झापा कारागारमा कोरोना, कैदीबन्दी त्रसित
झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ ।
गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । उहाँहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।
“कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ”, झापा कारागारका कैदीबन्दीको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले रासससँग भने, “राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेका छौँ ।”
उनले हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्मा एक हजार १४३ कैदीबन्दी रहेको बताए । जबकी यो कारागारको क्षमता ३५० मात्र हो । पालो गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको, कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोल मात्र दिने गरेको, साबुनपानी तथा स्यानिटाइजर उपलब्ध नभएको उनले गुनासो गरे ।
अर्का कैदी रमेश पोखरेलले थुनेर राखेका कैदीबन्दीको पनि बाँच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कारागारमा कैदीबन्दीको चाप घटाएर स्वास्थ्य सुरक्षा र उपचारको प्रबन्ध मिलाउनुपर्ने माग गरे । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कैदीबन्दीमा सामाजिक दूरी कायम हुन नसक्ने अवस्था भएकाले सर्वोच्च अदालतले गत महिना दिएको आदेशअनुसार सरकारले कारागारमा कैदीबन्दीको चाप घटाउनु पर्ने उनको धारणा छ । “हामी पनि राज्यका नागरिक नै हौँ”, सङ्क्रमणका बेला बाँच्न पाउने कैदीबन्दीको हकको हनन भइरहेको दाबी गर्दै पोखरेलले भने ।
झापा कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको स्वासप्रस्वास (दम)का १००, टिबीका २०, किड्नीका आठ, मुटुका १२ , मानसिक बिरामीका ३५, एचआइभीका चार, मधुमेहका ३० र ज्येष्ठ नागरिक ९० जना कैदीबन्दी छन् ।
कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको जनाउँदै झापा कारागारका प्रमुख राजेन्द्र गौतमले अत्यधिक चापका कारण कैदीबन्दीमा सामाजिक दूरी कायम गर्न नसकिने बताए । उनले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेकोे बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास