शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन दिवसमा सुनसान बन्यो ठमेल

आइतबार, ११ असोज २०७७, १७ : २८
आइतबार, ११ असोज २०७७

४१ औं विश्व पर्यटन दिवस आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन । यसअघिको बर्षहरुमा पर्यटन दिवसको अवसरमा मुलुकको बिभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याइ हुन्थ्यो । पर्यटकका लागि पहिलो गन्तव्य ठमेल पनि यस वर्ष सुनसान देखिएको छ । 

हरेक बर्ष सेप्टेम्बर २७ को दिन विश्वभर पर्यटन दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको भूमिकाका बारे चेतना जगाउने र यसले विश्वव्यापी रूपमा सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्य मान्यताहरूलाई कसरी प्रभाव पार्छ भनेर प्रदर्शन गर्ने उद्देश्यले सन् १९८० देखि यो दिवस मनाइदैं आएको हो ।

 यस बर्ष पनि ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ । तर, यो बर्ष भने कोरोना प्रकोपको कारण पर्यटकहरुको स्वागत बिनै दिवस मनाउन बाध्य हुनु परेको हो ।

काठमाडौंको मुख्य पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायीहरुले विभिन्न प्याकेज घोषणा गरी पर्यटको अवसरमा छुट दिदै आएका थिए । तर, यो बर्षको पर्यटन दिवसमा भने कोरोना संक्रमणको महामारीका कारण ठमेल क्षेत्र सुनसान बनेको छ । अघिल्लो बर्षहरुको पर्यटन दिवसको दिन छुट्टै माहोल सहित आन्तरिक र बाह्य पर्यटकको भिड हुने गरेकोमा यो बर्ष सुनसान बनेको व्यवसायीले बताएका छन् । विदेशी पर्यटक शून्य छन भने आन्तरीक पर्यटक समेत पाउन मुस्किल भएको व्यवसायीहरुको भनाइ छ ।

ठमेल क्षेत्रका व्यापारीहरुको मात्रै नभई मुलुकभरकै पर्यटन व्यवसायीको उस्तै अवस्था छ । पर्यटकको उपस्थिति शून्य भएसँगै व्यवसायीहरू फुर्सदिला बनेका छन् । महँगो घर भाडा, बैंकको व्याज बढ्दै जाने तर पर्यटनको आगमन ठप्प हँुदा कतिपय व्यवसायीले पलायन हुने अवस्थामा पलायन हुने अवस्था आएको गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप