शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाबारे अफवाह फैलाउने प्राकृतिक चिकित्सकलाई ५ हजार धरौटी

भने- ‘भारतको कुरा गरेको, युट्युवरले मोडे’
आइतबार, ११ असोज २०७७, १६ : ०५
आइतबार, ११ असोज २०७७

काठमाडौं । कोरोना भाइरसबारे अफवाह फैलाएको आरोपमा पक्राउ गरिएका प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बु धरौटीमा छुटे । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले उनलाई ५ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् । 

कोरोनाबाट ज्यान गुमाएका ब्यक्तिको शव परिवारलाई नदिएर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिएको’ हावादारी अन्तर्वार्ता दिएपछि लिम्बुलाई प्रहरीले पक्रेको थियो । रिहा हुनासाथ उनी आफ्नो पुरानो काममा फर्किसकेका छन् । ललितपुरको ढोलाहिटीमा उनले ‘अन्तिम विकल्प प्रा.लि उपरचार तथा अनुसन्धान केन्द्र’ सञ्चालन गरेका छन् । रातोपाटीले लिम्बुको नम्बरमा सम्पर्क गर्दा असिस्टेन्टले फोन उठाएर भनिन्–‘डाक्टर साप बिरामी जाँच्दै हुनुहुन्छ ।’ 

क्यान्सर र एड्स समेत निको पार्छु भनेर लिम्बुले ‘चमत्कार’ नामको आयुर्वेदिक औषधी महङ्गो मूल्यमा बिक्री गर्ने गरेका छन् । तर, कोरोनाबारे चाहिँ आफुले भ्रम नफैलाएको उनको दावी छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसँग उनले भनेका छन्– ‘भारतमा कोरोना संक्रमितको बारेमा बोलेको थिएँ तर, युट्युवरले अन्तर्वार्ता सम्पादन गरेर नेपालको सन्दर्भ जस्तो बनाइदिए ।’ लिम्बुले एक युट्युव च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरिरको अंगले निकालेर बेच्ने गरेको’ बताएका थिए । सो अन्तर्वाता धेरैले हेरेका थिए । 

प्राकृतिक चिकित्सक सुब्बाले कोरोना बिरुद्ध आफुले भ्याक्सिन समेत बनाएको दावी गरेका थिए । प्रहरीले उनलाई मुलुकी अपराध संहिता–०७४ को दफा ७० मा अनुसार ‘झुटा अफवाह फैलाएको’ कसुरमा मुद्धा चलाएको थियो । सो कसुरमा अफवाह फैलाएमा १ वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी ब्यवस्था छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप