बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ का कृषिमन्त्री साहले सचिवलाई हाजिर हुनबाट यसरी रोके

बिहीबार, ०८ असोज २०७७, १५ : ५३
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । कर्मचारी सरुवाका बारेमा संघीय सरकार र प्रदेश २ सरकारबीचको टकराव पेचिलो बन्दै गएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोटो अवधिमै मन्त्रालयका सचिवको सरुवा हुँदा काम गर्न असजिलो भएको गुनासो संघीय सरकारसमक्ष गरेका थिए । तर बुधबार प्रदेश २ सरकार अलि बेग्लै ढंगले प्रस्तुत भयो ।
प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा भइ हाजिर हुन गएकी सचिव सम्झना काफ्लेमाथि दुर्व्यवहार भएको छ । संघीय कृषि मन्त्रालयबाट प्रदेश २ को कृषि मन्त्रालयमा सरुवा भएकी उनलाई मन्त्री शैलेन्द्र साहले हाजिर हुन दिइरहेका छैनन् । 

सचिव काफ्ले बुधबार हाजिर हुनका लागि मन्त्रालयमा गएकी थिइन् । तर मन्त्रीका स्वकीय सचिव नवनित झाले बाहिरका मान्छेहरु लगेर होहल्ला गर्नुको साथै सचिवको कार्यकक्षमा तल्चा लगाइ हाजिर हुनबाट रोकेका छन् । कर्मचारीहरुले सचिव काफ्लेलाई स्वागत गरिरहेको ठाउँमै पुगेर उनीहरुले होहल्ला गर्नुको साथै कर्मचारीहरुलाई दुर्व्यवहारसमेत गरेका थिए । 

युवाको एक समुहले हाजिर रजिस्टरसमेत खोसेर लगेको त्यहाँका एक कर्मचारीले बताए । मन्त्रालयका निमित्त सचिव विजय महतोले सचिव काफ्लेको स्वागतमा कार्यक्रम आयोजना गरेका थिए ।
काफ्ले मन्त्रालयमा प्रवेश गर्ने बित्तिकै उक्त समूहले सचिवको कार्यकक्षमा ताल्चा लगाएर दुर्व्यवहार गर्नुका साथै हाजिर हुन नदिएको कर्मचारीहरु बताउँछन् । ती युवाहरुले गरेको दुरव्यवहार रेकर्ड नहोस् भनेर बुधबार सीसीटीभीसमेत बिगारेर राखिएको स्रोत बताउँछ ।

स्रोतका अनुसार बुधबार सचिव काफ्ले हाजिर हुन आउने थाहा पाएपछि मन्त्री साहले मन्त्रालयका कर्मचारीहरुलाई बिहानै आफ््नो निवासमा बोलाएर सचिवलाई हाजिर हुन नदिन निर्देशन दिएका थिए । पटक पटक सचिव फेरिनाले काम कारवाहीमा समस्या भएको भन्दै मन्त्री साहले नयाँ सचिवलाई मन्त्रालयमा हाजिर हुन नदिनु भनि निर्देशन दिए पनि कर्मचारीले मन्त्री साहको निर्देशन मानेका थिएनन् । कर्मचारीले निर्देशन नमानेपछि मन्त्री साहले बाहिरका मान्छे बोलाएर सचिवलाई हाजिर हुनबाट रोकेको कर्मचारीहरुको आरोप छ । 

स्रोतका अनुसार सचिवलाई हाजिर हुनबाट रोक्नुको मुख्य कारण भनेकै मन्त्री साहले आफ्ना नजिकका कर्मचारी शंकर साहलाई निमित्त सचिवमा राख्न खोज्नु हो । कृषि कार्यालय धनुषामा कार्यरत शंकर साहलाई मन्त्री साहले कृषि मन्त्रालयको खाद्य सुरक्षा महाशाखाको जिम्मेवारी पनि दिएका छन् । निमित्त सचिव विजय महतोलाई हटाएर उनले शंकरलाई निमित्त सचिव बनाउन पहिलादेखि नै प्रयास गरिरहेका भए पनि सफलता पाएका थिएनन् । त्यतिकैमा संघीय सरकारले सचिवको जिम्मेवारीसहित काफ्लेलाई सरुवा गरेर पठाएपछि मन्त्री झन् क्रुद्ध भएर उनलाई हाजिर हुनबाट रोकेको बताइन्छ ।

सचिव काफ्लेले भनिन्, ‘म सरुवा भएर कृषि मन्त्रालयमा हाजिर हुन गएको थिएँ, त्यहाँका कर्मचारीहरुले स्वागत कार्यक्रम राखेका थिए । त्यसमा सहभागी भएपछि आफ्नो कार्यकक्षमा जाँदा ताल्चा लागेको थियो, हाजिरी रजिस्टर खोज्दा त्यो पनि पाइएन, अनि मलाई असहज भयो र त्यहाँबाट निवास फर्केँ ।’

यो विषयमा आफूले प्रमुख सचिव पोखरेललाई जानकारी गराइसकेको बताउँदै उनले बिहीबार त्यसको छिनोफानो हुने बताइन् । 
यस विषयमा मन्त्री साहसँग बुझ्दा उनले संघीय सरकारले पटक पटक सचिव सरुवा गर्ने, दुई÷तीन महिना मै सरुवा गर्ने गरेको विरोधमा आफूले हाजिर हुन नदिएको प्रतिकृया दिए । उनले सचिव काफ्लेलाई हाजिर हुनबाट रोक्नेहरु आफ्ना स्टाफहरु रहेको बताए ।

कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले सरुवा भइ आउने सचिवलाई स्वागत गर्ने कि हाजिर हुन नदिने भन्ने विषयमा मन्त्री साहले आफूसँग छलफल नै नगरेको बताए । पटक पटक सरुवा गरेको विषयमा मुख्यमन्त्री राउतले संघीय सरकारसँग कुरा गरिरहेको बताउँदै उनले आइसकेका सचिवलाई यसरी यो तरिकाले हाजिर हुनबाट रोक्नु गलत भएको बताए ।

आफू तीनदेखि काठमाडौमा रहेको र बिहीबारमात्र जनकपुर फर्केको कारण धेरै कुरा थाहा नभएको उनको भनाइ छ । तर जुन कुरा बाहिर आएको छ, त्यसले राम्रो सन्देश नदिएको उनले बताए ।
मन्त्री साहले राज्यमन्त्री यादवलाई मन्त्रालयमा कुनै जिम्मेवारीसमेत दिएका छैनन् । मन्त्री साह र राज्यमन्त्री यादवबीचको सम्बन्धसमेत राम्रो नरहेको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

यस विषयमा मुख्यमन्त्री लालबाबु राउत र कृषिमन्त्री साहबीच पनि भनाभन भएको स्रोतको दावी छ । मन्त्री साहले सचिवलाई आफूले हाजिर नगराउने र निमित्तबाटै काम गराउने अडान मुख्यमन्त्रीसामु रहेको बताइन्छ । मुख्यमन्त्री राउतले भने सरुवा भएर आएका सचिवलाई हाजिर हुन दिनुपर्ने तर्क गरेपछि मुख्यमन्त्री र मन्त्रीबीच केहीबेर भनाभनसमेत भएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री राउतसँग भनाभन भएपछि मन्त्री साहले आफ्नो फेसबुकमा ‘म कसैको आदेशपालक होइन’ र ‘म जनादेशको पालना गर्छु, होइन भने जिम्मेवारी छोड्छु’ भनेर स्टाटस लेखेका छन् । 
त्यहाँका कर्मचारीहरु बाहिरका मान्छे ल्याएर आफूहरुमाथि दुर्व्यवहार भएको बताउँछन् । सचिवलाई हाजिरबाट रोक्न बाहिरका गुण्डा प्रयोग भएको उल्लेख गर्दै उनीहरु कार्यस्थलमा आफूहरुसमेत सुरक्षित नरहेको बताउँछन् ।
सचिवलाई हाजिर हुनबाट रोकेपछि त्यहाँका कर्मचारीले प्रदेश २ सरकारका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेर ध्यानाकर्षण गराएका थिए । मन्त्रालयमा आफूहरु असुरक्षित रहेको भन्दै उनीहरुले प्रमुख सचिव पोखरेलसँग सुरक्षा माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप