शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान

शनिबार, १० असोज २०७७, १७ : २३
शनिबार, १० असोज २०७७

वाग्मती सफाइ महाअभियानले ३८५ हप्ता पार गरेको छ । विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरेर जारी राखिएको हो ।

नदी किनारको नजिकै निवास भएका सफाइ अभियानकर्मीले काठमाडौँ उपत्यकामा कोरोना बढ्दै गएको अवस्थामा पनि महाअभियानलाई जारी राखेका छन् । वाग्मतीको आजको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भयो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं। ११ का अध्यक्ष हीरालाल तण्डुकार, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ लगायत अभियानकर्मीको सक्रियता थियो । 

यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा भौतिक दूरी कायम गरेर सफाइ गरिएको छ । सफाइमा जम्मा भएको कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको जनाइएको छ ।

रुद्रमती सफाइ अभियानको ३४०औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारका दायाँबायाँ २२५ वटा गुर्जोका विरुवा रोपिएको छ । गुर्जो वितरण अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले अभियानलाई गुर्जोका विरुवा हस्तान्तरण गरेका हुन् । गुर्जोका विरुवा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले ती विरुवा रोप्नका लागि वितरण गरेका थिए ।

सो अवसरमा पूर्वमन्त्री थापाले यस्तो अभियानमा सबै सामाजिक संस्था सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । 

मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जोको धुलो महानगरपालिकाका वडा नं ७, ९ र ३० मा कोरोना पोजेटिभ आउने सबैलाई निःशुल्क सेवनका लागि उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइएको छ । कार्यक्रममा सुरक्षाकर्मीसहित १५० जना अभियानकर्मी सफाइ र गुर्जो रोपणमा सहभागी भए ।


विष्णुमती सफाइ अभियानको ३१४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा त्यस वरपरका पाँच टोलका मानिसलाई ५०० वटा गुर्जोको बिरुवा घर घरमा रोप्न हस्तान्तरण गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । 
आलोकनगर सफाइको १८४औँ हप्तामा केही बेर सफाइ गरी गुर्जोको बेर्ना बाँड्नुका साथै बगैँचाका रुख बिरुवा गोडमेल गरिएको अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिइन् । उत्तरी खण्डको चक्रपथ सफाइको १८४औँ हप्तामा त्यस क्षेत्रमा पहिलेभन्दा धेरै फोहर भेटिएको अभियानले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप