बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति हुँदैनः मन्त्री गुरुङ

बिहीबार, ०८ असोज २०७७, १४ : ०१
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति नहुने बताएका छन् । केही गाउँपालिकाहरुमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको गुनासो आईरहेका बेला मन्त्री गुरुङले त्यसो हुन नदिने बताएका हुन् ।

उनले अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका सामाजिक सुरक्षा भत्ता कहीँकतै कटौति भएको भए त्यसलाई वितरण गर्न पुनः गृह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने पनि स्पष्ट पारेका छन् । ‘सामाजिक सुरक्षा भत्ता कटौति लगायतका विषय अन्तर मन्त्रालयसँग सम्बन्धित हुन्छ,’ मन्त्री गुरुङले भने, ‘केही समस्या देखिए ती मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता पुनःवितरण गर्ने व्यवस्था मिलाईनेछ ।’

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले बिहीबार आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि नियमावली–२०७७’ सम्बन्धि भर्चुअल छलफल कार्यक्रममा बोल्दै उनले कोरोना भाईरसका कारण समस्यामा परेका अपाङ्गता भएका व्यक्तिहरुको समस्या तत्काल सम्बोधन गर्न सरकार क्रियाशील रहेको पनि बताए ।

उनले खाद्यान्न, सहायक सामग्री कुनै समस्या भए सूचना दिन पनि अपाङगता भएका व्यक्ति तथा संघ, संस्थाहरुलाई आह्वान समेत गरे । मन्त्रालयले राष्ट्रिय अपाङ् महासंघ–नेपालसँगको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्दै आएको पनि मन्त्री गुरुङले स्मरण गराए । मन्त्री गुरुङले अपाङ्गता भएका व्यक्तिको हित प्रवद्र्धनका लागि आवश्यक ऐन, कानुन संशोधन गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताए । त्यसका लागि सरकारलाई आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई मन्त्री गुरुङको आग्रह छ । 

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरुको हित प्रवद्र्धनको कामलाई प्रभावकारी बनाउने गरी मन्त्रालयले सो नियमावली ल्याएको बताएका थिए । महासंघका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता मैंत्री ऐन, नियम र नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप