शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँको मुखमा आयात हुन सकेन सामान, बजारमा देखियो प्रभाव

शनिबार, १० असोज २०७७, १३ : २४
शनिबार, १० असोज २०७७

काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिना यता बजार खुलाइएपनि पर्याप्त सामान नहुँदा व्यापार प्रभावित भएको व्यवसायीहरुको गुनासो छ । खासगरी चीनतर्फको केरुङ नाकाबाट मालबस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन् । 

चाडपर्व नजिकिदै छ । व्यापारको मूख्य सिजन पनि चाडपर्व नै हो । दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्य वस्तु, घरायसी सामग्री लगायतका बस्तुहरुको आयात पनि धेरै नै गरिएको हुन्छ । तर यस वर्ष कोभिड–१९ संक्रमण जोखिमका कारण चीन तर्फको केरुङ नाकाबाट कुनैपनि समाग्री भित्रिन सकेको छैन । जसको असर काठमाडौं लगायत देशका ठूला बजारमा पर्ने देखिएको छ ।

 बजारका व्यापारीहरु पनि बेच्ने सामान नभएका कारण व्यापार बढाउन नसकिएको बताउँछन् । खासगरी लत्ताकपडा चीन तर्फबाट सबैभन्दा धेरै आयात हुन्छ । तर यस वर्ष आयात गरिएको समान पनि केरुङ नाकामै रोकिदा पुरानै स्टक सामग्री मात्रै विक्री गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । 

बजारमा पर्याप्त सामग्री नहुादा बजार भाउपनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा पनि व्यवसायीहरु छन् । काठमाडौंको न्यूरोड, असन, भोटेबहाल लगायतका क्षेत्रमा पुग्दा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा विक्रीका लागि मूख्य सिजन भएपनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन् ।

 चीन तर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुनसक्ने पनि उनीहरुले बताए । व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्ता आफूहरुमा रहेको व्यवसायी उपेन्द्रप्रसाद शर्माले बताए । 

अर्का व्यवसायी जीवन चौलागाईंले नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढदै जाँदा व्यवसायीहरुले चीनबाट केरुङ नाका हुँदै समान आयात गर्न नसकेको बताए । 
केरुङ नाकामा आएका १ हजार भन्दा बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको हो । व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् । कन्टेनरहरु छुटाउन नसके बजारमा सामानको अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप