदा भएको छ । द्विदेशीय र कुटनीतिक मामिला समेत भएकाले रसुवागढी, तातोपानी नाका निर्वाध सञ्चालनका लागि परराष्ट्र मन्त्रालयको भूमिका प्रखर हुनुपर्ने हो । तर यसमा उसको भूमिका कमजोर देखिएको छ ।  मूलतः परराष्ट्र मन्त्रालयले सल्ट्याउन पहल गर्नुपर्ने यो मुद्दालाई यतिखेर अर्थ मन्त्रालयले ‘डिल’ गरिरहनु परेको छ । जानकारहरुले यसलाई परराष्ट्र मन्त्रायलको स्थायी सत्ता सम्हालिरहेका र सरकारले मुख्य सचिव बनाउने तरखर गरिरहेका परराष्ट्र सचिव बैरागीको असफलताको रुपमा लिन थालेका छन् । 



‘चीनले असोज ७ गते पछि रसुवागढी नाकाबाट दैनिक ५ वटा गाडी छाडिरहेका छन् । त्यसमा पनि व्यवसायिक सामान छाडेका छैनन्’, खड्काले भने, ‘स्वास्थ्य सामाग्री र ढल्केवरको विद्युतको अत्यावश्यक सामान मात्र छाडेका छन् । यहाँ मौसम प्रतिकूल छ । पानी परेकाले चीनतिरको बाटोमा पहिरो गएछ । त्यसैले हिजोआज सामान अलि कम आएको छ ।’

 सहज अवस्थामा दैनिक अढाइ करोडभन्दा माथि राजश्व उठ्नेमा अहिले १२–१५ लाख मात्र उठिरहेको खड्काको भनाइ छ । उनका अनुसार नेपाली व्यवसायीहरुले सामान मगाएका कम्तिमा १२ सय बढी कन्टेनर चीनतिर रोकिएका छन् । दैनिक ५ वटाका दरले मात्र छाड्दा ती सामान ल्याउन कम्तीमा ६ महिनामा लाग्नेछ । 

सामान बढी कसरी ल्याउन सकिन्छ भनेर बुधबार चिनियाँहरुसँग भर्चुअल मिटिङ राखेको खड्काको भनाइ छ । अहिले चिनियाँहरुले मितेरी पुलमा सामान ल्याएर छाडिदिने गरेका छन् । चीनको एक गाडी सामान नेपालको दुई गाडी हुन्छ । पुलको क्षमता धेरै छैन । सीमित स्रोतले १० गाडी सामान पुलबाट उठाएर ल्याउँदा नै रात पर्छ ।   

नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले कोरोना भाइरसको जोखिमबारे आफूहरु जानकार भएकाले सतर्क हुनु आवश्यक हुँदा यसबारे नेपालको परराष्ट्र मन्त्रालयसँग सहकार्य गरिरहेको जनाएका छन् । यद्यपि चिनियाँ पक्षको आग्रहपछि पनि परराष्ट्र मन्त्रालयले यस विषयलाई  गम्भीर रुपमा नलिएका जानकारहरु बताउँछन् । 

द्विदेशीय र कुटनीतिक मामिला भएकाले रसुवागढी, तातोपानी नाका निर्वाध सञ्चालनका लागि परराष्ट्र मन्त्रालय सक्रिय हुनु पर्ने हो । तर, पराष्ट्र मन्त्रालयको चरम हेलचेक्र्याइँ र उदासीनताका कारण नाका खोल्ने विषय अर्थ मन्त्रालयले ‘डिल’ गरि रहनु परेको छ । जानकारहरुका अनुसार यो परराष्ट्र मन्त्रायलको स्थायी सत्ता सम्हालिरहेका सचिव शंकरदास बैरागीको असफलता हो । तर, सरकारले उनै बैरागीलाई मुख्य सचिव बनाउने तयारी गरिरहेको छ । औपचारिकता पूरा गर्न नै सही, केही दिन अघि परराष्ट्रले चिनियाँहरुसँग एउटा भर्चुअल मिटिङ गरेको थियो । त्यस मिटिङमा चिनियाँहरुले आफ्ना कुरा राखेका थिए भने नेपालले पनि आफ्ना मागहरु पेश गरेको थियो । तर, त्यसले सार्थक परिणाम देखाउन सकेको छैन ।

चीनबाट स्याउ, लसुन, प्लाष्टिकका जुत्ता चप्पल, प्लास्टिकका खेलौनालगायत सामग्रीहरू, तयारी कपडा, रबर, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, आयात हुने गरेको छ । नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहेन्दी, दन्तमन्जन, शृङ्गारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैँचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका मुख्य वस्तुहरू निकासी भइरहेको छ । रसुवागढी नाकामा चीन र नेपाल दुवैतिरबाट गरी दैनिक २५० भन्दा बढी कन्टेनर तथा सवारी साधन आवतजावत हुने गरेका छन् । 

चीनले रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेको छ । यससँगै उद्योगी, व्यवसायी र सवारी साधनको चाप बढ्दै गएको थियो । तर, नेपालले नै उच्च स्वास्थ्य सावधानी गराउन हेलचेक्र्याइँ गर्दा नाकामा आइपुगेका अर्बौका सामान नष्ट भइरहेका छन् । यसले व्यावसायीहरुलाई ठूलो मात्रामा घाटा लाग्ने अवस्था पैदा भएको छ । 

तातोपानी पनि उस्तै
चीनसँगको अर्को पुरानो नाका तातोपानी पारी खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको छ । तातोपानी नाकाभन्दा करिब ३५ किमिमाथि चिनियाँ भूभागमा रहेको ‘क्यानोन कु’ ताल विष्फोटन हुन लागेकोले त्यसको पानीको सहत घटाउने भन्दै नाका बन्द गरिएको थियो । २०७२ को विनाशकारी भूकम्पलगत्तै चीनले तातोपानी नाका बन्द गरेको थियो । 

भूकम्प गएको आठ महिनामा २०७२ मङ्सिरदेखि चीनले रसुवागढी नाका खुला गरेको थियो । त्यस यता रसुवागढी नाकाबाटै चीन–नेपाल सामान आयात निर्यात भइरहेको छ । चीनले पछिल्लो समय तातोपानी नाका समेत आंशिक रुपमा संचालनमा ल्याएको थियो । 

तर, तिब्बतको नेलाम काउन्टीले सूचना जारी गरेर तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा ग¥यो । यसपछि खासामा कन्टेनरहरु त्यतिकै थन्किरहेका छन् । ती कन्टेनरलाई त्रिपालले छोपेर राखिएको छ । त्यस क्षेत्रमा नेपालीलाई जाने अनुमति छैन । 

नेपालमा कोरोना संक्रमण बढेर ‘लकडाउन’ घोषणा हुनु अघि नै चीन सरकारले सीमावर्ती नाकाहरु बन्द सुरु गरिसकेको थियो । नाका बन्द हुँदा स्याउ मात्र न्युनतम ५० करोड मूल्यका कुहिए भनेर व्यापारीहरु रोइरहेका छन् । तर, अहिलेसम्म परराष्ट्र मन्त्रालयले यो स्थितिलाई सल्टाउन बलियो पहलकदमी लिएको छैन ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका बच्चु पौडेलका अनुसार खासा, नेलम, ल्यासा र केरुङमा गरी करिव दुई हजार कन्टेनर सामानहरु सीमा पारी छन् । ‘तीमध्ये सबैभन्दा बढी १२–१३ सय कन्टेनर सामान केरुङमा मात्र छ । हामीले छिट्टो पहलकदमी लिइ दिनु प¥यो भनेर बारम्बार परराष्ट्र मन्त्रालयसँग अनुरोध गरिरहेका छौं । चनिस्थित नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेलाई पनि भनेका छौं । वाणिज्य मन्त्रालयसँग पनि आग्रह गरेका छौं’, पौडेल भन्छन्, ‘उहाँहरु हामीले कुटनीतिक पहल र कुराकानी गरिहेका छौं । चाँडै मिल्छ भन्नुहुन्छ । सायद एक साताभित्रमा मिल्ला कि ?’ अर्का एक व्यवसायीका अनुसार परराष्ट्र मन्त्रालयले बलियो पहलकदमी लिइ दिएको भए यति लामो नाकाबन्दी हुने थिएन । परराष्ट्र मन्त्रालयले बलियो इच्छा शक्ति देखाएको भए नाकामा चिनियाँ माग अनुसार नाकाको भन्सार कार्यालयमा पीसीआर ल्याब राख्ने कुरा कुनै ठूलो विषय नै थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप