मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

हामीले आफैँलाई दास बनाइरहेका छौँ

आइतबार, ०१ असोज २०७४, १२ : १६
आइतबार, ०१ असोज २०७४

मणिन्द्र पुरुष उपाध्याय

कहिल्यै कसैको दास नबनेको हाम्रो देश अहिले केही दलभित्रका पनि केही व्यक्तिहरूको दास बनेको छ र हामी उनीहरूको दासत्वमा बाँच्न विवस र अभ्यस्त भइसकेका छौँ । वास्तवमा भन्ने हो भने ती व्यक्तिहरू पनि विदेशीको दास भएका छन् । यसरी हेर्ने हो भने हाम्रो देश अहिले अर्को देशको अघोषित दास भएको छ । हाम्रै पुस्ताले भोगेको अघोषित नाकाबन्दीको बेला हामीले यस स्थितिलाई प्रष्ट रूपले थाहा पायौँ । यो स्थितिको जिम्मेवार विदेशी वा नेता नभएर हामी आफैँ हौँ ।
हाम्रो इतिहास हेर्ने हो भने हामी देशभित्रकै राजा वा वंशमा आधारित शासनको अधीन थियौँ तर २००७ सालभन्दा अघि कुनै पनि विदेशीको दास भएका थिएनौँ । पृथ्वीनारायण शाहका अन्य नकारात्मक पक्षहरू थिए होलान् तर उनले आफ्नो व्यक्तिगत स्वार्थको निम्ति वा अन्य कुनै बहानामा पनि नेपालमा विदेशीलाई अनावश्यक हस्तक्षेप गर्न दिएनन् । अहिले उनको दिव्योपदेश लत्याएर त्यसको ठ्याक्कै विपरीत काम भइरहेको छ । 
जङ्गबहादुर राणा र उनको वंशमा आधआरित शासनकाल अत्यन्त निन्दनीय थियो तर आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रतामा उक्त कालमा यति धेरै प्रहार हुन सकेको थिएन । तर २००७ सालपछि नेपाली जनता देशभित्रको एउटा वंशको दासत्वबाट त मुक्त भए तर फेरि देशभित्रकै यस्ता व्यक्तिहरूको दासत्वमा फसे कि जसले नेपाली जनतालाई विदेशीको दास त बनाए नै आफूलाई समेत विदेशीको दास बनाए जुन स्थिति आजको दिनसम्म जारी छ । यो क्रम झन् बढ्दै गइरहेको छ भन्ने कुरा नेपालीहरू अति कम तलबका लागि दिन दिनै हजारौँको सङ्ख्यामा विदेशीको दास बन्न जानुपर्ने बाध्यता, वर्षैपिच्छे अनियन्त्रित रूपमा बढिरहेको व्यापार घाटा र नेपालीहरूले दैनिक रूपमा उपभोग्य वस्तु चामल, दाल, तरकारी जस्ता कुरा पनि विदेशबाट ल्याउनुपर्ने अवस्थाले छर्लङ्ग्याउँछ ।
कुनै बेला व्यक्तिगत स्वार्थका लागि करोडौँ रूपियाँमा सांसद किनेर विदेशीलाई खोला बेचे, सरकारमा भएको बेला उखान र जोक गरी समय बितायो तर आत्मालोचना गरेर ती सन्धिहरूको पुनरावलोकनका लागि समेत प्रयास गर्ने हिम्मत गर्न सकेनन् । तर सरकारबाट बाहिरिएपछि रिस पोख्न सरकारमा भएकालाई उक्त सन्धि खारेज गर्न नसकेको आरोप लगाउने हिम्मत गर्दैछन् । अहिले सम्पूर्ण तराई डुबेर कैयौँको ज्यान गयो । शव दाह गर्ने खालि ठाउँसमेत नभएर पानीमै शव बगाउनुपर्ने स्थिति आयो । तिनलाई राहत र उद्धारका लागि कुनै राहतको पहल गरी सरकारलाई मात्र सराप्नु जनतावप्रति अनुत्तरदायी हो । 
आफ्नो निर्वाचन क्षेत्र छुट्टै प्रदेशमा गाभिएर अर्काको हातमा जाने देखेर आफ्नो राजनीति गर्ने ठाउँ नरहने देखेपछि विरोध गर्नु र नाकाबन्दीका बेला कूटनीतिक पहल नगर्ने तर जनताको सहानुभूति लिन गरिएको विरोधलाई नै राष्ट्रवाद देख्ने हामी जनताकै कारणले राजनीतिका फोहोरी खेलाडीहरूले हामीलाई दास बनाइरहेका छन् । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न भाषणलाई मात्र आधार मानेर तिनलाई राष्ट्रवादी मानी जिताउनु भनेको आफूलाई आफैले दास बनाउनु हो ।
सरकारमा गएपछि आफूले गरेका कामलाई भन्दा भाषणका आधारमा उनीहरूलाई राष्ट्रवादी घोषणा गरिदिन्छौँ र भोट दिएर पुरस्कृत गरिदिन्छौँ हामी । जुन दलको व्यक्तिले मेयर निर्वाचित भएपछि १०१ दिनभित्र राजधानीलाई विश्वकै उत्कृष्ट बनाउँछु भनेर घोषणा गर्छन् तर जितेपछि जनताको पैसाले करोडौँको गाडी र फोनजस्ता विलासी सुविधा मात्र उपभोग गर्नतिर लगेको हामीले प्रत्यक्ष देखिसकेका छौँ । सडकका खाल्डा पुर्ने जस्ता सामान्य काम गर्न पनि नसक्नु कति योग्य उम्मेदवार हुन भन्ने सहजै अनुमान गर्न सकिन्छ । संस्कारयुक्त वैकल्पिक राजनीतिक दलहरू हुँदाहुँदै पनि अन्त्यमा त्यही दललाई राष्ट्रवादी भनेर मत दिनु हाम्रै बेइमानी हुनेछ । 
राजनीतिक दलका आडमा जुन व्यक्ति स्वास्थ्य क्षेत्रलाई सेवाका रूपमा लिएर विकट ठाउँमा स्वास्थ्य सेवा पुर्याउनुको साटो काठमाडौँमा नै मेडिकल कलेज स्थापना गरी व्यापार गर्न पाउनुपर्ने निजी स्वार्थका कुरा गर्छ । नेपालका कुनै पनि अस्पतालको विश्वास नगरेर विदेशतिर उपचारका लागि जान्छ ।  आफ्नो देशमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै पहल गर्दैन । जनताले साधारण रोगको उपचार गर्न नपाई ज्यान गुमाउनुपर्ने स्थिति सिर्जना गर्दछन् । जनताले तिरेको करोडौँ रूपियाँ खर्च गरी विदेश गएर उपचार गराउँछन् उनीहरुलाई नै सच्चा देशभक्त मानेर देश सुम्पन्छौँ । यहीँनेर हामीले आफूले आफैँलाई उनीहरूको दास बनिरहेका हुन्छौँ ।
राज्यलाई तिर्नुपर्ने करोडौँ कर नतिर्नेलाई मेयरको उम्मेदवार बनाउने दल र त्यसको नेतृत्वकर्तालाई हामी राष्ट्रवादि देख्छौँ । निर्वाचन आचार संहिताको धज्जी उडाउने गरी तोकेको भन्दा बढी पैसा खर्च गर्ने, मेयरको घरमा निर्वाचनकै कर्मचारीको मिलेमतोमा रातारात मतदाता नामावली सङ्कलन गर्नेलाई हामी राष्ट्रवादी देख्छौँ । देशको झण्डा बोक्नुको साटो पार्टीको झण्डा समाउने र जथाभावी पार्टीका झण्डा राखेर बदनाम गराउने पार्टीभक्तलाई हामी राष्ट्रभक्त देख्छौँ । यहीँ हो हाम्रो दासत्वको जड । 
मौका पर्दा विदेशीलाई आफ्नो भूमि बेच्न पछि नपर्ने अनि जनतासामु भाषण गर्दा त्यही कुरा विदेशीलाई गाली गर्दैमा कोही देशभक्त हुँदैन । अब पनि भाषणको आधारमा मात्र नभएर जितेपछि गरेका कामका आधारमा भोट दिने बानी बसाल्न सकिएन भने हामीले मात्र होइन हामीले दिएको भोटले हाम्रा सन्तानलगायत आउने कैयौँ पुस्तालाई दास बनाइरहनेछ र त्यसको जिम्मेवार हामी नै हुनेछौँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप