शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा एक पुरुषको मृत्युपछि कोरोना पुष्टि

बिहीबार, ०८ असोज २०७७, १९ : १०
बिहीबार, ०८ असोज २०७७

चितवन । जिल्लामा एक जनाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि आज सङ्क्रमण पुष्टि भएको हो । ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।
 
यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आज नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना सङ्क्रमणबाट  मृत्यु थियो  ।  

प्रदेशस्तरीय सरुवा रोग अस्पतालमा बनाइने 

भरतपुर अस्पतालमा प्रदेश स्तरीय सरुवारोग अस्पताल बनाइने भएको छ । पचास श्ययाको अस्पताल निर्माणका लागि भरतपुर अस्पताललाई आवश्यक प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्राचार गरेको छ । अस्पताल विकास समतिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार मन्त्रालयले सरुवारोग रोकथाम, नियन्त्रण र उपचार एवम् स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितको अस्पताल निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रम अन्तर्गत यहाँ प्रदेश स्तरको अस्पताल निर्माण गरिने भएको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा त्यस प्रकारको ३ सय श्ययाको केन्द्रीय र न्यूनतम ५० श्ययाको प्रदेशस्तरीय अत्याधुनीक सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने जनाइएको थियो । 

सोही अनुरुपको प्रदेश स्तरीय अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापनाका लागि मन्त्रालयले ८ करोड निकासा दिने गरि अस्पताललाई पत्राचार गरेको अध्यक्ष डा.अधिकारीको भनाई छ । मन्त्रालयले पत्राचार गरेसँगै आवश्यक प्रक्रिया अघि बढाइएको  छ । अस्पतालको गुरुयोजनामा सरुवा रोग अस्पताल बनाउने ठाउँ नछुट्याइएकाले कुन ठाउँ उपयुक्त हुन्छ भन्ने विषयमा गृहकार्य थालिएको उनले जानकारी दिए । उनले भने– “एक वर्ष भित्रै काम गर्नु पर्ने भएकाले ठाउँ पहिचान गरि तत्काल काम अघि बढाउँछौ ।” संघीय अस्पताल भएको र चितवन सहित छिमेकी जिल्लाहरुबाट समेत बिरामी आउने भएकाले मन्त्रालयले भरतपुर अस्पताललाई प्राथमिकतामा राखेर अस्पताल निर्माणका लागि छनोट गरेको हो । 

यसैगरी  अस्पताललाई संघीय सरकारले विशिष्टिकृत आकास्मिक सेवा भवन निर्माणका लागि मन्त्रालयले  ९ करोड विनियोजन गरेको छ । मन्त्रालयले अस्पताललाई पत्राचार गरि ५० श्ययाको आकास्मिक कक्ष निर्माणका लागि निर्णय भएकाले प्रक्रिया अघि वढाउन निर्देशन गरेको छ । अध्यक्ष डा अधिकारीले बजेटको सुनिश्चितता भएसँगै निर्माणका लागि आवश्यक प्रक्रिया अघि वढाउन लागिएको जानकारी दिए । हालको आकस्मिक कक्ष साँघुरो र जीर्ण भएको छ । आकस्मिक कक्षमा बिरामीको बढ्दो चापसँंगै अव्यवस्थित भए पछि मन्त्रालयमा छुट्टै कक्ष निर्माणका लागि बजेट माग गरिएको थियो । 

मन्त्रालयले अस्पताललाई गत वर्ष निकासा गरेको  ८ करोडलाई  निरन्तरता दिएको छ । यसैगरी मन्त्रालयले मदनभण्डारी ट्रमा सेन्टरका लागि  १ करोड, फर्नीचरका लागि रु ५० लाख, अस्पतालमा औजार खरिदका लागि  ३ करोड, बन्दै गरेको ‘सि’ ब्लकका लागि  ५ करोड निकासा दिने भएको जनाइएको छ । अस्पतालमा खानेपानी र फोहोर व्यवस्थापनका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले सहयोग गर्ने भएको छ । उनले भने– “१२ करोड हाराहारी खर्च हुने देखियो । यसका लागि स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको जानकारी आएको छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप