शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा डलर देखाई रकम लुटपाट गर्ने ५ जना पक्राउ

शुक्रबार, ०९ असोज २०७७, २० : २५
शुक्रबार, ०९ असोज २०७७

भक्तपुर । प्रहरीले डलर देखाई लुटपाट गर्ने समूहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले उक्त समूहका पाँच जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर न.पा. १ बस्ने वर्ष ३६ को खेलबहादुर तामाङ र सोही ठेगाना भएका वर्ष ३३ का रेलबहादुर तामाङ रहेका छन् । 

सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी नपा वडा नं. ९ बस्ने वर्ष ५६ को श्यामबहादुर तामाङ, सोही ठेगानाको वर्ष २५ को रामकृष्ण तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।  सिन्धुपाल्चोक बाह्रबिसे नपा ६ घर भई हाल भक्तपुर जिल्ला मध्यपुरठिमी नपा– वडा नं. ९ बस्ने वर्ष ३२ की कान्छी तामाङ रहेकी छिन् । 

प्रहरीको अनुसन्धानबाट उनीहरुले विगत केही समयदेखि व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिहरूलाई फोन गरि पहिला देखिनै चिनजान भएको जस्तो व्यवहार गर्दै लुटपाट गर्ने गरेको खुलेको छ ।  आफुसँग प्रशस्त मात्रामा अमेरिकन डलर रहेको र सो डलर सस्तोमा साटिदिन्छु भनि बिभिन्न बहाना बनाएर अमेरिकन डलर देखाई उनीहरुले नेपाली रुपैयाँ लुटपाटका गर्दै आएको प्रहरीको भनाई छ ।  

उक्त समूह असोज ८ गते सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौ धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटी फरार भएका थिए ।  खोजतलास गर्दै जाँदा शुक्रबार मध्यपुरठिमी न.पा. वडा नं. ९ बाट ८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरी परिसरका नि.सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले बताए ।  अनुसन्धान पश्चात ३ जना व्यक्तिहरुको संलग्नता नदेखिएकालाई आजकै मितिमा छाडिएको तथा घटनामा संलग्नता देखिएका बाँकी ५ जना व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।  

विभिन्न स्थानमा लुटपाट
प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैंयाँ २ लाख ४२ हजार ९३५, बिभिन्न कम्पनीका मोबाईल ५ थान, मोटरसाइकल २ थान, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो– २ बण्डल बरामद गरेको छ । उक्त समूहले साउन ८ गते मध्यपुरथिमि वडा नं. ९ बोडेमा ३ लाख लुटपाट गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । साउन १९ गते  मध्यपुरथिमि नगरपालिका वडा नं. ५ बोडेमा ४ लाख लुटेका थिए । 

भदौं मध्यपुरकै बोडेमा ५ लाख, असोज ६ गते मध्यपुरथिमि  नगरपालिका वडा नं. ९ बोडेमा ९ लाख ८० हजार र सूर्यविनायक न.पा. ०२, बालकोट, रोजभिलेज नजिक ५ लाख रुपैयाँ लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।  यसबारेमा थप अनुसन्धान भइरहेको साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको नि.सूचना अधिकारी प्रहरी निरिक्षक बुढोथोकीले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप