शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१४ अर्ब बराबरको नोक्सानी व्यहोरेको होटल व्यवसाय ‘वेट एण्ड सी’ मा

दशैँ–तिहार पछि व्यवसायले गति लिने विश्वास
शनिबार, १० असोज २०७७, १२ : २१
शनिबार, १० असोज २०७७

काठमाडौं । कोभिड–१९ महामारीका कारण झण्डै ६ महिना बन्द रहेको होटल व्यवसाय अन्ततः सञ्चालन हुन थालेको छ । असोज १ गतेदेखि सार्वजनिक यातायातसँगै आन्तरिक उडान समेत खुल्ला गर्ने सरकारी निर्णय भएसँगै होटल व्यवसाय सञ्चालनमा आएका हुन् ।  १२० दिन लामो लकडाउन (बन्दाबन्दी) र त्यस लगत्तैको २८ दिने निषेधाज्ञा छिचोल्दै गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि सबैखाले सार्वजनिक यातायात, आन्तरिक उडानसहित पर्यटन क्षेत्र खुल्ला गर्ने निर्णय गरेको थियो । योसँगै मुलुकभित्रको पर्यटन व्यवसायले विस्तारै गतिलिन सुरु गरेको छ । सरकारी निर्णय आएसँगै यतिखेर काठमाडौं उपत्यकासहित देशभरीका होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु क्रमशः खुल्न थालेका छन् । 

पर्यटन व्यवसाय खुल्ला भएपनि अझै कोभिड–१९ को संक्रमण र जोखिम कायमै रहेको अवस्थामा पर्यटकको चहल पहल भने सुरु नभएको व्यवसायीहरुको भनाइ छ । तर पर्यटकको अभावमा व्यावसायिक ग्यारेन्टी नभए पनि व्यवसायमा फर्कन आफुहरुले प्रयास गरिरहेको होटल एशोसिएशन अफ नेपाल (हान)ले बताएको छ । 

‘कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा व्यावसायिक फाइदाका लागिभन्दा पनि व्यावसायिक पुनर्जागरणका लागि हामी व्यवसायमा फर्किन लागेका हौं,’ हानका उपाध्यक्ष विनायक शाहले भने । 
उनका अनुसार हाल उपत्यकासहित उपत्यका बाहिर रहेका हान अन्तर्गतका करिब ३ हजार ४ सय हाराहारीका साना–ठूला तथा मझौला होटलहरु सञ्चालनमा आउन थालेका छन् । विविध समस्याका बाबजुद केही ठूला तारे होटलहरु बाहेक अधिकांश साना तथा मझौला होटल संचालनमा आएको उनले जनाए ।

तर अहिले आफूहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको उनको भनाइ छ । ‘तत्काल व्यावसायिक वातावरण नभए पनि व्यवसायको पुनर्जागृतिका लागि हामी व्यवसायमा फर्किएका हौं,’ उपाध्यक्ष शाहले भने, ‘हेर्दै जाउँ व्यवसायले अब कसरी गति लिँदै जान्छ !’

दशैं–तिहारपछि व्यवसायले गति लिने विश्वास  
अतिथिहरु नभए पनि व्यवसाय खुला गरेर पुनर्जागृतिमा लागेका व्यवसायीहरुले दशैं–तिहारलाई लक्ष्य बनाएका छन् । सरकारले कार्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल आगमन खुल्ला गर्ने निर्णय गरिसकेको अवस्थामा दशैं–तिहारपछि मुलुकमा पर्यटन गतिविधि बढ्ने र व्यवसाय हुनेमा व्यवसायीहरु आशावादी छन् । 
‘सरकारले नै आगामी कार्तिक १ गतेदेखि विदेशी पर्यटकहरुलाई समेत आगमन खुल्ला गर्ने निर्णय गरिसकेको छ । बन्दका कारण धेरै विदेशी पर्यटकहरु अहिले उतै रोकिएका छन् । खुल्ने वित्तिकै ती पर्यटकहरु नेपाल आउने निश्चित छ,’ उपाध्यक्ष शाहले भने, ‘त्यसपछि होटल व्यवसायले गति लिनेमा हामी विश्वस्त छौं । 

यता साना तथा मझौला होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघले पनि दशैं–तिहारपछि व्यावसायिक सुधारको अपेक्षा गरेको छ । अहिले सामान्य रुपमा व्यवसायमा फर्किए पनि व्यावसायिक वातावरण नभएको तर कार्तिक–मंसिरपछि भने वातावरण सहज हुने महासंघको भनाइ छ ।

होटल व्यवसायीहरु व्यवसायमा फर्किए पनि अहिले नै व्यावसायिक वातावरण तयार नभइसकेको होटल तथा पर्यटन व्यावसायिक संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले रातोपाटीसँग बताए । 

‘हामीले व्यावसायिक सुरुवात त ग¥यौं तर यो निकै कठिन समय हो । बजारमा कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेको अवस्थामा पर्यटन गतिविधिहरु अघि बढेका छैनन्,’ उनले भने, ‘विदेशी पर्यटक त के, यहाँ स्वदेशी पर्यटकहरु समेत यतिखेर निर्धक्क रुपमा बाहिर निक्लन सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा होटल व्यवसाय कसरी राम्रो होस् !’ उनी पनि विस्तारै व्यवसायले गति लिने विश्वास व्यक्त गर्छन् ।
अध्यक्ष उप्रेतीका अनुसार सरकारी निर्णय लगत्तै होटल व्यवसायी संघ बागमती प्रदेश अन्तर्गत रहेका होटल व्यवसायीहरुलाई व्यवसायमा फर्कन संघले पत्राचार गरिसकेको छ ।  

आन्तरिक तयारीमा जुट्दै व्यवसायी
व्यावसायिक सुरुवातसँगै यतिखेर होटल व्यवसायीहरु कर्मचारी व्यवस्थापनसँगै होटल व्यवस्थापनको आन्तरिक तयारीमा जुटेका छन् । करिब ६ महिना होटल बन्द रहेका कारण व्यावसायिक वातावरण धुमिल भएको भन्दै व्यवसायीहरु यतिबेला कर्मचारी व्यवस्थापन तथा आन्तरिक तयारीमा जुटेका हुन् ।

‘अहिले हामीले घरमा बेकामी भएर बसेका कर्मचारीहरुलाई काममा फर्काउने र आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी तालिम तथा प्रशिक्षण दिने काम गरिरहेका छौं,’ शाहले भने ।
अहिले व्यावसायिक सुरुवातका लागि ७÷८ प्रतिशत कर्मचारीलाई मात्र काममा फर्काइएको उपाध्यक्ष शाहको भनाइ छ । अन्यलाई पनि क्रमशः काममा फर्काउने तयारी भइरहेको उनले जानकारी दिए । 

१४ अर्ब नोक्सान
कोरोनाको कहरबीच होटल व्यवसाय क्षेत्रले मात्र करिब १४ अर्ब रुपैयाँ नोक्सान व्यहोरिसकेको होटल एशोसिएशन अफ नेपाल(हान)को भनाइ छ । गत डिसेम्बर २०२० मा चीनको ऊहानमा कोभिड–१९ को संक्रमण देखिएसँगै प्रभावित हुँदै आएको नेपाली होटल व्यवसायले मासिक सरदर २ अर्बका दरले करिब १४ अर्ब रुपैयाँ नोक्सान व्यहोरेको हानका उपाध्यक्ष शाहको भनाइ छ । त्यसो त होटल, पर्यटन तथा हवाई क्षेत्र सबै गरी सो समयमा करिब ६० अर्ब रुपैयाँ नोक्सान भएको स्वयं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको तथ्याङ्कले देखाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप