बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय महिला आयोगमा दशैंअघि नै  पदाधिकारी नियुक्त गरिन्छः मन्त्री गुरुङ

आइतबार, ११ असोज २०७७, १९ : ४०
आइतबार, ११ असोज २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय महिला आयोगको पदाधिकारी छिट्टै नियुक्त हुने बताएका छन् । मन्त्री गुरुङले राजनीतिक नेतृत्व तहमा संवैधानिक आयोगहरुलाई पूर्णता दिने विषयमा गहन छलफल भईरहेको उल्लेख गर्दै महिला आयोगमा पनि छिट्टै पदाधिकारी नियुक्त गर्ने तयारी भैरहेको बताएका हुन् । 

आईतबार काठमाडौंमा आयोजित ‘विपद्मा महिला अधिकार र राष्ट्रिय महिला आयोग’ विषयक भर्चुअल बैठकमा बोल्दै उनले दशैं अघिनै सो आयोग गठन हुनेगरी संवैधानिक आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्माओलीले राजनीतिक नेतृत्वसँगको छलफललाई अघि बढाउनु भएको पनि स्पष्ट पारे ।

‘दशैं अघिनै राष्ट्रिय महिला आयोगका पदाधिकारी नियुक्त हुने गरी सम्माननीय प्रधानमन्त्री केपी शर्माओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासहितको राजनीतिक नेतृत्वसँगको छलफललाई तीब्रता दिनुभएको छ,’ मन्त्री गुरुङले भने, ‘दशैं अघिनै महिला आयोग लगायतका संवैधानिक आयोगका पदाधिकारी नियुक्त हुने विश्वास व्यक्त गर्दछु ।’ उनले राष्ट्रिय महिला आयोगको पदाधिकारी नियुक्ति गर्ने काम संवैधानिक परिषदको भएपनि त्यसका लागि आफूले पहल गरिरहेको स्मरण गराए । महिला हिंसाका घटना हुन नदिन पनि महिला आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाई गर्न नहुनेमा आफू सचेत रहेको मन्त्री गुरुङको भनाई थियो । 

मन्त्री गुरुङले महिलामाथि हुने हिंसा सुनुवाई गर्न महिला आयोगले सञ्चालनमा ल्याएको हटलाईन सेवा ११४५ लाई थप प्रभावकारी बनाउन मन्त्रालयले छिट्टै आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै यूएन सिड कमिटीकी उपाध्यक्ष बन्दना राणा, महिला अधिकारकर्मी डा. रेणु अधिकारीलगायतले महिला हिंसाका घटना हुन नदिने संवैधानिक आयोग भएकाले महिला आयोगको पदाधिकारी नियुक्तीमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप