शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जारी छ ऐतिहासिक सम्पदाको पुनःनिर्माण

शनिबार, १० असोज २०७७, १४ : ४९
शनिबार, १० असोज २०७७

गोरखा भूकम्पले पूर्णरूपमा क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएका छन्  । यसक्रममा केही  सम्पन्न भएका छन् त केही निर्माणाधीन अवस्थामा  छन् । दरबार हाइस्कूलको पुननिर्माण सम्पन्न भएको छ । सामुन्ने रहेको ऐतिहासिक  रानीपोखरीको काम सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । यसैगरी  धरहरा र काष्ठमण्डपको पुनःनिर्माणको कामले गति लिएको छ ।

 रानीपोखरीको निर्माणको काम सकी पानी राख्ने काम जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले जनाएको छ । पोखरीमा दुई करोड ५० लाख लिटर पानी राखिसकेको छ भने अब ८० लाख लिटर पानी राख्ने तयारी रहेको प्रधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राख्ने काम भइरहेको उनले जानकारी दिए । पछिल्लो समय प्रधिकरणको जिम्मामा काम सम्पन्न भएको हो । चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिएको छ ।   

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाए । 

यसैगरी चीन सरकारको सहयोगमा पुनःर्निर्माण भएको दरबार हाइस्कूल पनि पुनःनिर्माण सम्पन्न भइसकेको छ । सो विद्यालयको पनि समयसीमाभित्रै गत माघमा पुनः निर्माण सम्पन्न भएको हो । विद्यालयको भवनको साँचो निर्माण कम्पनीले विद्यालय व्यवस्थापन समितिलाई गत भदौ अन्तिम साता हस्तान्तरणसमेत गरिसकेको छ ।


ऐतिहासिक धरहरा पुनःनिर्माणको काम पनि तीव्ररूपमा भइरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत काम सकिएको छ । निर्माणको कामअन्तर्गत अहिले १५ तलाको काम भइरहेको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि पछिल्लो समय कारोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले  कामदारको समेत अभाव भएपछि निर्माणको काम तोकिएको समयभन्दा पर धकेलिएपछि समय थप गर्न लागिएको छ ।  सम्पदाविज्ञ मानन्धरका अनुसार निर्माण कम्पनीले दुई वर्षको लागि समय माग गरेको छ । तर कती थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन । कम्पनीको माग र आवश्यकता अनुरुप समय थप गरिने जनाइएको छ । 

दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको छ ।  निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाईएको छ ।  
    
एघार तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । निर्माधिन धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भईरहेको छ । 

त्यसैगरी काष्ठमण्डप पुनःनिर्माणको काम पनि तोकिएको समयमा नै सक्ने गरी धमाधम काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले केही समय काम रोकिएको भए पनि अहिले निर्माणको कामले गति लिएको जानकारी दिए । 

काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्ने जनाईको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप