बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा कोरोना महामारीः स्थानीय सरकारको खर्च ८ करोड ४२ लाख

शुक्रबार, ०९ असोज २०७७, १२ : १३
शुक्रबार, ०९ असोज २०७७

भक्तपुर । हाल विश्वभर नै कोरोना भाइरसको महामारी फैलिएको छ । धेरै देशहरुमा कोरोनाकै कारणले गर्दा सरकारको खर्चसमेत अत्यधिक भइरहेको देखिन्छ । समाचार तयार पर्दासम्म कोरोना भाइरसको संक्रमणको कारणले नेपालमा ४२९ जनाको मृत्यु भइसकेको छ भने यो रोगको संक्रमण ६६ हजार ६ सय ३२ जनामा देखिएको छ ।

भक्तपुरमा कोरोना भाइरसको कारणले अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । संघीय सरकार मातहतमा रहेको खरिपाटीस्थित क्वारेन्टाइनमा चीनबाट नेपाली विद्यार्थी ल्याएर सुरुको नेपालको कोरोनासँगको लडाईं अहिलेसम्म जारी छ । केही समय अगाडी स्वास्थ्य मन्त्रालय यस भाइरसको संक्रमण सुरु भएयता नेपाल सरकारले करिब १० अर्ब रुपैयाँ खर्च भएको सार्वजनिक गरेको थियो ।

संघ, प्रदेश र स्थानीय सरकारले के कति रकम यो महामारी रोक्न खर्च गरे पूर्ण रुपमा हालसम्म सबैको सार्वजनिक गरेका छैनन् । स्वास्थ्य सुरक्षा सामाग्री, क्बारेन्टाइन, आइशोलेसन, भेन्टिलेटर, शव व्यवस्थानपनलगायलका शीर्षकमा रकम खर्च हुदैं आएको छ ।

भक्तपुरमा कुन नगरपालिकाको कति खर्च ?

चार स्थानीय सरकार रहेको भक्तपुर जिल्लामा करिब ८ करोड रुपैयाँ कोरोना भाइरस नियन्त्रण र यससम्बन्धी कार्यमा खर्च भएको नगरपालिकाहरुले जानकारी दिएका छन् । स्थानीय सरकारहरुले राहत, सामुहिक खाना, मास्क, सेनेटाइजर, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेशन निर्माण, पीसीआर ल्याव निर्माण, अस्पताल सञ्चालन लगायतमा रकम खर्च गरेका छन् ।

मध्यपुरथिमी नगरपालिका

यो नगरपालिकामा हालसम्म कोरोना संक्रमणका कारणले १३ जनाको मृत्यु भइसकेको छ । ७ सय १० जना मानिसमा संक्रमण देखिएको छ । नेपाल कोरिया मैत्री नगर अस्पतालसमेत सञ्चालन गरेको यस नगरपालिका भक्तपुरमा खर्चको हिसाबले पहिलो नम्बरमा देखिन्छ ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामी अहिलेसम्म करिब ४ करोड १० लाख रुपैयाँ कारोना संक्रमण खर्चमा भयो’ । थप ४० लाख रुपैयाँ वातावरण परीक्षण किट ल्याउने तयारी भइरहेको समेत उनले जानकारी दिए । 

यो सबै जोड्दा मध्युपरथिमि नगरपालिकको खर्च करिब ४ करोड ५० लाख हुन आउँछ । नगरप्रमुख श्रेष्ठका अनुसार १ करोड २० लाख रुपैयाँ पीसीआर ल्यावमा नै खर्च भएको छ, ८० लाख किटमा नै खर्च हुनेछ ।

कोरोना विषेश एम्बुलेन्स सञ्चालन, ६ वटा भेन्टिलेटरसहितको आइसीयू नगरपालिका अस्पतालमा सञ्चालन गरिसकेको छ । राहत वितरण र सामुहिक खाना कार्यक्रमण समेत यो नगरपालिकाले सञ्चालन गरेको थियो । हाल कृषि विकास बैङ्कको तालिम केन्द्र बोडेमा ६८ र नगर अस्पतालमा २० शैय्या क्षमताको आइसोलेशन कक्ष निर्माण भइसकेको समेत नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

चाँगुनारायण नगरपालिका

यो नगरपालिमा हालसम्म कोरोना संक्रमणका कारणले कसैको पनि मृत्यु भएको छैन । हालसम्म १ सय ७४ जना मानिसमा संक्रमण देखिएको छ । यस नगरपालिका भक्तपुरमा खर्चको हिसाबले दोस्रो नम्बरमा देखिन्छ ।

नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार थप केही सामाग्री ल्याउने तयारीसमेत भइरहेकाले अहिलेसम्म करिब २ करोड रुपैयाँ कोरोना महामारीको कारणले खर्च भइसकेको छ ।

नगरपालिकाले राहत वितरणमा ६८ लाख ३८ हजार, खाद्यन्नको लागि रोजगार कार्यक्रम ५० लाख, औषधी तथा स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा १८ लाख ३६ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

त्यसैगरि ५० प्रतिशत अनुदानमा कृषि बिउ वितरणमा १४ लाख, आपतकालिन खाद्य भण्डारको लागि पानी व्यवस्थापन ९३ हजार र जनचेतनाकालागि ४० हजार खर्च गरेको छ ।

क्वारेन्टाइनमा खाना व्यवस्थापनमा २ लाख ९५ हजार, अन्य खर्च लगायतमा ७८ हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जानकारी दिएको छ । यी सबै कुरालाई जोड्दा चाँगुनारायण नगरपालिकाले कारोना भाइरस संक्रमणको  लागि १ करोड ५६ लाख रुपैयाँ खर्च गरिसकेको देखिन्छ । ‘थप ल्याउन लागिएको स्वास्थ्य सामाग्रीका लागि करिब ४४ लाख खर्च हुने अनुमान भएकाले २ करोड हाराहारीमा खर्च हुने देखिन्छ,’ नगर प्रमुख मिश्रले भने ।

भक्तपुर नगरपालिका

यो नगरपालिकामा हालसम्म कोरोना संक्रमणका कारणले ६ जनाको मृत्यु भएको छ । हालसम्म ४ सय ४५ जना मानिसमा संक्रमण देखिएको छ । यस नगरपालिका भक्तपुरमा खर्चको हिसाबले तेस्रो नम्बरमा देखिन्छ ।

नगरप्रमुख सुनिल प्रजापतिको सचिवालयले उपलब्ध गराएको विवरण अनुसार पहिलो चरणमा राहत, क्लोरिन, वडागत निकाशा, मास्क, सेनेटाइजर, कर्मचारीको बीमालगायतमा १ करोड ११ लाख ८९ हजार २ सय ४२ रुपैयाँ खर्च देखिएको छ । त्यसैगरी दोस्रो चरणमा भने मास्क, सेनेटाइजर, क्वारेन्टाइन व्यवस्थापनलगायतमा ४ लाख १८ हजार ८ सय ५८ रुपैयाँ खर्च भएको देखिन्छ । भक्तपुर नगरपालिकाले कोरोना भाइरसको रोकथामका लागि १ करोड १६ लाख ८ हजार १ सय रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

सूर्यविनायक नगरपालिका

यो नगरपालिमा हालसम्म कोरोनासंक्रमणका कारणले ५ जनाको मृत्यु भएको छ । हालसम्म २ सय ६३ जना मानिसमा संक्रमण देखिएको छ । यस नगरपालिका भक्तपुरमा खर्चको हिसावले चौँथो नम्बरमा देखिन्छ ।

नगरपालिकाका सूचना अधिकार अनिरुद्ध नेपालका अनुसार ८ सय ६२ घरधुरीलाई राहत वितरण गर्दा करिब ५२ लाख रुपैयाँ खर्च भएको छ । जसमा चामल, दाल, तेल, नुनलगायतका दैनिक उपभोग्यवस्तु दिइएको थियो ।

‘पीपीई सेट, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री खरिदमा १६ लाख ५० हजार खर्च भएको छ,’ सूचना अधिकारी नेपालले भने ।

होल्डिङ सेन्टरका लागि २ लाख ८७ हजारको बिल प्राप्त भए अनुसारको भुक्तानी नगरपालिकाले गरेको छ । नगरपालिकाको आफ्नै क्वारेन्टाइन व्यवस्थापनमा ५ लाख रुपैयाँ खर्च भएको सूचना अधिकारी नेपालले रातोपाटीलाई जानकारी दिएका छन् ।

सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि ७६ लाख ३७ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । भक्तपुरका चार वटा नगरपालिकाले हालसम्म कारोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि करिब ८ करोड ४२ रुपैयाँ खर्च गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप