बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका पादुकोणको ह्वाट्सएप च्याट कसरी सार्वजनिक भयो होला ?

बिहीबार, ०८ असोज २०७७, १५ : १९
बिहीबार, ०८ असोज २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान अब बलिउडमा ड्रग्सको अनुसन्धानसम्म पुगिसकेको छ र यो पूरा प्रकरणमा केससँग सम्बन्धित मानिसहरुको ह्वाट्सएप च्याट पनि मिडियामा लिक भइरहेका छन् ।

हालै अभिनेत्री दीपिका पादुकोणको ह्वाट्सएप च्याट मिडियामा देखिएको छ जहाँ उनी कसैसँग ड्रग्स मागिरहेकी छिन् ।

साथै, च्याट केही वर्ष पुरानो भएको र डिलिट भइसकेको पनि बताइन्छ । तर अनुसन्धान एजेन्सीले त्यो पायो ।

तर यो कसरी सम्भव भयो ? के यो जानकारी ह्वाट्सएप आफैंले अनुसन्धान एजेन्सीलाई दिएको हो वा कुनै अरु तरिकाले उक्त च्याट मिडियासम्म पुगेको हो ? र ह्वाट्सएपले प्राइभेसीको विषयमा जुन दाबी गरेको छ के त्यसमा ऊ खरो उत्रिएको छ ?

के ह्वाट्सएपले मेसेज स्टोर गर्छ ?

ह्वाट्सएपको प्राइभेसी पोलिसी अनुसार कम्पनी सामान्यतया प्रयोगकर्ताको मेसेज राख्दैन । एकपटक प्रयोगकर्ताको मेसेज डेलिभर भएपछि त्यो उनीहरुको सर्भरबाट डिलिट हुन्छ ।

 यदि कुनै लोकप्रिय भिडियो वा फोटो धेरै प्रयोगकर्ताले सेयर गरेका छन् भने कम्पनीले त्यो आफ्नो सर्भरमा ‘लामो’ समयसम्म राख्नसक्छ ।

प्रयोगकर्ताको मेसेज इन्क्रिप्टेड हुन्छ जसको अर्थ यो हो एक डिभाइसबाट अर्को डिभाइससम्म मेसेज पुग्नु अघि ह्वाट्सएप वा कुनै थर्ड पार्टीले त्यो पढ्न सक्दैनन् ।

प्रयोगकर्ताको परफर्मेन्स सम्बन्धि जानकारी पनि ह्वाट्सएपले जम्मा गर्छ । जस्तै प्रयोगकर्ताले ह्वाट्सएप कसरी प्रयोग गर्छन्, कसरी अरुसँग संवाद गर्छन् ।

ह्वाट्सएपले तपाईंको जानकारी एकजुट गर्न सक्छ, प्रयोग गर्न सक्छ, त्यसलाई स्टोर गर्न सक्छ र सेयर पनि गर्न सक्छ, यदि उसलाई यी सूचीबद्ध मामिलामा आवश्यक होला जस्तो लाग्छः

१. कुनै कानूनी प्रक्रियाका लागि, सरकारको अपिलमा

२. आफ्नो नियम लागू गर्नका लागि वा कुनै अर्को नियम वा नीति लागू गर्नका लागि, केही उल्लंघन भएको अनुसन्धानका लागि ।

३. कुनै धोका वा गैर कानूनी गतिविधि पत्ता लगाउनका लागि, अनुसन्धानका लागि, बचाउका लागि, सुरक्षा र प्राविधिक कारणका लागि ।

४. आफ्ना प्रयोगकर्ता, ह्वाट्सएप, फेसबुकको कम्पनीको अधिकार र सम्पत्तिको रक्षाका लागि, उनीहरुको सुरक्षाका लागि ।

ह्वाट्सएपले त सेवा दिनेबेला सामान्य क्रममा मेसेज स्टोर नगर्ने बताउँछ तर विशेष परिस्चितीमा उसले यस्तो गर्न सक्छ र त्यो सेयर पनि गर्नसक्छ ।

 कसरी सार्वजनिक भइरहेका छन् ह्वाट्सएप च्याट ?

बलिउडको ड्रग्स च्याट लिक हुनुका तीन पाटो छन्ः

– पहिलो, यो कसरी लिक भइरहेका छन् ?

– दोस्रो, लिक हुनु कानूनी रुपमा सही छ वा छैन ?

– तेस्रो, ह्वाट्सएपको जुन सुरक्षा प्रणाली छ त्यो ग्राहका लागि ठिक छ कि छैन ?

ह्वाट्सएपको इनक्रिप्सन एउटा बिन्दुदेखि अर्को बिन्दुसम्म मात्रै छ, अर्थात् एउटा फोनदेखि अर्को फोनमा ह्वाट्सएपमार्फत् पठाइन् कुनै पनि मेसेज ह्वाट्सएप वा तेस्रो सरकारी वा गैर सरकारी पार्टीले पढ्न सक्दैनन् ।

तर त्यसपछि मेसेज दुई मोबाइल डिभाइसमा बस्छ । त्यहाबाट डिलिट भएपछि पनि मेसेज निकाल्न सकिन्छ, कसरी ?

थुप्रै पटक ह्वाट्सएपमा प्रयोगकर्ताले अर्काइवको विकल्प राखेको हुन्छ जसका कारण उनीहरुको च्याट गुगल ड्राइभ वा फोनको कुनै ड्राइभमा स्टोर हुने गर्छ ।

उनीहरुले च्याट ब्याकअपको पनि विकल्प राखेका हुनसक्छन् जस कारण ती च्याट फोनमा पनि रहन्छन् ।

भारतका साइबर विज्ञ विराग गुप्ताका अनुसार हाल ड्रग्स मामिलामा थुप्रैको गिरफ्तारी भइरहेको छ, सोधपुछ भइरहेको छ । हालसम्म हेर्दा त यस्तो लागेको छ कि उनीहरुकै मोबाइल डिभाइसबाट च्याटका स्क्रिनसट लिइएका छन् वा ती फोनको ड्राइभबाट निकालिएको छ ।

 के अनुसन्धान एजेन्सीलाई जानकारी साझा गर्न सकिन्छ ?

लण्डनका साइबर कानून विशेषज्ञ याइर कोहेनले बीबीसीसँगको कुराकानीमा ह्वाट्सएपले आफ्नो प्राइभेसी पोलिसी विपरित मेसेज स्टोर गरेको प्रमाण केही पनि भेटिएको छैन । जति पनि लिक भइरहेका छन् त्यो ह्वाट्सएपको सुरक्षामा छेडछाडका कारण नभई तेस्रो पार्टीले कानूनी वा गैर–कानूनी तरिकाले जानकारी हासिल गर्दा हुन्छ ।

विराग गुप्ताका अनुसार अनुसन्धान एजेन्सीले ह्वाट्सपबाट पनि च्याट लिन सक्छन् तर त्यसको एक प्रक्रिया हुन्छ र अनुसन्धान एजेन्सी डेटा लिनका लागि अधिकृत पनि छन् ।

साथै डेटा उनीहरुसम्म कसरी पुग्यो त्यो उनीहरुले चार्जशिटमा पनि बताउनुपर्नेछ ।

जहाँसम्म ह्वाट्सएपको नियमको कुरा छ उनीहरु एक स्थानमा कुनै अनुसन्धान एजेन्सीको अपिलमा कुनै व्यक्तिको मेसेज स्टोर पनि गर्न सक्ने र सेयर पनि गर्न सक्ने बताइएको छ । तर त्यसका लागि प्रयोगकर्ताले मेसेज उनीहरुको सर्भिसबाट डिलिट गरेको भने हुनुहुँदैन ।

ह्वाट्सएप प्राइभेसीको मामिलामा कति सुरक्षित ?

‘ह्वाट्सएप ल’ किताबका लेखक तथा साइबर कानूनका जानकार पवन दुग्गल भन्छन्, ‘यदि ह्वाट्सएपको प्राइभेसी पोलिसीलाई ध्यान पूर्वक पढ्ने हो भने त्यहाँ तपाईंले जति पनि जानकारी दिइरहनुभएको छ, ती सार्वजनिक जानकारी हुन् र त्यसमा कुनै पनि निजताको अधिकार लागू हुने छैन ।’

उनका अनुसार ह्वाट्सएपलाई ह्याक गर्न पनि मुश्किल छैन ।

यस्तै मुम्बईका साइबर मामिलाका जानकारी प्रशान्त मालीका अनुसार यदि कुनै सरकारी एजेन्सीले प्रयोगकर्तामाथि निगरानी राखिरहेको छ भने ह्वाट्सएपले प्रयोगकर्तालाई कुनै अलर्ट वा चेतावनी दिँदैन । यदि कुनै जासुसी कम्पनी पनि प्रयोगकर्ताको ह्वाट्सएपमा स्पाइवेयर राखिदिन्छ भने प्रयोगकर्तालाई थाहा नै हुनेछैन ।

जस्तै अघिल्लो वर्ष मात्रै खबर आएको थियो कि इजराइली कम्पनीले पोगासास नामको स्पाईवेयर थुप्रै ह्वाट्सएप अकाउन्टमा इन्स्टल गरेको थियो र संसारभरी यसको चर्चा भएको थियो ।

प्रशान्त भन्छन्, ‘प्राइभेसीको विषयमा ह्वाट्सएपको एउटै विशेष कुरा के हो भने मेसेज एनक्रिप्टेड हुन्छन् तर आजकाल यस्तो सुविधा त धेरै कम्पनीले दिइरहेका छन् । एटीएम कार्ड पनि यस्तै हुन्छन् ।’

साथै, ह्वाट्सएपले तपाईंको मेटाडेटा जस्तै तपाईं ह्वाट्सएपमा के गर्नुहुन्छ, कसलाई के पठाउनुहुन्छ, तपाईंलाई के मनपर्छ, कुन समूहको सदस्य हुनुहुन्छ, यी सबै ह्वाट्सएपले थुप्रै दिनसम्म राख्ने गर्छ र फेसबुक, इन्स्टाग्रामसँग साझा पनि गर्छ । यस्तो अवस्थामा यसले एक प्रकारले प्रयोगकर्ताको प्रोफाइलिङ गर्छ ।

पवन भन्छन्, ‘जब अनुसन्धान एजेन्सीले कुनै विवरण माग्छ वा ह्वाट्सएपसँग त्यो उपलब्ध छ भने उसले धेरैजसो अवस्थामा दिन्छ । यदि कोही प्रयोगकर्ताले आफ्नो निजताको उल्लंघनको विषयमा कुनै कानूनी कारवाही गर्न चाहन्छ भने पनि ह्वाट्सएप क्यालिफोर्नियाको अदालतको दायरमा आउँछ, भारतको होइन । यसको नियम र शर्त पनि यति विशाल छन् कि त्यसले पनि चुनौती पैदा गरिदिन्छ ।’

उनी भन्छन्, ‘यदि तपाईं कुनै गोप्य जानकारी साझा गर्न चाहनुहुन्छ भने ह्वाट्सएप एक राम्रो प्लेटफर्म होइन । उसले तपाईंको गोप्य जानकारी पनि सार्वजनिक जानकारी मान्छ ।’

विराग गुप्ताले एक महत्वपूर्ण बुँदा उठाउँदै भन्छन्, ‘ ह्वाट्सएपले पैसा नलिइकनै ग्राहकलाई सेवा दिइरहेको छ, त्यसैले जुन ह्वाट्सएपको अर्बौं डलरको मूल्यांकन छ त्यो पूर्ण रुपमा डेटामा आधारित नै छ । अर्थात्, उसँग बेच्नका लाथि डेटा मात्रै छ र त्यहिबाट उसलाई फाइदा हुन्छ । त्यसैले यस्ता कम्पनी जो थर्ड पार्टीसँग डाटा सेयर गर्छ त्यसलाई तपाईंले पूर्ण रुपमा सुरक्षित मान्न सक्नुहुन्नँ । ह्वाट्सएपको फेसबुकजस्ता एपसँग साझेदारी छ, त्यसबाट सूचना लिक भइरहेको छ भनेर थुप्रैलाई शंका छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप