शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनता समाजवादी पार्टीमा शुरु भयो समायोजन प्रक्रिया

बिहीबार, ०८ असोज २०७७, १७ : २१
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा एकीकृत भएका तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले आ–आफ्नो केन्द्रीय सदस्यको नामावली बुझाईसकेपछि समायोजनको प्रकृया अगाडि बढेको छ । तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरुले आ–आफ्नो तर्फबाट सदस्यको नामावली बुझाईसकेपछि कार्यसमितिको समायोजना प्रकृया शुरु भएको छ । जसपा नेपालका नेता रामसहाय यादवले भने, ‘दुवै पार्टीको तर्फबाट केन्द्रीय सदस्यको नामावली बुझाउने काम सायद भइसकेको होला, अब समायोजनको काम अगाडि बढ्छ ।’

पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय समितिको संख्या ७०१ रहनेछ । त्यसमा दुवै दलले आधा–आधा केन्द्रीय सदस्य राख्न पाउनेछन् । त्यसमध्ये ५१ सदस्यीय कार्यकारिणी समिति यसअघि नै बनिसकेको छ । जसमा तत्कालीन राजपा नेपालले २६ जना र समाजवादी पार्टीले २५ जना राखेका छन् । बाँकी रहेका ६५० मा दुवै दलले ३२५–३२५ जना नयाँ नाम पठाएका छन् ।

समाजवादी पार्टीले पहिलेदेखि ३२५ जनाको नाम ठिक पारेर राखेको थियो तर राजपा नेपालमा भने नामावलीमा कुरा मिलिरहेको थिएन । ६ जनाको अध्यक्षमण्डलमा भागबण्डा गर्दा र नेताहरुको संख्यामा कुरा नमिल्दा निकै समय लागेको हो । तैपनि अहिले उनीहरुले आ–आफ्नो तरिकाले नाम बुझाएको स्रोतले जनाएको छ । राजपा स्रोतकाअनुसार उसले ३२५ जनाको नामावली बुझाउने ठाउँमा ३८४ जनाको नाम बुझाएको छ ।

राजपा नेपालमा अध्यक्षमण्डलका बीचमा कुरा नमिलेपछि आ–आफ्नो लिस्ट बुझाइएको छ । समायोजनका लागि गठन भएको ५ जनाको कार्यदलले त्यस बारेमा छलफल गरि केन्द्रीय समितिको टुंगो लगाउने बताइएको छ । केन्द्रीय समितिको टुंगो लाग्ने वित्तिकै प्रदेश, जिल्ला, पालिका, भातृसंगठन लगायत विभिन्न विभाग र समितिहरुको समायोजन शुरु हुने बताइएको छ । समायोजनका लागि निर्देशिका बनिसकेको छ ।

सोही निर्देशिकाअनुसार समायोजनको प्रकृया अगाडि बढ्ने छ । पार्टीको सम्पूर्ण एकता प्रकृया मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य सो पार्टीले लिएको छ । गत बैशाख ७ गते समाजवादी पार्टी र राजपा नेपालको बीचमा एकीकरण भएको थियो । असार २८ गते सो पार्टीले निर्वाचन आयोगबाट आधिकारिता पाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप