शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध

बिहीबार, ०८ असोज २०७७, १५ : ४६
बिहीबार, ०८ असोज २०७७

गुल्मी । अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो । अहिले सडक खुलाउने काम भइरहेको छ ।

त्यसैगरी रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डअन्र्तगत सत्यवती गाउँपालिका–४ नादेवा, वडा नं ५ बाँदरेभीर र वडा नं. ६ डहरेलगायत स्थानमा पहिरो खसेपछि आज बिहानदेखि सो सडक अवरुद्ध बनेको छ । यस्तै रिडी–खज्र्याङ्ग र तम्घास–इन्द्रेगौंडा सडक पनि बिहानैदेखि अवरुद्ध बनेको छ । रिडी–खज्र्याङ्ग सडक खण्डअन्र्तगत मनबाग र मुसिकोट नगरपालीका– ३ स्थित भन्ज्याङ्गमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । पानी परिरहेका कारण पहिरो हटाउन समस्या भइरहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

सडक अवरुद्ध बनेपछि गुल्मीदेखि पाल्पा–बुटवल आवतजावत गर्ने यात्रु थप समस्यामा परेका छन् । लगातारको वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप