शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

आइतबार, ११ असोज २०७७, १८ : ४६
आइतबार, ११ असोज २०७७

कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।

कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, “व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छौं ।”

लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाई र सम्पूर्ण तयारी गर्ने र सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । आउँदो दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ । 

“कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागिपरेका छौँ”, भट्टराईले भने, “दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।” 
पर्यटन दिवसका अवसरमा सौराहाका पर्यटनसँग सम्बन्धित क्षेत्रीय होटल सङ्घसहित ११ वटा सङ्घसंस्थाले कार्यक्रमको आयोजना गरेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरे ।

 रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दिपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताउनुभयो । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी सङ्घका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएको सन्देश प्रवाह गरिदिन अनुरोध गरे ।

राहामा १२० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् । सौराहाका होटलमा पाँच हजार ५०० जनाको क्षमता रहेको छ । गएको चैत ११ गतेबाट बन्द रहेका होटल असोज १ गते यता क्रमशः सरसफाइ र खुल्ने क्रम शुरु भएको छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् ।

पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो । लकडाउनको अवधिमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् । 

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप