शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै, सरकारद्वारा थप कडाइ

शनिबार, १० असोज २०७७, ११ : ३५
शनिबार, १० असोज २०७७

लन्डन । करिब ६ महिना अघि बेलायतमा शुरु भएको कोरोनाको पहिलो लहर पछिल्ला केही महिनायता सामान्य बन्दै आएको थियो ।  यद्धपि संक्रमित हुनेको संख्या पाँच सयको हाराहारीमा रह्यो भने मृतक संख्या घटेर सिंगल डिजिटमा झरेको थियो । यस अवधिभित्र झन्डै ४ लाख बेलायतीहरु  कोरोना संक्रमित बने भने करिब ४१ हजार मानिसहरु कोरोनाको शिकार बन्न पुगे । 
जसमध्ये करिब ६ दर्जन जति गैरआवासीय नेपालीहरु पनि रहेका छन् ।  कोरोना संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका कारण यो अवधिमा व्यापार व्यावसाय लगायत मानवीय जीवनमा समेत ठूलो असर पुग्यो । तर नागरिकको जीवनस्तर उकास्न र मारमा परेका व्यवसायलाई टिकाइराख्नको लागि सरकारले विभिन्न खालका राहत प्याकेजको घोषणा गर्यो । 

बेरोजगारीको समस्या समाधान गर्ने उद्देश्यले सरकारले ‘फर्लो‘ स्किम लागू गर्यो जसका कारण आफूले पाउने ज्यालाको ८० प्रतिशतसम्म रकम सरकारले बेहोर्यो जुन आउँदो अक्टुबरसम्म पनि कायमै रहनेछ । तर पछिल्लो समयमा फर्लो स्किम अन्तर्गत भुक्तानी गरिने रकम ८० प्रतिशतलाई घटाएर ७० प्रतिशतमा झारिएको छ । त्यस्तै व्यापार व्यवसायलाई पनि विभिन्न खालका ग्राण्ड, कर छुट लगायतका सुविधाहरु सरकारले उपलब्ध गरायो, जसका कारण अधिकांश साना तथा मझयौला व्यावसायहरु  पहिलो लहरबाट सहजै उम्किए ।

तर पछिल्लो केही साता बेलायतमा कोरोनाको संक्रमणको संख्या तीव्र रुपमा वृद्धि हुन् थालेको छ । कोरोनाको दोस्रो लहर आउन सक्ने सम्भावना सबैले अनुमान गरेका थिए । सरकारले पनि यसको तयारी भित्रभित्रै गर्दै आएको थियो । गएको केही  दिनयता कोरोना संक्रमितको संख्या  र मृत्यु हुनेको संख्या ६ महिना यताकै उच्च रह्यो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घन्टाभित्र ४ हजार ९ सय २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । 

बुधबार सार्वजनिक तथ्याँक अनुसार थप एक चौथाई कोरोना संक्रमित थपिएर यो संख्या ६ हजार एक सय ७८ पुग्यो । बिहीबार ६ हजार ६ सय ३३ जनामा कोरोना  संक्रमित पुष्टि भएको थियो भने शुक्रबार यो संख्या बढेर ६ हजार ८ सय ७४ पुगेको छ । यस्तै यसबीचमा मृत्यु हुनेको संख्या पनि ३० देखि ४० जनाको बीचमा रह्यो । शुक्रबार साँझसम्म सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोना संक्रमितको संख्या ४ लाख २३ हजार २ सय ३६ पुगेको छ ।  यसैगरी कोरोना सनाक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ९ सय ३६ पुगेको छ । 

कोरोनाको संक्रमण बढेसँगै  यसको नियन्त्रणको लागि बेलायत सरकारले थप कडा कदम चालेको छ । ‘रुल अफ सिक्स’ को नियम लागू गरिसकेको छ जस अन्तर्गत ६ जना भन्दा बढीको सामाजिक भेटघाटलाई गैर कानूनी घोषणा गर्दै जरिवाना समेत तोकिसकेको छ । मास्क नलगाउने र ‘रुल अफ सिक्स’ को नियम उल्लंघन गरेवापतको जरिवानालाई दोब्बर गरेर दुई सय पाउण्ड पुर्याइएको छ । 
यसअघि यो जरिवाना रकम पहिलोपटक एक सय पाउण्ड निर्धारण गरिएको थियो । यसैगरी  कोरोना संक्रमित पोजिटिभ भएकाहरुले सेल्फ आइसोलेशनको नियम पालना नगेर एक हजार देखि १० हजार पाउण्ड सम्म जरिवाना तिर्नुपर्ने नियम आउँदो सोमबार अर्थात सेप्टेम्बर २८ बाट लागू हुँदैछ । 
प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार टेलिभिजन सम्बोधन मार्फत गत बिहीबारदेखि इङ्ल्यान्डका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी सेक्टरका सबै व्यवसाय राति १० बजे बन्द गरिसक्नुपर्ने बताएका छन् । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ ।  बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेर अलर्ट लेभल ४ पुग्दै गर्दा सरकार थप सतर्कताको प्रयासमा जुटेको छ ।  
यसअघि सरकारका विज्ञ सल्लाहकारहरुले पनि समयमै सही कदम चाल्न नसके अक्टोबर दोस्रो सातासम्म नयाँ संक्रमणको केसहरु दैनिक ५० हजार पुग्न सक्ने चेतावनी दिइसकेका छन्  । विश्वभरमा कोरोनाका काराण ज्यान गुमाउनेको संख्या दश लाखको हाराहारीमा पुगेको छ भने तीन करोड २७ लाख ४२ हजार भन्दा बढी संक्रमित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप