शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘हामीसँग प्रशस्त स्रोत छ, मात्र साधन भए निर्यात बढाउन सक्छौँ’

आरपी ट्रेडिङ्ग अर्थात् कपडा बजारको महत्त्वपूर्ण हिस्सा, काठमाडौँमा मात्रै २३ वटा शोरुम
आइतबार, ११ असोज २०७७, १४ : ३५
आइतबार, ११ असोज २०७७

नेपालमा युवा व्यवसायीका रुपमा स्थापित एउटा नाम हो रुपेश पाण्डे । काठमाडौं उपत्यकाको फेसन मार्केटलाई एक दशकदेखि आफ्नो पकडमा राख्न सफल उनको वीरगन्जदेखि, हेटौंडा, चितवन हुँदै काठमाडौं भरी व्यवसाय फैलिएको छ । छोटो समयमै एक सफल व्यवसायीका रुपमा आफूलाई उभ्याउन सफल रुपेशको चुंगीकर उठाउनेदेखि सफल व्यवसायीसम्मको यात्रा निकै रोचक छ ।

इमान्दार भएर निरन्तर अगाडि बढ्दा सफलता मिल्ने प्रेरणा आफ्नै बुवाबाट पाएका उनले वीरगन्जको बजारमा कुर्ता–सुरुवाल, धोती–सारीदेखि लिएर खाद्यान्नसम्म, चुंगीकरको ठेक्का लिनेदेखि काठको व्यापारसम्म, ब्राण्डेड क्लोथिङको व्यापारदेखि रियलस्टेटसम्म प्रभाव जमाएका छन् । उनी कुनै पनि कामलाई सानो देख्दैनन् ।

वीरगन्जको एक मध्यम वर्गीय परिवारका जेठो छोरा हुन् रुपेश । बुवाको कडा मिहिनेत देखेका उनले आत्मनिर्भरताका लागि बाटो खोल्न थाले । कलेजको कक्षापछि साथीभाई रमाइलोतिर लाग्थे भने उनी सिमापारी हुइकिन्थे । सीमापारबाट लत्ता–कपडा (कुर्ता–सुरुवाल, धोती, सारी आदि) किनेर साइकलमा ल्याउँथे र वीरगन्जको बजारमा बिक्री गर्थे । बाध्यता नभए पनि यो उनको फरक खालको संघर्ष थियो ।

यही संघर्षबाट उनले व्यावसायिक अनुभव र ज्ञान पाए । सानै उमेरमा उनको मेहनत देखेका नातेदारले जग्गा प्लटिङ गरेर बिक्री गर्न पनि सुझाए । फलस्वरुप उनले घर–जग्गा कारोबार गर्न सिके । सँगसँगै उनले महिला पहिरनको व्यवसायलाई वीरगन्ज, हेटौंडा र नारायणगढसम्म फैलाए ।

यति मात्र कहाँ हो र, उनले चुंगीकरको ठेक्कादेखि जंगलबाट काठ उठाउन सरकारले लाइसेन्स दिएको बेला सो काम पनि गरे । जता अवसर मिल्छ उतै दौडदै गर्दा उनमा व्यापार व्यवसायप्रतिको आत्मविश्वास बढ्दै गयो । परिणामस्वरुप आज उनी सफल व्यवसायीका रुपमा उभिएका छन् ।

इमान्दारिता, लगनशीलता र आत्मविश्वासले अवसरहरुको खोजी गर्न र परिस्थितिअनुसार अगाडि बढ्न आफूलाई सिकाएको रुपेशको भनाइ छ । हाल उनीसँग व्यापार व्यवसायको च्यानल नै छ । युवा व्यवसायी रुपेश पाण्डे एउटा विजनेश आइकनको रुपमा उदाएका छन् ।

उनको आफ्नै नामबाट सञ्चालित आर.पी. ट्रेडिङ्गले काठमाडौंमा ब्राण्डेड लुगा, जुत्ता तथा ब्यागका शोरुममा आधिपत्य नै जमाएको छ । हाल उनका रिटेल शोरुमको संख्या काठमाडौंमा मात्र २३ वटा छन्, जसमध्ये दरबार मार्गको ‘द मिलानो’ तथा ललितपुरको लबिम मलमा रहेका ‘लुई फिलिप तथा इण्डियन टेरेन’का शोरुम चर्चित छन् ।

यसबाहेक उनी रियल स्टेट तथा खाद्यान्न व्यवसायमा पनि आफ्नो साख जमाउने कोशिसमा छन् । कोरोनाभाइरसको महामारीले ठप्प व्यापार व्यवसायलाई पुनः जगाउन मैदानमा उत्रिएका उनी सुरक्षित बजार निर्माणमा व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताउँछन् ।

व्यवसायमा महामारी

कोरोनाभाइरसको प्रकोपले विश्वकै अर्थतन्त्रमा गम्भीर असर परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेन । नेपालमा फस्टाउँदो क्रममा रहेको व्यापार व्यवसाय तथा रियलस्टेटको कारोबारमा कोरोना महामारीले नराम्रो प्र्रभाव परेको छ । उत्पादन तथा बजारिकरणमा निकै अप्ठ्यारो अवस्था छ । उद्योग, कलकारखाना तथा बजार लामो समय बन्द रहँदा माग र वितरणको अवस्था शून्यमा झर्यो ।

नेपालमा एक प्रकारको आर्थिक कर्फ्युको सामना गर्नु परेको रुपेश बताउँछन् । उनी भन्छन्, ‘उद्योगधन्दा, व्यापार व्यवसायमा महामारी आयो । धेरैको रोजगारी गुम्यो, बल्ल बामे सर्न थालेको अर्थतन्त्रमा महामारीको बाढी नै आयो । मार्केट संकटमा छ, यसलाई माथि उठाउन राज्यको तर्फबाट पहल हुन जरुरी छ । ता कि हामीलाई पुरानै अवस्थामा फर्किनका लागि उत्साह मिलोस् ।’

संक्रमणकै बाबजुद अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सर्वत्र आवाज उठेसँगै सरकारले बजार खुकुलो त गर्यो तर पुरानै अवस्थामा पुग्न भने समय लाग्ने निश्चित छ । ‘केही आशा त पलाएको छ । लकडाउनका कारण खाद्यान्नबाहेक अन्य सबै व्यवसाय धरासायी अवस्थामा पुग्यो । बल्ल सरकारले संक्रमणका बावजुद अर्थतन्त्र चलायमान गराउनुपर्ने रहेछ भन्ने बुझेजस्तो देखिन्छ । अब विस्तारै बजारले पुरानो लय समात्छ कि भन्नेमा आशावादी भएका छौं,’ उनी भन्छन्, ‘पर्यटन उद्योगलाई उकास्न तत्काल सहज नभए पनि अन्य उद्योग, व्यवसाय तथा व्यापार भने अब जेनतेन धानिएला कि भन्ने आशा पलाएको छ ।’

अहिले लकडाउन खुकुलो भएसँगै व्यवसायीहरु आ–आफ्नो कर्ममा निस्किएका छन् । ६ महिनादेखि बन्द व्यापार व्यवसायमा लागेको जालो सफा गर्दैछन् । चाडपर्व नजिकिएको छ । व्यापार व्यवसायका लागि सवैभन्दा उत्तम समय अगाडि छ । व्यवसायी उत्साहित छन् तर संक्रमण बढ्दै गर्दा पुनः मुलुक लकडाउनमै जाने त होइन भन्ने त्रास कायम छ ।

रुपेशले पनि आफ्ना व्यवसायहरु सुचारु गराएका छन् । तर ग्राहकमा अझै त्रास रहेकाले बजार सुनसान भएको उनी बताउँछन् । ‘हरेक दिन बढ्दै गएको संक्रमणको संख्या र आर्थिक संकटको आभाषले गर्दा सर्व–साधारण अत्यावश्यक सामग्रीबाहेक अरु सामान खरिद गर्ने मुडमा देखिएका छैनन्,’ उनले भने, ‘अब चाडपर्वको समय आइसकेको अवस्थामा बजारमा केही न केही चहलपहल अवश्य होला, तर बजार पहिलेको अवस्थामा पुग्दैन । यसपल्टको दशैं, तिहार, छठ जस्ता पर्वहरू अघिल्ला वर्षमा झैँ खुल्ला रुपमा मनाउन नपाउने अवस्था देखिएकोले पनि बजारमा धेरै उल्लास छाउने वातावरण छैन ।’

राज्यले व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्छ

२०६० सालमा पहिलोपल्ट काठमाडौंबाट व्यवसाय शुरु गरेका रुपेशको व्यवसायिक सञ्जाल प्रदेश २ र बाग्मती प्रदेशभरी फैलिएको छ । साडी–कुर्ताको व्यापारबाट सुरु भएको उनको व्यावसायिक यात्राले रियलस्टेटसम्मको यात्रा तय गरेको छ । थुप्रै अन्तर्राष्ट्रिय ब्राण्डलाई भित्र्याएर ग्राहकको चाहनालाई पुरा गर्दै आएका उनको आर.पी.ट्रेडर्सले दा मिलानो, लुई फिलिप, इण्डियन टेरेनको बजारलाई विस्तार गरेको छ ।

आर.पी.ट्रेडर्स कुर्ता सलवार, साडीलगायतका महिला पहिरनको ठूलो सप्लायर्स पनि हो । बजारको ठूलो हिस्सा आर. पी. ट्रेडर्सका सामानले ओगट्दै आएको उनको भनाइ छ । काठमाडौं उपत्यकासँगै प्रदेश २ का समग्र व्यवसायीलाई आफ्ना सामान वितरण गर्दै आइरहेको ट्रेडर्सका सञ्चालक रुपेश बताउँछन् ।

बजारमा कुर्ता सलवार, साडीलगायतका पहिरनको ठूलो माग छ । ट्रेडर्सले ग्राहक र व्यापारीको मागअनुसारको सामान पुर्याउन कुनै कसर बाँकी नराखेको उनी बताउँछन् । अबका दिनमा व्यवसायलाई अझ फराकिलो पार्दै मुलुकको कुनाकुनामा पुग्ने योजना रहेको उनले सुनाए ।

तर समय यति असहज बन्यो कि गोदाममा सामान थन्क्याएर तालाचावी लगाएर घरमा बस्नुपर्ने ! यस्तो अवस्थाबाट बाहिर आउन राज्यले व्यापारी तथा व्यवसायीहरुलाई वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ । लगानीकर्ताको ठूलो लगानी खेर जान नदिन राज्यले पहल गर्नुपर्ने हो तर खासै चासो नदिँदा दुःख लागेको रुपेश बताउँछन् ।

हुन त अहिले सरकारले पुनर्कर्जाको नीति ल्याएको छ र पाँच प्रतिशत ब्याजदरमा व्यवसायीले ऋण पाउने व्यवस्था गरेको छ । यो एक प्रकारको राहत हो । यस बाहेक कर तिर्ने विषयमा पनि सरकारले केही राहत प्रदान गरेको छ । तर, सरकारले बजारमा चहलपहल ल्याउनका लागि थप कार्य गर्नुपर्ने उनको भनाइ छ ।

रुपेशकाअनुसार सरल कर्जा ल्याएरमात्र भएन, असल र सही व्यक्तिले सो कर्जा पाउनुपर्ने उनी बताउँछन् । त्यसको प्रत्याभूत गरेको खण्डमा सरकारप्रति व्यवसायीको विश्वास बढेर जाने उनको भनाइ छ । यो सहुलियत कर्जाले मध्यमस्तरका व्यवसायीलाई आफ्नो व्यापार जोगाउन केही राहत त मिल्ला तर, ठूला व्यवसायीलाई यो कर्जाले छोएको छैन । ठूला व्यवसायीको हकमा पनि सरकारले कुनै प्रकारको राहत प्याकेज ल्याउनुपर्ने उनी बताउँछन् ।

व्यवसायी रुपेश पाण्डे संक्रमणबाट जोगिन सरकारले लिएको रणनीति सफल नदेखिकाले अब सरकारले रोगसँग लड्दा आर्थिक इन्जिन चलायमान बनाउने कुरामा ध्यान दिन जरुरी देख्छन् ।

जबसम्म कोभिड–१९ को भ्याक्सिन सर्वसुलभ हुँदैन, कुनै पनि क्षेत्रमा सहज वातावरण बन्ने सम्भावना न्यून छ । अहिले मानिसहरू केवल बाँच्नका लागि सबैथोक गर्दैछन् । अर्को कुरा, नेपालमा जबसम्म पर्यटकहरू फेरि सहज ढंगले आउँदैनन् र संसारभरी काम गर्न गएका नेपालीहरूले फेरि काम पाउँदैनन्, तबसम्म बजार सहज हुँदैन ।

रुपेश भन्छन्, ‘हाम्रो आफ्नो कमाई खासै छैन, निर्यात एकदमै कम छ । जबसम्म उत्पादन र बिक्री वितरण सुरु हुँदैन, अर्थतन्त्रलाई गति दिन कठिन छ । उत्पादन बढाएर निर्यात गर्न सके हामी पनि माथि आउने थियौं र रोजगारी खोज्न बाहिर भौंतारिनु पर्ने अवस्थामा सुधार आउने थियो ।’

हामी निर्यात बढाउन सक्छौँ

हाम्रो देशको अर्थतन्त्र आयातमुखी भए पनि यसलाई निर्यातमुखी बनाउन सकिने व्यवसायी रुपेश बताउँछन् । उनी भन्छन्, ‘हामीसँग प्रशस्त स्रोत छ, मात्र साधनको अभाव छ । हामीले ढुंगामाटोदेखि पानी, बत्ती, जडीबुटीदेखि कृषि उपज, लत्ता कपडालगायत निर्यात गर्न सक्छौं । विश्वले हाम्रो देशको गलैंचा, पश्मिना, ह्याण्डीक्राफ्ट, चिया कफिलगायतलाई महत्व दिने गरेको छ । त्यसैगरी, अन्य सरसामानको उत्पादन गरी विश्व बजारसम्म पुर्याउन सके हामीलाई धनी हुन समय लाग्दैन ।’

नेपालका उत्पादनलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि राज्यले भूमिका खेल्नुपर्ने र कृषक अनि व्यवसायीलाई निर्यातका लागि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । ‘जस्तोः गलैंचामा हामी विश्वमै सर्वोत्कृष्ट भइसकेका थियौं, तर केही खराव व्यवसायीले नेपालमा आएर कम गुणस्तरको सामान निर्यात गरेर नेपालको छविलाई बिगार्नतिर लागे । यसमा राज्यको ध्यान जान जरुरी छ,’ उनी भन्छन् ।

नेपालले त सामानमात्रै होइन, सेवा पनि निर्यात गर्नसक्ने रुपेश बताउँछन् । ‘नेपालमा रोजगारीका लागि बर्सेनि लाखौं युवा बजारमा आइरहेका छन्,’ उनले भने, ‘युवालाई विदेशबाट काम ल्याई स्वदेशमै रोजगारी दिन सक्ने हो भने विदेशिनुपर्ने अवस्था अन्त्य हुने थियो । कति युवा उच्च शिक्षा सकेर आफ्नो दक्षताअनुसारको काम नपाउँदा विदेशिन बाध्य छन् ।’

केही कम्पनीहरु खुलेका छन् जो विदेशबाट काम ल्याउने र यहाँ रोजगारी सिर्जना गर्नेमा जुटेका छन् । यस्तोलाई राज्यले प्रोत्साहन गरी सेवा निर्यातमा पनि ध्यान दिन सके युवा पुस्तामा अहिले देखिएको ‘फ्रस्टेसन’ कम हुने उनको भनाइ छ । धेरैभन्दा धेरै व्यक्तिलाई रोजगारी दिएर आफूसँगै देशलाई पनि सम्पन्न बनाउनु पर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप