बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवमाथि दुर्व्यवहार प्रकरणः छानविन गर्न समिति गठन

शुक्रबार, ०९ असोज २०७७, १८ : ४१
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा भइ हाजिर हुन गएकी सम्झना काफ्लेलाई हाजिर हुन नदिएको विषयमा भएको घटनाको बारेमा छानविन गर्न सो मन्त्रालयले एक समिति गठन गरेको छ । प्रदेश २ का कृषि राज्यमन्त्रीको संयोजकत्वमा सो समिति गठन गरिएको हो । पशु सेवा विभागबाट प्रदेश २ को कृषि मन्त्रालयमा सरुवा भएर गएकी सचिव काफ्ले असोज ७ गते हाजिर हुन मन्त्रालय गएकी थिइन् तर कृषिमन्त्री शैलेन्द्र साहले बाहिरका व्यक्तिहरु लगाएर हाजिर हुनबाट रोक्न लगाएका थिए । 

मन्त्रीका स्वकीय सचिव नवनित झाको नेतृत्वमा गएका युवाको एक समूहले मन्त्रालयमा कर्मचारीहरुलाई दुर्व्यवहार गर्नुका साथै सचिवको कार्यकक्षमा तल्चा लगाएका थिए । यतिसम्मको घटना बाहिर नआयोस् भनेर उनीहरुले  मन्त्रालयमा रहेका सीसीटीभी बन्द समेत गराएका थिए ।

सो घटनाको समाचार रातोपाटीले असोज ८ गते प्रकाशित गरेको थियो । समाचारमार्फत घटना बाहिर आएपछि कर्मचारीहरुले त्यसको छानविन गर्न माग गरेका थिए । मन्त्रालयभन्दा बाहिरका मान्छे मन्त्रालयमा छिरेर कर्मचारीहरुलाई दुरव्यवहार गर्नुको साथै सचिवको कार्यकक्षमा नै ताला लगाउनु अपराधिक काम भएको हुनाले त्यसमा देखिएका दोषीलाई कारवाही गर्न कर्मचारीहरुले माग गरेका थिए ।

दोषीमाथि कारवाही नभएसम्म आफूहरु काम नगर्ने चेतावनी समेत दिएका थिए । त्यहाँ कार्यरत कर्मचारीहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सरकारका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेर समेत ध्यानाकर्षण गराएका थिए । दोषीमाथि .कारवाही भएन भने आफूहरुले ती व्यक्तिहरुमाथि सार्वजनिक मुद्दा चलाउने समेत चेतावनी दिएका थिए ।

त्यसपछि मात्र घटनाका छानविनका लागि मन्त्री साहले राज्यमन्त्री यादवको नेतृत्वमा समिति गठन गरेका छन् । कृषि मन्त्रालयका निमित्त सचिव विजय महतोले कृषि मन्त्री साहले राज्यमन्त्रीको संयोजकत्वमा एउटा छानविन समिति गठन गर्ने भनि कुरा गरेको तर त्यो गठन भयो कि भएन त्यो आफूलाई जानकारीमा नआएको बताए ।

स्रोतका अनुसार सो समितिमा कृषि निर्देशनालय र पशु निर्देशनालयका प्रमुखलाई पनि राखिएको छ । यस विषयमा जान्नका लागि मन्त्री साह र राज्यमन्त्री यादवसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप