शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नजन्मिएकी छोरीलाई चिठी

शनिबार, १० असोज २०७७, १७ : १८
शनिबार, १० असोज २०७७

छोरी ! 
आरामै त छौ होला नि ?

तिमी त्यहाँ रहँदासम्म त तिमी सुरक्षित नै छौ । कुनै सन्देह नै छैन । त्यसका लागि हामी दुई जना– तिम्रो बुवाआमा नै मरिमेटेर लागिरहेका छौँ । जब तिमी बाहिर आउँछौ हाम्रो दुईजनाको मात्रै कुनै जोड चल्दैन ।  तिम्रो प्रतिरक्षाको जिम्मा तिम्रो आफ्नै हातमा हुनेछ । तिमीले पाइला–पाइलामा होस पु¥याएर हिँड्नुपर्नेछ । यहाँ तिमीले देख्ने भेट्ने गरेका मान्छेहरू सबैको अनुहार सक्कली अनुहार हुँदैन अधिकांशको त मुकुण्डोले ढाकिएको पाउनेछौ । पछिल्लो समय विश्वासको खडेरीले सम्बन्धका गाँठाहरू कमजोर बनेका छन् । समय र परिस्थितिले पराइलाई आफ्नो, आफ्नोलाई पराइ बनाउने अवस्था पनि आउन सक्छ । नजिकका टाढिने र टाढिएका नजिकिने अवस्था नआउला भन्न सकिँदैन । त्यस्तो भुमरीको बीचमा तिमी हुनेछौ । आफू सन्तुलित हुन सकेको खण्डमा कुनै तत्त्वले तिम्रो रौँ समेत हल्लाउन पाउँदैन । त्यो बेलामा एउटा दरिलो खम्बा बन्नू, कसैले पनि तिमीलाई ढाल्न वा गाल्न सक्दैन छोरी !

छोरी तिम्रो आमगनका दिनहरू छोटिँदै छन् । अब त ती दिनहरू हातका औँलामा गन्न मिल्ने भइसके । म आतुर छु तिम्रो स्वागतका लागि ! तर बिडम्बना तिमीलाई भोलि समाजले गर्न सक्ने दुव्र्यवहारको कल्पना समेतले पनि मेरो छाती भतभती पोल्छ । तिम्रो आगमनको कल्पनामा डुब्दा बेला बेलामा झस्किने गरेको छु ‘ए यो त निर्मलाको देश पो त !’ सोच्दा मन कता कता सियोले घोचेजस्तै हुन्छ । तिमीले यो सुन्दर संसारमा पदार्पण गर्दै गर्दाको पहिलो पाइलामै दैला ठेलामा ठेस लाग्ने गरी यस्तो कुरा गर्न त नहुने हो मैले । तिम्रो आगमनपछिको यात्रामा अवरोध खडा गर्न केही असामाजिक तत्त्वहरूले तिमी हिँड्ने बाटोमा काँडा उमार्न थालेका छन् । रित्ता बोत्तलहरू एसिडले भरेर राखेका छन् ।  आफ्ना आमा छोरी, दिदी बहिनीहरूलाई पुज्नेहरूले अरूका आमा छोरी र दिदी बहिनीहरूलाई त्यो मन–मन्दिरमा पाइलो समेत राख्न दिँदैनन् । छोरी ! यहाँसम्म कि अन्य महिलालाई दुव्र्यवहार गर्दा मलाई जन्म दिने पनि एक महिला नै हुन भन्ने हेक्कासमेत राख्दैन पुरुषले ।  

छोरी तिम्रो अस्तित्व खतरामा पर्छ कि भनेर तिमीले टेक्ने डाली र समाउने हाँगा बलियो बनाउन म पनि सङ्घर्षरत नै छु । मेरो औँलाको साहारा सदा सर्वदा तिमीले आफ्नो सङ्घर्षशील यात्राको कठिन मोडमा नपाउन पनि सक्छौ । त्यसैले लडेपछि कसैको साहारा बिना नै उठ्न सक्ने क्षमता तिमीमा हुनुपर्छ । मैले सङ्घर्ष रच्न सके मात्रै दुनियाँबाट बच्न सक्छु भन्ने बलियो मानसिकताका साथ तिमी आयौ भने मात्र यहाँको माहोल र परिस्थितिसँग जुध्न सक्छौ । जिन्दगीका सबै कठिन मोडहरू सजिलै छिचोल्न सक्ने साहस तिमीलाई भगवानले दिऊन् ! शुभाशीर्वाद छ छोरी तिमीलाई !      

कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित कथा–सङ्ग्रह ‘नासो’मा समेटिएको यो पङ्क्तिले बेलाबेलामा साँच्चिकै मलाई भावविह्वल नै बनाउँछ “...संसारमा नारीको सङ्ख्या पर्याप्त हुनाले पुरुष जातिले तिनको मूल्य जानेन । वस्तुको मूल्य अभावमा थाहा हुन्छ । एक गिलास पानीको मूल्य उत्तप्त निर्जल मरुभूमिमा पुगेर व्याकुल हँुदा थाहा पाएका छौँ । आज संसारबाट समस्त नारी जाति अन्तध्र्यान भइदिए यो सुन्दर जगत कति रुखो र बीभत्स हुँदो हो । यसका समस्त भौतिक सृष्टि कति चाँडो विनास हुँदा हुन् । अनि पुरुष जातिले नारीको मूल्य थाहा पाउने थियो । नारीको सम्मान र आदर गर्न नजान्नाले नै हाम्रो जीवन शोक र कलहमय भइरहेछ । नारीको अवयव स्वाभावले नै कोमल र मधुर हुन्छ । तिनबाट पशुको झै कठोर श्रम लिनु कत्रो अविचार र अन्यायको कुरा हो ।...” कथामा देखाउन खोजिएको जस्तो मात्रै होइन साँच्चिकै त्योभन्दा पनि विकराल स्थितिमा उभिएको छ हाम्रो नेपाली समाज । त्यही समाजको एउटा सदस्यको रूपमा तिमी आउँदैछौ । त्यसैले त्यसमा सधैँ चनाखो बन्नू छोरी !    

तिमीले चालेका हर पाइलाका डोबहरूले अनन्तकालसम्म भावी सन्ततिका लागि गोरेटोको काम गरोस् । एउटा रुखको कापमा उम्रिएको बिरुवाको हैसियत त्यो रुखको भन्दा नि बढी हुन्छ यदि त्यो बिरुवाले आफ्नो जरा जमिनमा नपुगुञ्जेलसम्म धैर्यता राख्यो भने । पहाडबाट गड्गडाएर बेँसीतिर झर्ने खहरेलाई कहिल्यै थाहा हुँदैन समुद्रमा पुग्दा मेरो हालत अहिलेको भन्दा निकै अनुकूल रहन्छ भन्ने कुरा । बाटोमा हिँड्दा खुट्टाले लत्याएको ढुङ्गाको मूल्य त्यो बेला थाहा हुन्छ जब तिनीहरू मन्दिरको भित्तामा टाँसिन्छन् । अझ बलियो र चोट सहन सक्ने छ भने त मूर्ति बनेर अनन्तकालसम्म मन्दिरको चोटामा पुजिएर रहने सौभाग्य पाउँछ । जब जग नै बलियो छैन भने चर्किएका भित्ताहरू मात्रै टालेर अरूलाई दिग्भ्रमित बनाउँदैमा ओत बलियो हुन सक्दैन । तिमी समाजलाई दलिन बनाएर त्यसको साहारामा बाच्ने होइन तिमी आफै दलिन बनेर सामाजलाई टेवा दिन सक्छौ । त्यसैले तिमी समाजलाई नै टेको दिन सक्ने एक बलियो खम्बा बन्नू छोरी !

समाजले तिमी जस्तोलाई कहिले पनि नारीको दर्जा दिन सकेन । दियो त केबल बुहारीको दर्जा दियो सासूबाट प्रताडित गरायो । सासूको दर्जा दियो बुहारीबाट प्रताडित गरायो । नारीले नारीको वेदना बुझ्न सक्ने क्षमता दिन सायद भगवानले पनि कञ्जुस्याइँ गरेका हुन कि ? एउटा नारी आफ्नो जीवनकालमा विभिन्न अवतारमा प्रस्तुत हुन्छे । छोरी बन्छे, बुहारी बन्छे, सासु बन्छे... तर ऊ आफू नारी भएर कहिल्यै सोच्दिन । छोरी बन्छे भाउजूलाई परेको पीडामा आँखा चिम्लेर आमाको र दाइको कान भर्नमा उद्दत रहन्छे । बुहारी बन्छे सासूको पीडाको बारेमा जानकार रहेर पनि नजरअन्दाज गरिदिन्छे । उमेर ढल्केपछि भोलि मेरो दूरवस्था पनि त्यही हो भन्ने जगजाहेर हुँदाहुँदै पनि वास्तविकतालाई लत्याएर सासूको खेदो खन्न मरिमेटेर लागेकी हुन्छे । सासू बन्छे । आफूले बुहारी हुँदा भोगेका प्रसव पीडा भुलिदिन्छे । आफू बुहारी हुँदा आइपरेका पारिवारिक झमेलाको कारण क्षतविक्षत भएको अतितको सही मूल्याङ्कन गर्न हिच्किचाइरहेकी हुन्छे । तिमीले यी सबै कुरालाई चिन्तन मनन गरी एक आदर्श नारी बन्नू छोरी !   

महिला जति नै सक्षम किन नहोस् तर ऊ माथि जानको लागि पुरुषको सहानुभूति हुनैपर्छ । त्यो सहानुभूतिभित्र पनि स्वार्थहरूको चाङ्ग लागेको हुन्छ । आफ्नो क्षमताको सही मूल्याङ्कन हुनका लागि पतिको वियोगान्तको छट्पटाई कुरेरै बस्नुपर्छ नारीले । नेपालको राजनीतिक वृत्ततिर नजर लगाउँदा यस्ता परिदृश्यहरू छरपस्टै देख्न सकिन्छ । नारीलाई पैतालामुनि नै राख्नुपर्छ भन्ने सामन्ती सोच नेपाली समाजबाट हट्न सकेको छैन । सकेसम्म नारीलाई पदीय जिम्मेवारी दिँदा पनि ‘उप’ मा चुप लगाउन सके ठूलो पुरुषार्थ सम्झन्छ पुरुषले । नारीहरूले पचाउन नसकेका यस्ता धेरै कुरीतिहरूले समाजमा जरा गाडेर बसेको छ । यसबाट कत्ति पनि विचलित नभई आफ्नो कर्तव्यपथमा लडेर लागिरहनू छोरी ! 

साँच्चिकै हामीले महिला अधिकार स्थापित गर्ने हो भने हामी छोरी, सासू, बुहारीभन्दा पनि एउटा महिला भएर सोच्न सक्नुपर्छ । महिला भित्रकै आन्तरिक कलहले सिर्जित यस्तो खालको परिस्थितिबाट छुट्कारा पाउन एउटा महिलाले अर्को महिलाको पीडालाई नजिकबाट नियाल्ने कोसिस गर्नुपर्छ । एउटा महिलाको घाउमा अर्को महिलाले महसुस गरेको चोट मिसिएको हुनुपर्छ  । यो समाज व्यग्र प्रतीक्षामा रहिरहन्छ कि छोरी नामको जन्तु हाम्रो आँगनमा टेकोस् न मात्रै त्यसलाई बाँच्न नसक्ने बनाइदिन्छु भनेर । यही कारणले अहिले कयौँ नारीहरू रुख रुखमा फलेका छन् । नदी किनारबाट ढलेका छन्, बन्द कोठाभित्र जलेका छन्, बीस सेवन गरी स्वर्गलोक चलेका छन् । यस्तो अँध्यारो कालकोठरीका लागि तिमी सधैँ एउटा बलेको दियो बनेर जग्मगाइरहनू छोरी ! 
                        
उही तिम्रो लागि सधैँ चिन्तित रहने चिन्तामणि ।
–    प्रकाशकुमार सिग्देल 
वालिङ, स्याङ्जा        

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा