बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकार र मन्त्रीहरु पटक–पटक विवादमा

आइतबार, ११ असोज २०७७, १० : १५
आइतबार, ११ असोज २०७७

प्रदेश २ सरकार पटक–पटक चर्चा र विवादमा आउने गरेको छ । मुख्यमन्त्री, मन्त्रीहरुको बोली–व्यवहार र भूमिकाका कारण प्रदेश सरकार चर्चामा आउने गरेको हो । सरकार गठन हुने बित्तिकै मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरेको टिप्पणीले केही दिन चर्चा बटुल्यो । संघीय सरकारसँग अधिकारको विषयमा प्रदेश २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको वाकयुद्ध नै चल्ने गरेको छ ।

काम गर्ने तौरतरिकाका कारण पनि प्रदेश २ सरकार विवादमा तानिने गरेको छ । प्रदेश सरकारले बनाउने विधेयक निर्माणमा त्रुटीका कारण भएका झमेलाले पनि प्रदेश सरकार विवादमा तानियो ।  मुस्लिमसँग सम्बन्धित विधेयक, प्रहरीसँग सम्बन्धित विधेयक, दलितसँग सम्बन्धित विधेयक, पत्रकारसँग सम्बन्धित विधेयकलगायतका थुप्रै विधेयकमा सरकारका तर्फबाट भएको त्रुटीका कारण सम्बन्धित मन्त्री तथा जिम्मेवार व्यक्तिहरुले माफी नै माग्नुपर्ने अवस्था सिर्जना भयो ।

त्यस्तै उपभोक्ता समितिलाई काम गराए पनि सरकारले समयमा भुक्तानी नदिएको कारण सरकारको विरुद्धमा आन्दोलन नै भएको थियो । त्यसले गर्दा पनि सरकार लामो समयसम्म चर्चामा रह्यो ।

प्रदेश सरकारका एकजना मन्त्री शपथ लिएदेखि एक÷डेढ वर्षसम्म मन्त्रालय नै गएनन् । मन्त्री क्वाटरबाटै उनले मन्त्रालयका सबै कामकाज गर्थे । मुटुको समस्याका कारण माथिल्लो तल्लामा रहेको मन्त्रालयमा जान नसकिने भएकाले आफू क्वाटरमै बसेर काम गरेको उनको जवाफले पनि निकै समय चर्चा बटुल्यो ।

त्यसबाहेकका पनि थुप्रै यस्ता घटना छन्, जसले प्रदेश २ सरकार तथा मुख्यमन्त्री–मन्त्रीहरु विवादमा तानिए ।

सचिवको कार्यकक्षमा ताला

हालै केन्द्रबाट प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा भएर जाँदा सम्झना काफ्लेलाई कृषि मन्त्री शैलेन्द्र साहले हाजिर हुनबाट रोक लगाए । मन्त्री साहको निर्देशनमा बाहिरका युवाहरु गएर सचिवको कार्यकक्षमा ताल्चा लगाउनका साथै मन्त्रालयका कर्मचारीहरुमाथि दुर्व्यवहारसमेत गरेका थिए । मन्त्री साहले संघीय सरकारले पटक पटक सचिव फेरेको कारण काम गर्न असजिलो भएकाले नयाँ सचिवलाई हाजिर हुन नदिएको स्वीकार गरेका छन् ।

कर्मचारीले त्यसको विरोध गरेपछि कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । कर्मचारीहरुले सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

सचिवलाई झापड

यसअघि प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले २०७५ पुसमा आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, पर्यटन तथा वन मन्त्रालयका तत्कालीन सचिव विद्यानाथ झालाई झापड हानेका थिए । आफूले सिफारिस गरेको एनजिओलाई परियोजना नदिएको भन्दै उनले सचिवलाई कुटपिट गरेको बताइन्छ ।

सो घटनाको विरोधमा पनि कर्मचारीहरुले आन्दोलन गरेका थिए । आन्दोलनलाई थामथुम पार्नका लागि सरकारले एउटा छानविन समिति बनायो । सो समितिले प्रतिवेदन पनि दियो तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन ।

गम्छा र गन्जीमा ज्ञापनपत्र

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भदौको अन्तिम साता विश्व हिन्दु परिषद्को तर्फ ज्ञापनपत्र बुझाइएको थियो । आफ्नै निवासमा ज्ञापनपत्र बुझ्दा मन्त्री यादवले गम्छा र गन्जीमात्र लगाएका थिए । गम्छा र गन्जीमात्र लगाएको अवस्थामा ज्ञापनपत्र बुझ्दै गरेको उनको तस्वीर भाइरल नै भयो ।

‘सोशल डिस्टेन्सिङ माने लकडाउन’

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पाँच महिनाअघि पत्रकारहरुलाई कोरोनाको बारेमा जानकारी गराउँदा सोशल डिस्टेन्सिङ माने लकडाउन हो भनेका थिए । यो भिडियो भाइरल नै भएको थियो । उनले कोरोनाको समयमा सोशल डिस्टेन्सिङ अर्थात सामाजिक दुरी कायम गरेर बस्नुपर्छ भन्न खोजे पनि सोशल डिस्टेन्सिङको अर्थ लकडाउन हो भन्नेजसरी अभिव्यक्ति दिएका थिए । उनको यो भनाइसहितको भिडियो पनि भाइरल नै भयो ।

कन्टयाक्ट ट्रेनिङ

प्रदेश २ का अन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रले पनि भदौमा मिडिया ब्रिफिङको क्रममा आफ्ना लिखित धारणा राख्दा ‘कन्ट्याक्ट ट्रेसिङ’लाई ‘कन्ट्याक्ट ट्रेनिङ’ भनेका थिए । उनको यो भिडियो पनि निकै चर्चामा आएको थियो । लिखित भाषण पढेका उनले पढ्ने क्रममा त्रुटी गर्दा ‘टे«सिङ’ लाई ‘ट्रेनिङ’ भनेका थिए । यो भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप