बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनादेखि बन्द सिरहाका सामुदायिक तथा निजी विद्यालय आजदेखि खुले

आइतबार, ११ असोज २०७७, १५ : ५९
आइतबार, ११ असोज २०७७

सिरहा । कोभिड–१९ का कारण पछिल्लो ६ महिनादेखि बन्द सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।  स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी सिरहाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पातारी गाउँपालिकाभित्रका विद्यालय सञ्चालनमा आएका हुन् । सम्बन्धित स्थानीय तहको निर्णयअनुसार अवरुद्ध पठनपाठन आजदेखि नियमित सञ्चालनमा आएको मिर्चैयाका स्रोत व्यक्ति श्याम कुमार यादवले जानकारी दिए । 

मिर्चैया नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरिएको जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ को व्यवस्था बमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ । 

विद्यार्थीले विद्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाएको हुनपर्नेछ । यस्तै सामाजिक दूरी कायम गरी दुई सिफ्टमा पठनपाठन सञ्चालन  गरिएको हो । यस्तै विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन गरिएको छ ।

यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने निर्देशन गरिएको छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ । सिरहामा सामुदायिक चारसय २३  र निजी तीनसय विद्यालय रहेको  जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप