बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तोमा डलर साट्ने नाममा लुट्ने समूह, जसले भक्तपुरमा ‘लुट आतंक’ मच्चाए

२ महिनामा २७ लाख लुट्ने ५ जना पक्राउ
शुक्रबार, ०९ असोज २०७७, २२ : ५०
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । भक्तपुरको ठिमीस्थित चारदोवाटो चोकको कपडा पसल ।  साउन लागेपछि सो पसलमा नयाँ ग्राहक आएर कपडा लिए । ती ग्राहक दोस्रोपटक पनि आए । कपडा किनेपछि भने– ‘हामीले चिनेको एकजना टुरिष्ट गाईडसँग १० हजार डलर छ !’ 

‘अमेरिकाबाट नेपाल घुम्न आएका पर्यटकले भुलवश छाडेको झोलामा सो डलर भेटियो ।’ उनीहरुले थपे–‘त्यो गाईड साह्रै सोझो छ,  ५ लाख पाए उसले १० हजार डलर दिन्छ ।’ त्यसपछि कपडा पसलेको ध्यान मोडियो । डलरको स्याम्पल देखाए, ओरिजिनल थियो । पाँच लाख दिएर उनी ‘टुरिष्ट गाईड’को डलर साट्न राजी भए ।

साउन १९ मा उनीहरुले कपडा पसलेलाई ५ लाख लिएर सिद्धकाली मन्दिरमा बोलाए । डलर भनेर रुमालको पोको दिए । ‘पुलिस आयो, छिटो गर्नुस’ भन्दै उनको पाँच लाख लिएर भागे । रुमालको पोको खोलेर हेर्दा थाहा भयो–डलर हैन, कागज रहेछ ।  साउनयता भक्तपुरमा यस्ता ५ वटा घट्ना भए । किराना पसले, जग्गा कारोबारी र विदेशबाट फर्किएकालाई सस्तोमा डलर साट्ने लोभ देखाउने गिरोहले ‘लुटपाट आतंक’ मच्चायो । २ महिनाको अवधिमा २७ लाख लुटपाट भयो । 

लुटपाटमा संलग्न ५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ छिन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोलीले शुक्रबार उनीहरुलाई पक्रेको हो ।  खेलबहादुर र रेलबहादुर बाह्रबिसे–३ का हुन् । अन्य तीनजना बाह्रबिसे–६ का हुन् ।  ‘डलर साट्ने नाममा झुक्याएर साउनपछि सो समूहले ५ ठाउँमा लुटेको खुलेको छ’ महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर सुवास बुढाथोकीले भने–‘थप अनुसन्धान गरिरहेका छौं ।’ 

किराना पसलेको १० लाख गुम्यो

भक्तपुरको बोडेस्थित किराना पसल । रोल्पा घर भएका दम्पतीले सो पसल चलाउँथे । थोपा–थोपा जम्मा गरेर केही पैसा उनीहरुले बैंकमा राखेका थिए ।  लुटेरा समूहले ‘किराना पसलबाट थोरै आम्दानी हुन्छ बरु, डलर साटे एकैपटक धेरै कमाइन्छ’ भनेर लोभ्याए । त्यो लोभमा परेर किराना पसलेले ९ लाख ८० हजार गुमाए । असोज ६ मा बाह्रबिसेका लुटेराले ‘डलर हो’ भन्दै कागजको बिटो दिएर किराना पसलेको पैसा लुटेका थिए । 

गोरखा घर भई काठमाडौंको धापासी बस्ने सुदर्शन थापालाई सो समूहले  बिहीबार सुर्यविनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेजमा बोलाए । ‘डलर हो’ भन्दै कागजको पोको दिएर  ५ लाख लुटेर भागे । पोर्चुगल बसेर फर्केका ३० वर्षीय थापालाई लुटेरा समूहले सस्तोमा डलर साट्दा ५० प्रतिशत फाईदा हुने भन्दै नाफा बाँड्ने आश्वासन दिएका थिए । सो लोभमा उनी धापासीबाट बालकोट पुगेका थिए । 

सो समूहले ३१ भदौमा दिब्यश्वरी टाउन प्लानिङमा जग्गा कारोबार गर्नेबाट ५ लाख लुटेका थिए । प्रहरीले उनीहरुको साथबाट ‘डलर’ भनि झुक्याउन तयार गरिएको कागजको बिटा २ बण्डल र २ लाख ४२ हजार नगद बरामद गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप