इतिहासमा आज – उत्तर कोरियाको कब्जाबाट मुक्त भयो सिओल

आज २५ सेप्टेम्बर । सन् १९५० मा अमेरिकी सेनाले दक्षिण कोरियाको राजधानी सिओल उत्तर कोरियाको कब्जाबाट मुक्त भएको घोषणा गरेको थियो । यसअघि कोरियाली युद्ध सुरु भएको केही दिनमै (२८ जुनभित्र) उत्तर कोरियाले सिओलमा कब्जा जमाएको थियो ।
अमेरिकी सेनाका प्रवक्ताका अनुसार अमेरिका र दक्षिण कोरियाली सेनाले मिलेर हान नदी पार गर्दै उत्तर कोरियाको पकड रहेको दक्षिण पहाड कब्जामा लिएका थिए । त्यस्तै, शहरको केन्द्रमा रहेको डुक सो दरबारमा पनि अमेरिकी सेना पुगेको थियो । यो दरबार मुख्य रेलवे स्टेशनबाट ६ सय मिटर टाढा पर्छ ।
सिओललाई नियन्त्रण मुक्त गर्ने क्रममा अमेरिका तथा दक्षिण कोरियाली सेनाका धेरै सैनिकले ज्यान गुमाउनुप-यो ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्रको संलग्नता
दोस्रो विश्वयुद्धपछि जापानीहरुले कोरिया छाडेर हिँडेलगत्तै यसको उत्तरतर्फ सोभियत युनियन र दक्षिणतर्फ अमेरिकाले कब्जा जमाएका थिए, ३८ औँ समानान्तर रेखाको वारपार दुबै देशका सैनिक बस्थे । त्यसयता, उत्तरतरर्फ सोभियतको समर्थनमा किम इल सुङ नेतृत्वको कम्युनिष्ट सरकार र दक्षिणतर्फ सिङ मेन रिईको नेतृत्वमा कम्युनिष्ट विरोधी पुँजीवादी सरकार खडा भएपनि दुबैले सिंगो कोरियाको शासक आफैलाई ठान्थें, त्यसैले उनीहरुले सीमारेखालाई कहिल्यै स्थायी रुपमा स्वीकारेनन् ।
प्रतिफलस्वरुप, विवाद चर्कदैं गयो, उत्तरतर्फको सेनाले सीमाक्षेत्र पार गरेर २५ जुन १९५० मा दक्षिण कोरियामाथि हमला गरेपछि संयुक्त राष्ट्रसंघबाट स्वीकृति लिएर अमेरिकालगायतका पश्चिमा देशले उत्तर कोरियामाथि हमला गरे, यस दस्तामा ९० प्रतिशत सैनिक अमेरिकी थिए ।
सुरुमै आक्रामक देखिएको उत्तरी सेना २८ जुनभित्र सिओल पुगिसकेको थियो, त्यहाँबाट उसलाई हटाउन अमेरिकी गठबन्धनलाई थप तीन महिना लाग्यो, तर युद्ध अन्त्य भएन ।
बरु, नोभेम्बर आइपुग्दा अर्को चीनले खुलेर उत्तर कोरियालाई साथ दियो । सोभियत युनियनले पहिलेदेखि नै सैन्य सहयोग गरिरहेकै थियो, चीनको साथपछि उत्तर थप आक्रमक भयो । यसपछि थप तीनपटक उत्तरले सिओल कब्जा ग-यो, अनि अमेरिकको साथ पाएको दक्षिणले पनि त्यहाँबाट तीनपटक नै उत्तरको सेनालाई लखेट्यो ।
तीन वर्षसम्मको युद्धपछि २७ जुलाई १९५३ मा ‘कोरियाली आर्मिस्टिक सम्झौता’मा हस्ताक्षर भयो । यतिबेलासम्म युद्ध जहाँबाट सुरु भएको थियो, उत्तर कोरियाली सेना त्यहीं फर्किइसकेको थियो । यस सम्झौताले कोरियाली डिमिलिट्रीलाईज्ड जोन ‘डिएमजेट’(सैन्यरहित क्षेत्र) सिर्जना ग¥यो, यही क्षेत्र दुई देशीय सीमा क्षेत्र हो । सम्झौताअनुसार उत्तर र दक्षिण कोरिया दुबैले बन्दी बनाइएका सैनिकलाई रिहा गरे ।
यद्यपि, कुनै स्थायी शान्ति सम्झौतामा हस्ताक्षर भएन । आधुनिक युगका सर्वाधिक ठूला विध्वंशमध्ये कोरियाली युद्ध पनि एक हो । यसमा झन्डै ३० लाखले ज्यान गुमाए, युद्धका क्रममा कोरियाका (दक्षिण र उत्तर दुबैतर्फ) झन्डै सबै प्रमुख शहर ध्वस्त भए, लाखौं निर्दोषको ज्यान गयो ।
अन्य घटनाक्रम
– फ्रान्स र इङल्यान्डबीच सन् १३४० मा निःशस्त्रीकरण सन्धीमा हस्ताक्षर ।
– सन् १६३९ मा अमेरिकामा पहिलो प्रिन्टिङ प्रेसको सुरुवात ।
– सन् बेलायतमा १८९७ मा पहिलो बस सेवाको सुरुवात ।
– सन् १९९९ मा काठमाडौंमा आठौं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको उद्घाटन ।